६ वैशाख २०८१ बिहीबार
अर्थ

चालिस देशका युवालाई उद्यमशीलता तालिम

काठमाडौं– मलेसियाको क्वालालम्पुरमा ग्लोबल आन्टरप्रनारसीप बुटक्याम्पले ४० देशका युवालाई उद्यमशीलता तालिम दिएको छ। १७ देखि २० डिसेम्बरसम्म आयोजित ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको चौंथो संस्करणले ४० भन्दा बढी देशबाट १५० युवा र दर्जन भन्दा बढी सफल उद्यमी र विज्ञलाई जम्मा गरी युवालाई उद्यमशीलता सम्बन्धि शिक्षा दिएको छ।

नयाँ र मौलिक बिजनेस मोडेल बनाउन युवाले ती सफल उद्यमी र विज्ञहरुबाट शिक्षा लिए। यस किसिमको शिक्षाले नै ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पलाई पछिल्ला तीन संस्करणदेखि चिनाउँदै आइरहेको छ। यसभन्दा अघिका तीन बूटक्याम्पहरू नेपालको ककनी, थाइल्याण्डको ब्याङ्कक र इन्डोनेसियाको जाकार्तामा भएका थिए।

सहभागी युवाले टिम बनाएर प्रस्तुत गरेका बिजनेस आइडियाहरुले नै उक्त बूटक्याम्पको परिवर्तन प्रतिको योगदानलाई दर्शाउँछ। ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पमा प्रतियोगितात्मक तालिम दिइने भएकाले विजेता टिम र उत्कृष्ट टिमलाई पुरस्कृत गरिएको थियो। विजेता टिमले ‘रिमार्क, रिलायबल एंड रिलेटेबल मार्केटिंग’ नामको बिजनेस मोडेल बनाएको थियो जसको अवधारणा  कुनै पनि सामानका खरिदकर्तालाई उक्त समान किनेपछिको अनुभवका बारेमा मोबाइल फोनको स्क्रीनमा जानकारी दिने थियो। 

त्यसैगरी ‘बोन फ्र्याक्चार डिटेक्टर’को अवधारणा ल्याउने टिमलाई उत्कृष्ट टिमको उपाधि पायो। बूटक्याम्पमा १७ वटा बिजनेस योजना प्रस्तुत भएका थिए। आयोजकका अनुसार अधिकांश बिजनेस योजना बजारको माग अथवा दैनिक जीवनका समस्याहरू समाधान गर्ने उपायबाट प्रभावित छन्। ‘समस्या समाधान गर्ने उद्देश्यले युवाहरूले ल्याएका बिजनेस आइडियाले अवश्य पनि परिवर्तन ल्याउनेछन्’, आयोजक समितिकि प्रबन्ध निर्देशक पार्शु अर्यालले बताइन्।

बिजनेस मोडल बनाउने प्रतियोगिता मुख्य पाटो भए पनि आयोजकका अनुसार ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्प एउटा प्रतियोगितामा मात्र सीमित छैन। ‘हाम्रो बूटक्याम्प युवाहरूले व्यापार योजना बनाएर प्रस्तुत गर्ने प्रतियोगिता मात्र होइन। उद्यमशीलता सम्बन्धि बहुआयामिक अनुभवको मंचका रूपमा बूटक्याम्प स्थापित भैसकेको छ’, ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले भने। 

चारदिने बूटक्याम्पका सहआयोजकमा लिंकन युनिभर्सिटी कलेज र एशिया स्कूल अफ बिजनेस रहेका छन्। एशिया स्कूल अफ बिजनेस अमेरिकाको एमआइटि स्लोन स्कूल अफ म्यनाजेमेंट संगको सहकार्यमा चलेको संस्था हो। बूटक्याम्पका विभिन्न कार्यक्रमहरू एशिया स्कूल अफ बिजनेसमा भएका थिए।

प्रकाशित: १३ पुस २०७५ १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App