१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गुस्तुङ सफल, गुर्जामा फेरि असफल

पोखरा – आरोहण अनुमति पाएपछिको पहिलो टोलीले म्याग्दीको गुस्तुङ हिमाल (६४६५मि) को सफल आरोहण गरेको छ । गुर्जा हिमाल छेउको चुचुरो गुस्तुङ अघिल्लो बुधबार आरोहण गरिएको हो । विदेशी ६ र तीनजना नेपाली गरी नौजनाको आरोही टोली आरोहण सकेर म्याग्दीको गुर्जा गाउँ फर्किसकेको छ।

धौलागिरी गाउँपालिका–१ मा पर्ने गुस्तुङको फ्रेन्च, स्विस र क्यानेडियनसहितको समूहले आरोहण गरेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । उनका अनुुसार आरोहण सकेको टोली मंगलबार गुर्जा गाउँ आइसकेको छ । गुस्तुङ आरोहण सफल भएपनि पहिलोपटक अनुमति पाएको अर्काे गुर्जा हिमाल (७१९३ मिटर) आरोहण गर्न गएको टोली भने यो पटक पनि बीचबाटै फर्र्किएको छ । यसअघि पनि गुर्जा आरोहणको टोली हिमआँधीको चपेटामा परेको थियो।

असोज अन्तिम साता गुर्जा आरोहण गर्न पुगेका पाँचजना दक्षिण कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगी गरी नौजनाले भीषण हिमआँधीको चपेटामा परेर ज्यान गुमाएका थिए । त्यसपछिको समूह पनि असफल गुर्जामा असफल भएको उनले बताए । ‘गुस्तुङको टोली आरोहणमा सफल भयो, तर, गुर्जा आरोहण दोस्रो पटक पनि असफल हुँदा हामीलाई नराम्रो लागेको छ,’ छन्त्यालले भने, ‘दुवै हिमाल आरोहणका लागि पहिलो पटक खुला भएको हो ।’ गुर्जा आरोहीको टोलीले ज्यान गुमाउनुपर्दाको पीडा नराम्रो भएको उनले बताए।

छन्त्यालका अनुसार गुर्जाकै आरोहणका लागि पुगेको अर्काे टोली पनि आरोहण असफल भएपछि बीचबाटै फिर्ता भएको छ । पश्चिमी मोहडाबाट आरोहण गर्न गएको एकजना जापानी र तीनजना नेपालीको समूह बीचबाटै फर्केको उनले बताए । यसअघि दक्षिणी मोहडाबाट गएको टोली आँधीमा परेको थियो । गुर्जाको पहिलो टोली दक्षिणी मोहडाबाट असफल भएपछि दोस्रो टोली पश्चिमी मोहडाबाट आरोहणमा गएकोमा फेरि असफल भएको उनले बताए।

‘दक्षिणी मोहडामा घटना घटेपछि त्यही गुर्जाको पश्चिमी मोहडाबाट प्रयास भएको हो । तर बाटो अप्ठेरो र भ¥याङ नभएका कारण आरोहीले आरोहण पूरा गर्न सकेनन्,’ उनले भने, ‘गुर्जा आरोहणको सपना केहीगरी पूरा हुन सकेन । अब गुर्जाको आरोहणका लागि सहज बनाउने गरी पदमार्ग मर्मतसम्भार गर्ने हो।’

गुस्तुङ हिमाल भने सहजै आरोहण गरेको आरोहीले बताएका छन् । गुस्तुङको आरोहण गरेको टिमका फेन्च नेता पेलोले आरोहणमा खासै समस्या नभएको बताए । गुर्जाको घटनाबाट सचेत भएर आफूहरु आरोहणमा जाँदा सफल भएको उनले बताए । ‘गुस्तुङको आरोहण अप्ठेरो होइन । तर हामी आरोहणमा जाँदै गर्दा नजिकैको अर्काे हिमाल गुर्जाको टिम दुर्घटनामा पर्यो । त्यसले हामीलाई केही झस्कायो,’ पेलोले टेलिफोनबाट ने, ‘त्यसले हामीलाई अझ सचेत पनि गरायो।’

पहिलोपटक गुस्तुङ आरोहण सफल बनाउन सकेकोमा खुसी लागेको उनले बताए । ‘हावा नै बढी चल्दो रहेछ । त्यसले हामीलाई चुनौती थप्यो,’ उनले भने, ‘कम उचाइमा पनि अधिक चिसो र तेज गतिको हावाले अप्ठेरो पार्नेरहेछ ।’ अरु आरोहीका लागि पनि यो हिमाल आरोहण उत्तिसारो अप्ठेरो नरहेको उनले बताए । गुर्जा गाउँका बासिन्दाको सहयोगले पनि आफूहरुको आरोहण सफल भएको उनले सुनाए । धवलागिरी पदमार्गभित्रको यी हिमाली शृंखलासहित पदमार्गमा पर्ने गुर्जा गाउँको प्रवद्र्धन गर्न जरुरी रहेको पेलोले बताए।

वडाध्यक्ष छन्त्यालका अनुसार गुस्तुङ ढोरपाटन शिकार आरक्षको सानो ब्लक पनि हो । गुर्जाबाट डोल्पा, रुकुम र बागलुङको ढोरपाटन शिकार आरक्षसम्म पुग्न सकिन्छ । गुर्जापछिको पदमार्ग भने निकै नै अप्ठेरो र अनकन्टार रहेको छ । खोचैखोच रहेको त्यस क्षेत्रमा हत्तपत्ति सञ्चारसम्पर्क समेत हुँदैन । गुर्जा माथि कुनैपनि गाउँ नै छैन । अन्तिम बस्तीपछिको हिमाल भएकोले त्यहाँ पदमार्ग पनि सहज बनिसकेको छैन । त्यही गुर्जा गाउँबाट गुर्जा, पुथा र चुरेन हिमालको एउटै पदमार्ग पर्छ । गुर्जाबाट धौलागिरी आधारशिविर पनि पुग्न सकिन्छ । उच्च हिमाली जडीबुटी यार्सा पाइने भएकाले पनि यो टे«ललाई यार्सा टे«लको रुपमा प्रवद्र्धन गर्न सकिने छन्त्यालले बताए।


म्याग्दीको गुर्जा हिमाल र आसपासका चुचुरा ।   तस्बिरः नागरिक

प्रकाशित: १४ कार्तिक २०७५ ०५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App