काठमाडौं- मलेसियाले आफ्नो देशमा कामदार आपूर्ति प्रक्रियामा संलग्न विद्यमान भेन्डर (एफडब्लूसीएमएस) लाई फेरबदल गर्ने प्रष्ट संकेत दिएको छ। नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते श्रम समझदारी भए पनि कामदार जाने प्रक्रिया सुचारु हुन नसक्नुको मुख्य कारण नेपाली पक्षले विद्यमान भेन्डर फेर्न खोजेको आशंका गरिरहेका बेला मलेसियाली पक्षले नै कामदार भर्ना प्रक्रियामा संलग्न रहेको एफडब्लूसीएमएसलाई विस्थापित गर्ने योजना अघि सारेको छ।
सन् २०१९ को जनवरी देखि विदेशी कामदारहरुलाई रोजगारदाता कम्पनीहरुले सामाजिक सुरक्षा संस्था सोक्सोमा दर्ता हुन् पर्ने मलेसियाली सरकारको नयाँ व्यवस्था बारे नेपाली दूतावासले जारी गरेको विज्ञप्तिले सो संकेत दिन्छ। तर एफडब्लूसीएमएसलाई विस्थापित गर्ने मलेसियाको चाहना भए पनि उ सँगको सम्झौता आगामी सन् २०२० सम्म रहेकाले कसरी एफडब्लूसीएमएसको विकल्प सिर्जना गर्ने भनेर उसले केही खुलाएको छैन। तर सम्झौता अवधि बाँकी छँदै मलेसिया आउने कामदार सोक्सो अन्तर्गत दर्ता गरेर एफडब्लूसीएमएसलाई प्रतिस्थापन गर्ने उसको नीति रहेको देखिन्छ।
मलेसिया जाने कामदारसँग अतिरिक्त शुल्क लिएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको भिसा प्रक्रियामा आवद्ध विभिन्न ५ संस्थाहरु खारेज गरे सँगै जेठ २ गते देखि मलेसिया रोजगारी बन्द छ। तर मलेसियाली रोजगार दाताका लागि राम्रो स्रोत मुलुक नेपालबाट कामदार आउनै बन्द भएपछि मलेसियाली सरकारमाथि नेपाली पक्षका माग सम्बोधन गर्न दबाब पर्यो, फलत दुई देशबीच श्रम समझदारी भयो। तर श्रम समझदारी भएको २ महिना बितिसक्दा पनि नेपाली कामदारले मलेसिया जान नपाउनुको पछाडी श्रम मन्त्रालयको नेतृत्वको स्वार्थ गासिएको आशंका गरिएको थियो।
खासगरी श्रम मन्त्री गोकर्ण विष्टले विगतमा भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा आवद्ध संस्थामाथि अदालतमा मुद्दा बिचाराधिन रहेकाले ति संस्थाको विकल्प खोजिरहेका बेला मलेसियाली पक्ष बाटै भेन्डर फेर्ने गृहकार्य थलिएको देखिन्छ। यसले लामो समय बन्द रहेको मलेसिया रोजगारी चाडै खुल्ने श्रम मन्त्रालयका अधिकारीहरुले विश्वास लिएका छन्।
"कामदार सँग बढी पैसा लिने संस्था बिरुद्द परेको मुद्दा आज पनि अदालतमा बिचाराधीन छ । यस्तो अवस्थामा तिनै संस्थालाई भिसा प्रक्रिया र स्वास्थ्य परीक्षण गर्ने स्वीकृति मन्त्रालयले दिंदैन । श्रम समझदारी पछि नयाँ प्रक्रिया बाट रोजगारी सुचारु होस् भन्ने हाम्रो र मलेसिया दुबैको चाहना हो । यसमा मलेसिया अझ बढी सचेत छ भन्ने हामीलाई विश्वास छ" श्रम मन्त्रालयका एक अधिकारीले भने ।
यता विगतमा मलेसियाको स्वास्थ्य परीक्षण गर्दै आएका एक स्वास्थ्य व्यवसायीले भने मलेसियाले भेन्डर परिवर्तन गर्ने कुनै योजना नबनाएको दाबी गरे। अदालतमा आफु बिरुद्दको मुद्दा बिचाराधीन रहेकाले नाम उल्लेख गर्न नमानेका ति व्यवसायीले मलेसियाले नेपाल सहित अन्य १४ देश बाट कामदार लिने गरेकाले उसले नेपालका लागि मात्र भेन्डर परिवर्तन नगर्ने जिकिर गरे ।
प्रकाशित: १३ पुस २०७५ १२:१२ शुक्रबार