काठमाडौं - नेपालले दक्षिण एसियाली मुलुकहरुमा हुने निर्यात चार गुणा बढाउन सम्भव रहेको विश्व बैंकले जनाएको छ। शुक्रबार ‘अ ग्लास हाफ फुल’ प्रतिवेदन सार्वजनिक गर्दै बैंकका उच्च अधिकारीले उक्त धारणा राखेका हुन्।
‘विश्वकै उच्च आर्थिक वृद्धि गरिरहेको क्षेत्रमा अवस्थित नेपाललाई व्यापार बढाउने राम्रो अवसर छ,’ कार्यक्रममा सम्बोधन गर्दै विश्व बैंकको नेपालका लागि कन्ट्री म्यानेजर फेरिस हदाद जर्भोजले भने, ‘नेपालले आफ्नै नीतिका कारण बेहोरिरहेको अवरोध हटाउन सके दक्षिण एसियामा मात्र नभई विश्वमै निर्यात बढाउन सक्ने महत्वपूर्ण अवसर छ।’
विश्व बैंक र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती) ले तयार पारेको उक्त प्रतिवेदनमा दक्षिण एसियाली मुलुकमा निर्यात बढाउन नसक्दा नेपालले ठूलो व्यापार घाटा बेहोर्नुपरेको औंल्याइएको छ। प्रतिवेदन अनुसार नेपालको व्यापार घाटा हाल १०.८ बिलियन अमेरिकी डलर छ, जुन कुल गार्हस्थ उत्पादनको ३७ प्रतिशत हाराहारी पुग्ने उल्लेख छ। नेपालको व्यापार बढ्न नसक्नुको मुख्य कारण ती मुलुकसँगको कमजोर ‘कनेक्टिभिटी’ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
‘नेपालबाट श्रीलंका, माल्दिभ्स र अफगानिस्तानमा सिधा उडान छैन। पाकिस्तानमा पनि हप्ताको एउटा मात्र उडान छ,’ विश्व बैंकका वरिष्ठ अर्थविद् एवं प्रतिवेदनका संयोजक सञ्जय कथुरियाले भने, ‘नेपाल र दक्षिण एसियाली मुलुकबीच व्यापार लागत बढ्नुमा कमजोर कनेक्टिभिटीको ठूलो योगदान रहेको छ।’ सडक, हवाई तथा रेलमार्गमार्फत कनेक्टिभिटी सुधार गर्न नेपाललाई अझै धेरै समय लाग्ने देखिए पनि त्यसका लागि तत्काल पहल गर्नुपर्ने उनले बताए।
कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले उच्च आर्थिक वृद्धिका लागि व्यापार अपरिहार्य रहेको बताए। नेपालले विभिन्न मुलुकसँग कनेक्टिभिटी बढाउन ‘एअर रुट’ माग गरिएको उल्लेख गर्दै उनले उक्त मागअनुसार अनुमति पाइए व्यापार विस्तारमा सहजता आउने जानकारी दिए।
नेपालले हाल व्यापार घाटा बेहोरिरहेको भए पनि आयात वृद्धिलाई नकारात्मक रुपमा लिन नहुने अर्थमन्त्री खतिवडाको भनाइ थियो। नेपाल जस्तो विकाससील मुलुकमा आफ्नो उत्पादनले मात्रै उपभोगलाई नधान्ने र पुँजी निर्माणका लागि आवश्यक सामग्री आयात गर्नुपर्ने भएकाले नकारात्मक रुपमा लिन नहुने उनको तर्क थियो।
अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय व्यापारमा अनौपचारिक व्यापारको हिस्सा ठूलो रहेकाले त्यसको यथार्थ अध्ययन हुनुपर्ने बताए। ‘ अनौपचारिक व्यापारको हिस्सा ५० प्रतिशत रहेको सुनिन्छ,’ उनले भने, ‘तर यथार्थ अध्ययन हुन सकेको छैन, यसको वस्तुनिष्ठ अध्ययन आवश्यक छ।’ विश्वव्यापी र क्षेत्रीयरुपमा हालको ‘ट्रेड रिजाइम’ परिवर्तन गर्नुपर्नेमा खतिवडाले जोड दिए।
प्रतिवेदनले अन्तरक्षेत्रीय व्यापारमा दक्षिण एसिया विश्वमै कमजोर रहेको प्रतिवेदनमा औंल्याइएको छ। प्रतिवेदनअनुसार क्षेत्रीय व्यापारमा दक्षिण एसिया क्षेत्रको हिस्सा पाँच प्रतिशतमात्र रहेको छ, जबकि पूर्वी एसिया र प्रशान्तले ५० प्रतिशत ओगटेको छ। अन्तरक्षेत्रीय व्यापारमा दक्षिण एसिया पछाडि पर्नुमा मानव सिर्जित बाधा मुख्य कारण रहेको बताइएको छ। ती बाधा हटाएको खण्डमा हालको २३ अर्ब अमेरिकी डलर मूल्यको व्यापारलाई ६७ अर्ब डलरमा पु-याउन सकिने प्रतिवेदनमा उल्लेख छ। दक्षिण एसियाली मुलुकमा कर, गैरकर अवरोध, कनेक्टिभिटी लागत तथा विश्वासको संकट गरी चारवटा महत्वपूर्ण समस्या रहेको प्रतिवेदनले औंल्याएको छ।
दक्षिण एसियाको कुल व्यापारमा भारतले ८० प्रतिशत हिस्सा ओगटेको प्रतिवेदनमा उल्लेख छ। अर्थमन्त्री खतिवडाले एउटै देशले ठूलो हिस्सा ओगट्दा क्षेत्रीय व्यापार पारस्परिक नहुने धारणा राखे।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले आयात बढ्नुलाई समस्याको रुपमा लिन नहुने बताए। तर, निर्यात कमजोर हुँदा मुलुकको अर्थतन्त्र गम्भीर समस्यामा फस्ने उनले बताए। समग्र व्यापारलाई राम्रो बनाउन सके द्विपक्षीय व्यापार घाटाले मुलुकलाई ठूलो असर नपर्ने वाग्लेको भनाइ थियो। उनले मुलुकको निर्यात व्यापार वृद्धिका लागि प्रत्यक्ष वैदेशिक लगानी बढाउनुपर्ने, ‘डुइङ बिजिनेस’को लागत घटाउनुपर्ने, नयाँ वस्तु तथा स्रोतको पहिचान, औद्योगिक क्षेत्र तथा पार्कको विकास गर्नुपर्ने सुझाव प्रस्तुत गरे।
प्रकाशित: १ पुस २०७५ ०१:१६ आइतबार