९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

लोभलाग्दो तरकारी खेती

बेनिघाट रोराङ गाउँपालिका–९, फजिमटारका गंगा खाँड ठकुरी तरकारी खेतीमा काम गर्दै। तस्बिर : सरिता/नागरिक

धादिङ - सम्म फाँट, हरियो देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ। छिटफुट बस्ती वरिपरि तरकारीले गाउँ नै हरियो देखिन्छ। पृथ्वी राजमार्गबाट करिब आधा घन्टा पैदल हिँडेपछि पुग्न सकिन्छ बेनिघाट रोराङ गाउँपालिका–९, फजिमटार बस्तीमा। यहाँका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन्। पुस्तौंदेखि तरकारी खेतीमा रमाइरहेका छन्।

पेसाले शिक्षक फजिमटारका गंगा खाँड ठकुरीले चार रोपनी जग्गामा तरकारी खेती गरेका छन्। सम्म परेको फाँटमा बन्दा, काउली, मुला लगायत तरकारी लगाएका छन् भने टनेल (प्लास्टिकको घर) भित्र गोलभेंडा लगाएका छन्। बाह्रै मास तरकारी खेती गरेर आम्दानी गर्ने गर्छ। सिजन अनुसारका तरकारी लगाउँछन् भने बेमौसमी खेती पनि गर्ने गरेको ठकुरी बताउँछन्। ‘तरकारीले फजिमटारको फाँटै हरियो बनेको छ,’ ठकुरीले भने, ‘धन कमाउन युवा बिदेसिने क्रम बढेको छ, मेहनत गरे आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ।’

आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिँचाइ र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु ठकुरीको दैनिकी हो। आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका उनलाई अहिले तरकारी खेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ। बारीभरी लगाइएको तरकारीले मनै आनन्दित बनाउने गरेको उनको भनाइ छ। यी तरकारी एक दिन बिराई टिप्ने गर्छन्। टिपेका तरकारी जोगीमारास्थित तरकारी संकलन केन्द्रमा लैजाने गर्दछ। गाउँमै गाडी पुग्ने भएका कारण पनि टिपेका तरकारी संकलन केन्द्रसम्म लैजान सजिलो भएको ठकुरीले बताए।   

ठकुरी स्थानीय पञ्चायत आधारभूत विद्यालयका शिक्षक पनि हुन्। विज्ञान र अंग्रेजी विषय पढाउँदै आएका उनी बिहान, बेलुका र बिदाको समय तरकारी खेतीलाई समय दिन्छन्। प्रशस्त धन कमाउन विदेशै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई ठकुरीले चुनौती समेत दिएका छन्। ‘धन कमाइ हुने आसमा धेरै युवा बिदेसिएका छन्,’ ठकुरीले भने, ‘बारीमा लगाएको तरकारीबाट महिनामा ४० हजारसम्म कमाइ हुन्छ।’ उनले तीनवटा टनेलमा गोलभेंडा लगाएका छन्। टनेलमा बाह्रैमास गोलभेंडा खेती, मौसम अनुसारका तरकारी लगाउँछन्।  पुस्तौंदेखि कृषि पेसा अँगालिरहेका उनका परिवारले कृषिलाई नै मुख्य पेसा बनाएर अँगालिरहेका छन्। सुरुसुरुमा दैनिक छाक टार्न मात्रै तरकारी लगाउने गर्थे। २० वर्ष भयो उनले तरकारी खेती गरेको। केही वर्षदेखि व्यावसायिक रुपमा नै तरकारी खेती गर्न थालेका हुन्। गाउँमै नमुना किसानको परिचय बनाएका ठकुरीले आगामी दिनमा कृषि क्षेत्रलाई निरन्तरता दिने र सामाजिक क्षेत्रमा लगानी गर्ने योजना बुनेको सुनाए।

अर्का किसान उद्धब घिमिरेको पनि दैनिकी प्रायः करेसाबारीमै बित्ने गर्छ। तरकारीमा मलजल, पानी, झार उखेल्नेदेखि टिपेर लैजानेसम्मको काम गर्न भ्याउँछन्। घिमिरेले १० रोपनी जग्गामा तरकारी खेती गरेका छन्। तीनवटा टनेलमा गोलभेंडा लगाएका छन्। बेमौसमी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण नहुने भएकाले यसरी खेती गर्न थालिएको उनले बताए। ‘बेमौसमी तरकारी लगाउँदा मूल्य पनि धेरै पाइन्छ, सिजनल तरकारीको मूल्य नै पाइँदैन,’ उनले भने, ‘व्यावसायिक रुपमै खेती गर्न टनेल चाहिँदो रहेछ।’

जिल्लामा पछिल्लो समय आधुनिक पद्धतिबाट तरकारी खेती गर्ने क्रम बढेको छ। व्यावसायिक रुपमै तरकारी खेती गर्न किसान आकर्षित भएपछि नयाँनयाँ पद्धतिको प्रयोग बढेको हो। व्यावसायिक तरकारी खेतीमा होमिएका घिमिरेले एक्सन नेपालबाट टनेल घर, किटनाशक औषधी, कृषि औजार समेत पाएका छन्। त्यस्तै तरकारी खेतीलाई चाहिने प्राविधिक सहयोग र तालिम पनि पाएका छन्। व्यावसायिक तरकारी खेती गरेका घिमिरेले महिनामा ५० हजारसम्म कमाइ गर्छन्। यसैको आम्दानीबाट दैनिक घरखर्च टार्ने तथा बालबच्चालाई पढाउने गर्छन्।

४० घरधुरी रहेको फजिमटारका प्रायः किसानको दैनिकी तरकारी खेतीमा नै बित्ने गर्छ। यहाँका प्रायः सबै किसानले बेमौसमी तरकारी खेती गर्ने गरेका छन्। बिहान उठेदेखि साँझ नहुञ्जेल माटोमा रमेर समय बिताउनु, बालीको स्याहारसुसारमा समय बिताउनु, समयसमयमा खेतीबालीको रेखदेख गरिरहनु र उत्पादित तरकारी संकलन गरेर बजार पठाउनु यहाँका किसानको दैनिकी बनेको छ। उनीहरु पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन्। आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै छन्। बाँसका टहरामा प्लास्टिक लगाएर टनेल बनाइ बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानको भनाइ छ।

तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लामा पछिल्लो समय पानी तथा बीउबिजनको समस्याले तरकारी उत्पादनमा ह्रास आइरहेको छ। किसानलाई नै सहज हुने हिसाबले प्राविधिक सल्लाह तथा तालिम प्रदान गर्दै आएको एक्सन नेपालका सहास परियोजना कार्यक्रमका संयोजक उमेश श्रेष्ठले बताए। ‘सुरुमा परम्परागत ढंगले तरकारी खेती गरिन्थ्यो,’ श्रेष्ठले भने, ‘बीउविजन तथा तालिमपछि किसान व्यावसायिक खेतीतर्फ लागेका छन्।’ प्लास्टिकको टनेल, पानी राख्ने ट्यांकी, पाइप, औजार लगायतका कृषि औजार प्रदान गरेको संयोजक श्रेष्ठले जानकारी दिए।

धादिङ जिल्लालाई तरकारीको पकेट क्षेत्रको रुपमा लिइन्छ। यहाँ उत्पादन भएको तरकारीले राजधानी काठमाडौं, पोखरा, नारायणगढ, वीरगन्ज लगायत ठूला सहरका भान्सालाई पुर्‍याइरहेका छन्। व्यावसायिक क्षेत्रमा लागेका किसानले आधुनिक प्रविधिमैत्री खेतीमा जोड दिँदै आएका छन्। व्यावसायिक कृषिलाई जोड दिने हो भने सजिलै आर्थिक क्रान्ति हुने र देशमा परिवर्तन आउने किसानहरुको भनाइ छ।

प्रकाशित: १५ पुस २०७५ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App