२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कर्जाको ब्याज महँगो हुने भएपछि सेयर बजारमा गिरावट

काठमाडौं - बैंकमा लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि सेयर बजार ओरालो लागेको छ । सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर बढ्ने निश्चित भएपछि सेयर बजार ओरालो लागेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचक आइतबार १३.६२ बिन्दुले घटेर १२२७.४९ मा आइपुगेको छ ।
‘सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढ्ने निश्चित भएपछि सेयर बजार ओरालो लागेको हो,’ एक ब्रोकरले भने, ‘अहिले सेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भारी वृद्धि हुने अनुमानलाई मानिएको छ ।’ बैंकमा लगानी गर्न आवश्यक रकम (तरलता) को कमी हुँदा ब्याज बढ्ने गर्छ।

ब्याजदर र सेयर बजार एकअर्कासँग सम्बन्धित हुने गरेको एक विश्लेषकले बताए । ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ । घटी ब्याजमा ऋण पाउँदा लगानीकर्ताले बैंकबाट पैसा लिएर सेयरमा लगानी गर्छन् । चर्को ब्याजको पैसा लिएर लगानी गर्दा घाटा हुने ठानेर लगानीकर्ता हच्किन्छन् । अहिले ब्याजदर बढ्ने संकेत देखिएसँगै सेयर मूल्यमा शिथिलता आएको हो।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले लगानीकर्तामा तरलता अभाव हुने मनोवैज्ञानिक असर परेका कारण बजार ओरालो लागेको बताए । ‘लगानीयोग्य रकम अभाव त्यत्ति भइनसके पनि लगानीकर्तामा त्यसको मनोवैज्ञानिक असर परेको छ,’ उनले आइतबार नागरिकसँग भने, ‘सेयर बजार घट्नुका अनेक कारण रहेका छन्।’

नेपाल बैंकको एफपिओमा गएको रकम फिर्ता नआउँदा पनि यसले सेयर बजारमा असर पारेको उनको भनाइ छ।

आइपिओ, एफपिओ, बोनस र हकप्रदले सेयरको आपूर्ति बढाएको छ । यसले पनि बजार घटाउन मद्दत गरेको ब्रोकरको भनाइ छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने नीति लिएपछि हकप्रद सेयरको चाप परेको थियो । अधिकांश बैंक, वित्तीय संस्थाले तोकेअनुुसार पुँजी पनि पु¥याइसकेका छन् । बैंकहरुले चुक्ता पुँजी बढाएपछि तुलनात्मक रुपमा लाभांश कम दिने सम्भावनाका कारण सेयर बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको ब्रोकरको भनाइ छ।

बजार निरन्तर ओरालो लागेपछि साना लगानीकर्ताले अत्तालिएर सेयर बेच्न थालेका छन् । बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको ब्रोकरको भनाइ छ।

अघिल्लो साता पनि ओरालो लागेको सेयर बजार यस साताको पहिलो दिन आइतबार दोहोरो अंकले घट्न पुग्यो । आइतबार १६० कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ११ लाख ९७ हजार १०६ कित्ता कारोबार भएका छन्।

यस दिन होटलबाहेक नेप्सेमा कारोबार भएका बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ७९.७३ बिन्दुले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १५.९१ बिन्दुले ओर्लिएको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अघि छ । यसको दुई करोड ३३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र एनआइसी एसिया बैंक परेका छन् । नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने आइएमई जनरल इन्सुरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

लगानीकर्ताले सेयर बिक्री गरेर घरजग्गा, सुनलगायतमा लगानी बढाउन थाल्दा बजार घटेको विश्लेषण गर्नेहरु पनि छन् । २०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से ओरालो लाग्दै सवा १२ सय हाराहारी आइपुगेको छ।

प्रकाशित: १२ कार्तिक २०७५ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App