९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटन व्यवसायी आन्दोलनको तयारीमा

काठमाडौं– पदयात्रा रुटहरुमा स्थानीय तहले धमधम शुल्क थप र वृद्धि गर्न थालेपछि पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिने तयारी थालेका छन्।

यसअघि खुम्बु पासाङ ल्हमु गाउँपालिकाले सगरमाथा क्षेत्रमा जाने पर्यटकलाई प्रति पर्यटक दुई हजार शुल्क लिन थाल्यो । त्यसपछि स्थानीय होटल समिति बनाएर प्रति पर्यटक एक रातको ५ देखि ७ सय शुल्क लिन थालियो।

हालै मकालु बरुण राष्ट्रिय निकुञ्ज पनि पर्यटकलाई मात्र नभएर नेपालीलाई समेत शुल्क लगाउन थालेपछि भने पर्यटन व्यवसायीले आन्दोलनको तयारी थालेको टानका महासचिव आङ पेम्बा शेर्पाले बताए । उनका अनुसार अहिले सबै पदयात्राका रुटमा स्थानीय तह तथा संघसंस्थाले शुल्क बढाउने तथा नयाँ शिर्षकमा शुल्क थप्ने काम भइरहको छ।

केही दिनअघि मात्रै सूचना जारी गर्दै मकालु बरुण राष्ट्रिय निकुञ्जले हालै मात्रै प्रबेश शुल्क बढाएको छ। यसअघि पर्यटकलाई दुई हजार रहेको प्रवेश शुल्क बढाएर तीन हजार पुराएको छ । त्यसैगरी क्यापिङ ट्रेकिङ जाने पर्यटकले भने प्रति रातका प्रति पर्यटक दुई हजार तिर्नपर्ने नयाँ नियम सार्वजनिक गरेसँगै पर्यटन व्यवसायीहरुको छाता संगठन टानले आन्दोलन गर्ने तयारी थालेको हो। ‘जुनै पदयात्रामा पनि स्थानीय तह तथा स्थानीय संघसंस्थाले शुल्क बढाउने तथा नयाँ शिर्षकमा शुल्क थप लिन थालेका छन्,’ टानमा महासचिव शेर्पाले भने, ‘यसो गर्दै जाँदा पर्यटन व्यवसाय नै धरासायी बन्छ ।’ पर्यटन क्षेत्रलाई जोगाउनकै लागि पनि आन्दोलन गर्ने महासचिव शेर्पाले बताए। ‘यसरी चौतर्फी शुल्क बढाएपछि हामी चुप लागेर बस्दैनौं,’ उनले भने, ‘टान लगायतका अन्य पर्यटन संघसंस्था मिलेर तिहारलगातै आन्दोलनमा उत्रिन्छौं ।’ यस बारे व्यवसायी नउत्रिने र सरकारले कुनै निर्णय गरेर यसरी बढाउने थालिएको तथा नयाँ शिर्षकमा लिन थालिएको शुल्क नरोक्ने हो भने पर्यटन व्यवसाय नै धरासायी हुने उनको दाबी छ।

शुल्क बढेसँगै पर्यटक ल्याउन कठिन हुने भएपछि सरकारले सन् २०२० मा पर्यटन वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य समेत पुरा नुहुने टानका अध्यक्ष नवराज दाहाल बताउँछन्। उनका अनुसार सुविधा नथप्ने तर शुल्क थप्दै गएपछि पनि पर्यटकले किन हामीले शुल्क तिर्ने भन्दै प्रश्न उठाउन थालेका छन्। बुकिङ लिइ सकेका पर्यटकसँग त बढेको शुल्क थप्दा भ्रमण नै रद्द गर्दै आएको दाहालको भनाई छ। यसरी पर्यटन क्षेत्रमा चौतर्फी आक्रमण हुँदा पनि सरकार मौन रहेकाले आफुहरु आन्दोलनमा उत्रिने बाध्य हुनुपरेको अध्यक्ष दाहालले बताए।

प्रकाशित: १९ कार्तिक २०७५ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App