५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

पुराना ग्यास सिलिन्डर काट्दै उद्योग

स्थानीय प्रशासनको रोहबरमा कवाडीलाई दिन सगरमाथा ग्यास उद्योग परिसरमा थुपारिएका टुक्रा सिलिन्डर। तस्बिर : नागरिक

बनेपा – सगरमाथा ग्यास उद्योग प्रालिले बजारबाट फिर्ता भएका धेरै पुराना र ‘हाइड्रोस्टाटिक टेस्ट’मा असफल भएका ‘सगर ग्यास’ ब्रान्डका सिलिन्डरहरुलाई काट्न थालेको छ।

‘ओसार पसार तथा भण्डारणका क्रममा पुराना भएका र म्याद समाप्त हुनै आँटेका सिलिन्डरलाई ग्यास भर्नमा पुनः प्रयोग नहोस भनेर काटेका हौं,’ बनेपा, थापागाउँस्थित उद्योगका प्लान्ट मेनेजर रोशन नापितले भने, ‘यसलाई कुच्याएर स्थानीय प्रशासनको रोहवरमा कवाडीलाई बिक्री गर्न लागेका हौं।’

सो उद्योगले हाल एक हजार चार सय ६० वटा सिलिन्डर काटिसकेको र थप सिलिन्डर काट्नका लागि तयारी राखेको उनको भनाइ छ। ‘नेपाल आयल निगमको एलपी ग्यास विनियमावलीअनुसार उपभोक्तालाई हानि नोक्सानी नपुग्ने सुरक्षित सिलिन्डरमा मात्रै ग्यास उत्पादन गर्नका लागि पुराना सिलिन्डरहरु काटेर कुच्याउँदै आएका हौं,’ नापितले थपे।

उपभोक्ता अधिकारवादीले काभ्रेमा प्रभावकारी अनुगमन नहुँदा उपभोक्ताहरुले घरघरमा जोखिमपूर्ण र असुरक्षित एलपी ग्यास सिलिन्डर भित्र्याइरहेका आरोप लगाउँदै आएका छन्। तर, सगर ग्यासले भने स्वस्फूर्त रुपमा र नियमित तालिकाअनुसार सिलिन्डरको चेकजाँचपछि पुराना सिलिन्डरलाई विस्थापन गर्दै रहेको दाबी गर्दै आएको छ।

‘हामीले उद्योगको क्षमता विस्तार गरेर १० बुलेट ग्यास भण्डारण गर्न सक्ने व्यवस्था मिलाएसँगै ग्यासजस्तो अत्यन्त प्रज्वलनशील पदार्थ बिक्रीमा पठाउनुअघि सुरक्षाको प्राविधिक जाँच गर्नुपर्ने कानूनी व्यवस्थालाई समेत प्राथमिकतामा राख्दै आएका छौं,’ उद्योगका प्रबन्ध निर्देशक सबरमल अग्रवालले भने।

छिमेकी भारतमा ग्यास सिलिन्डर नियमावलीले पनि भारतीय मानक (आइएसः८१९८) अनुसार ग्यास अनुसार १५ र २० वर्षको अवधिपछि पुराना सिलिन्डर प्रयोग गर्न नहुने उल्लेख गरेको छ। नेपालमा पनि सोही अनुसार सिलिन्डरको म्याद कायम हुँदै आएको भेटिन्छ। त्यहाँको नियमले पनि ग्यास सिलिन्डरलाई ‘वेल्डिङ’ लगायत प्रक्रियाबाट पुनः जोड्न नमिल्ने गरी काट्नु पर्ने उल्लेख गरेको छ। नेपाली ग्यास उद्योगले पनि सोही अनुसार सिलिन्डर काटेका हुन्।

यसैबीच, नेपाल गुणस्तर तथा नापतौल विभागले सगरमाथा ग्यास उद्योगको ‘सगर ग्यास’लाई नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ को दफा ५ को उपदफा (२) को खण्ड (क) बमोजिम नेपाल गुणस्तर चिह्नको इजाजत दिएको छ। उद्योगको लामो समयको जाँचबुझ र निरीक्षणपछि विभागले नेपाल गुणस्तर (प्रमाण–चिह्न) प्रदान गरेको अग्रवालको भनाइ छ। ‘हामीले स्वस्फूर्त रुपमै गुणस्तर नियन्त्रण गर्दै आएका थियौं। अब नेपाल गुणस्तर (प्रमाण–चिह्न) नै प्रयोग गर्न पाउने भएपछि उपभोक्ताहरु ढुक्क हुनलाई थप आधार मिलेको छ,’ उनले थपे।

काभ्रे, बनेपा नगरपालिका एलपी ग्यासका पाँचवटा बोटलिङ उद्योग रहेका छन्। यिनमा सगरमाथा (सगर), गौरीशंकर (हिमाल), सूर्य, चण्डी र उग्रचण्डी (लोकप्रिय) ग्यास उद्योग रहेका छन्। चितवनको उग्रचण्डीले शाखाको रुपमा बनेपा, नालामा प्लान्ट राखेको हो भने बाँकी सबै बनेपामै मुख्य प्लान्ट रहेका उद्योगहरु हुन्। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार मुलुकभर ४६ वटा ग्यास उद्योग रहेका छन्।

प्रकाशित: १३ मंसिर २०७५ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App