६ वैशाख २०८१ बिहीबार
अर्थ

धरहरा पुर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं – धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकाय र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आइतबार आयोजित कार्यक्रममा सहभागीहरुले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका पूर्वाधारलाई हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, सञ्चय कोष, नेपाल राष्ट्र बैंक, हुलाक, ट्राफिक प्रहरी, केयुकेएल लगायत निकायका प्रतिनिधि तथा काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष लगायतले धरहरा पुनर्निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए।

नेपाल टेलिकमका प्रबन्धक झविन्द्रलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा पुनर्निर्माणमा सहयोग गर्ने बताए । सञ्चयकोषका कायम मुकायम वरिष्ठ प्रबन्धक शान्ता गौतमले धरहरा पुनर्निर्माणलाई सहयोग र स्थानीय समुदायलाई सहज हुने गरी बाटो खोल्न कोष तयार रहेको बताए।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै निकाय र स्थानीय समुदायसँग समन्वय गरी धरहरा पुनर्निर्माणको कामलाई अघि बढाइने बताए । धरहरा पुनर्निर्माणको काम गत साताबाट सुरु भएको छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App