१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

पप्पुका कारण रोकियो हुलाकी राजमार्ग निर्माण,सिक्टामा धरौटी जफत

बाँके–पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको निर्माण कार्य ठप्प भएको छ। नेपालगञ्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको छ । पप्पुले यो ठेक्का ६० करोड रुपैयाँमा गणपति कन्ट्रक्सनलाई दिएको छ। 

गणपतिले काम गरे पनि सरकारसँगको ठेक्का पप्पुकै नाममा रहेकाले हुलाकी सडकको काम प्रभावित भएको छ। पप्पुले देशका अन्यत्र काम गर्दा गरेको बदमासीको भरणपोषण यहीबाट गर्ने गरी केन्द्रबाट पत्र आएपछि जेठदेखि हुलाकी सडक कार्यालयले पैसा रोकेको छ। सरकारले पैसा रोकेसँगै पप्पुले गणपतिलाई आवश्यक रकम दिन नसक्दा निर्माण प्रभावित बनेको छ।

सरकार र पप्पुबीचको लडाइँका कारण सदरमुकामसँग सडक सञ्जालमा जोडिने राप्तीपारिका बासिन्दाको सपना टाढा धकेलिएको छ। पैसा नपाएको भन्दै काम रोकेको गणपति कन्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले बताए। ‘राज्यका कारण हुलाकी सडकको काम रोकिएको छ ।’ हुलाकी सडकको २०७४ माघमा ठेक्का लागेको थियो। 

ठेक्का सम्झौताअनुसार २०७६ साउनमा काम सक्नुपर्ने छ। “जेठदेखि भुक्तानी पाएका छैनौँ। कतैकतै अहिले पनि मुआब्जाको विवाद कायमै छ”, गणपति कन्ट्रक्सनका प्रमुख भण्डारीले भने, ‘सरकारले अहिले पनि भुक्तानी दिने हो भने हामीले साउनसम्ममा काम सम्पन्न गर्छौं।’

सन् २००७ मा भारतले हुलाकी मार्ग बनाउने सम्झौता गरेको थियो। काम भने सन् २०१० मा सुरु भएको थियो। पाँच वर्षमा पाँच प्रतिशत पनि काम नगरेर भारतीय ठेकेदार फरार भयो। त्यसपछिमात्र सरकारले हुलाकी मार्गको काम अघि बढाएको थियो। यी सबै घटनाक्रम हेरिरहेका राप्तीपारिका स्थानीयले सुरु भएको काम रोकिँदा फेरि काम अलपत्र पर्ने हो कि भन्ने चिन्ता गरेका छन्।

हुलाकी सडक कार्यालयका इञ्जिनीयर सुरेश चौधरीले पप्पुले विराटनगरमा बदमासी गरेकाले त्यो रकम यताबाट असुल्न पैसा रोकिएको बताए। 

सांसद महेश्वर गहतराजले ठेक्का प्रक्रियामा देखिएको समस्याको गाँठो छिटो फुकाएर काम अघि बढाउनुपर्ने बताए। ४४ किलोमिटर टाढा रहेका नरैनापुरका बासिन्दालाई सडक राम्रो नहुँदा सदरमुकाम आउन दिनभरि लाग्छ। नरैनापुर गाउँपालिकाका प्रमुख मो इस्तियाक अहमद साहले हुलाकीको काम छिटो सञ्चालन गर्न माग गरे। 

सिक्टामा पप्पुको धरौटी जफत

पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको ९ करोड ९० लाख सरकारले जफत गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा गर्न नसकेकाले उसले जमानतको रुपमा बैंकमा राखेको धरौटी रकम जफत हुने भएको हो। निर्माण कम्पनीले काम गरेकोभन्दा पेश्कीबापत लगेको रकम धेरै भए त्यो पनि फिर्ता गर्नुपर्ने हुन्छ। 

कामको मूल्याङ्कनका लागि पप्पुलाई पत्राचार गर्ने तयारी भइरहेको सिक्टा सिँचाइ आयोजनाका डिभिजनल इञ्जिनीयर प्रकाशबहादुर कार्कीले बताए। डुडुवा शाखा नहर निर्माणमा ढिलाइ गरेपछि सरकारले पप्पु कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्द गरेपछि बोलपत्रमार्फत पुनः ठेक्का सम्झौता हुने भएको छ। 

सिक्टा सिँचाइ आयोजनाका अनुसार डुडुवा शाखा नहर निर्माणका लागि पप्पुले ८ करोड ३७ लाख रुपैयाँ पेश्की लिइसकेको छ। डुडुवा शाखा नहर निर्माणको जिम्मा पाएको पप्पुले ठाउँठाउँमा नहर खनेकाले मूल्याङ्कन गर्न समस्या भएको उनले बताए। 

पप्पुले डुडुवा नहर प्रणाली निर्माणको काम २८ महीनामा सक्ने गरी ठेक्का लिएको थियो । अवधि पूरा हुँदासम्म करीब सात प्रतिशतमात्र काम गरेपछि ठेक्का सम्झौता रद्द गरिएको आयोजनाका डिभिजन इञ्जिनीयर कार्कीले बताए। रासस

प्रकाशित: १२ मंसिर २०७५ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App