२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

उर्जा क्षेत्रमा थप सहकार्य गर्न चाहन्छौं : चीन

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ। कार्यकाल सकेर स्वदेश फर्किने तयारीमा रहेकी राजदूत होङले मन्त्री पुनसंग विदाई भेट गरेकी हुन्। 

भेटमा द्विपक्षीय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ। छलफलका क्रममा मन्त्री पुनले नेपालमा पाँच वर्षको लागि स्थायी सरकार रहेको भन्दै अहिले देशको मुख्य प्राथमिकता भनेकै विकास र समृद्धि भएको बताए। राजदूत होङको कार्यकालमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध निकै सुदृढ भएको भन्दै उनले आगामी दिनमा समेत दुई मुलुकको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरे। 

मन्त्री पुनले विगत केही वर्षयता नेपालको जलविद्युत क्षेत्रका साथै अन्य क्षेत्रमा बढेको चिनियाँ लगानी नेपालको आर्थिक विकासका लागि निकै फलदायी हुने बताए। 

उनले राजदूत होङको कार्यकालमा उच्चस्तरीय भ्रमण आदान–प्रदान भएको, उर्जा क्षेत्रमा इनर्जी कोअपरेशनमा हस्ताक्षर हुनुका साथै चीनबाट लगानी भित्र्याउन गरेको प्रयत्नप्रति धन्यवाद ज्ञापन गरे। 

मन्त्री पुनले नेपाल र चीनबीच केही समयअघि मात्र हस्ताक्षर भएको ट्रेड एण्ड ट्रान्जिट प्रोटोकल नेपालको स्वाधीनताको लागि ऐतिहासीक समझदारी भएको धारणा राखे। 

उनले यसअघि नै नेपाल–चीनबीच उर्जा संयन्त्रको पहिलो वैठक सफलतापूर्वक सम्पन्न भएको भन्दै बेइजिङमा छिट्टै दोस्रो बैठक बस्ने खवर आफुले पाएको बताए।

भेटमा चिनियाँ राजदूत होङले उर्जा क्षेत्र दुवै मुलुकको लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र भएको भन्दै उर्जामन्त्रीको रुपमा यो क्षेत्रलाई अघि बढाउन खेलेको भुमिकाको उनले प्रशंसा गरिन।  

राजदूत होंङले उर्जा संयन्त्रको अर्को वैठक वेइजिङमा छिट्टै बस्ने र त्यसमा दुई देशको बीचमा उर्जा क्षेत्रमा गर्न सकिने थप सहकार्यबारे घनिभुत छलफल हुने जानकारी दिइन।

उनले नेपालमा पछिल्लो तीन वर्षमा चिनियाँ लगानी ६ सय ८० प्रतिशतले वृद्धि भएको भन्दै चीन प्रत्यक्ष लगानीतर्फ नेपालमा एक नम्बरमा रहेको जानकारी समेत दिइन। ‘पछिल्लो समय चिनियां लगानीकर्ताहरु नेपालमा लगानी गर्न आकर्षित हुनुभएको छ, आगामी दिनमा समेत यो प्रक्रिया निरन्तर जारी रहनेछ’, राजदूत होङले भेटमा भने।

प्रकाशित: ७ मंसिर २०७५ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App