१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लथालिंग गहुँ सुपर जोन

कर्मचारीविहीन गहुँ सुपर जोनको कार्यालय। तस्बिर : पुष्पराज/नागरिक

कैलाली - कर्मचारी अभावमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (गहुँ सुपर जोन) मा कर्मचारी नहुँदा अस्तव्यस्त बनेको छ । किसानलाई गहुँ बालीमा आकर्षित गर्न कैलालीको लौसामा स्थापना गरिएको गहुँ सुपर जोन कार्यालय लेखापाललाई निमित्त प्रमुखको जिम्मेवारी दिए पनि प्राविधिकलगायत अन्य कर्मचारी नहुँदा लथालिंग अवस्थामा छ।

किसानले गहुँको बीउ छर्ने समय भइसक्दा पनि सुपर जोनले पहिलो चौमासिकको बैठकसमेत बसाउन सकेको छैन । यसका साथै अन्य गहुँको बीउका लागि आवश्यक छलफल तथा किसान छनोटसमेत हुन सकेको छैन । ‘कार्यालय प्रमुख र प्राविधिक कर्मचारी नहुँदा कार्यालय सञ्चालनमा कठिनाइ भइरहेको छ,’ निमित्त प्रमुख तथा लेखापाल कृष्णप्रसाद सोबले भने, ‘यसका साथै किसानले गहुँ छर्ने समय भइसक्दा पनि कार्यालयले गर्ने आवश्यक कामकाज गर्न सकेको छैन ।’ गहुँ सुपर जोनले किसानलाई गहुँ लगाउन आवश्यक तयारीका साथै कुनै सम्पर्क नै नगर्दा किसान अलमलमा परेका छन् । ‘गहुँ छर्ने सोचेको थिएँ, सुपर जोनले कुनै सम्पर्क नै गरेन,’ गौरीगंगा–७, मट्कौनाका किसान चन्द्रदेव जोशीले भने, ‘कार्यालयमा जाँदा पनि कर्मचारी नहुने र गहुँबारे केही जानकारी पाउन नसक्दा गहुँ छर्ने खेतमा तोरी लगाएँ ।’ हरेक वर्ष गहुँ लगाउँदै आए पनि यसवर्ष भने सुपर जोनबाट आधुनिक तरिकाले गहुँ लगाउने र उन्नत जातको बीउ रोप्ने सोचेका जोशी गहुँ सुपर जोनले बेवास्ता गरेपछि तोरी छरेको बताउँछन् । जोशी मात्रै हैन प्रायः गहुँ सुपर जोन ‘एरिया’का किसानले सुपर जोनले वास्ता नगर्नु र छलफलै नचलाउँदा तोरी छर्ने तयारी गरिरहेका छन् । ‘गहुँ छर्ने सोचेको थिएँ,’ अर्का किसान मानबहादुर चौधरीले भने, ‘सुपर जोनले गहुँ छर्ने किसानलाई वास्ता नगरेपछि तोरी लगाउन बाध्य भएँ।’

गहुँ सुपर जोनले किसानलाई गहुँको पकेट क्षेत्र बनाउनका लागि कार्यक्रम ल्याए पनि गहुँ लगाउन किसानलाई कसरी आकर्षित गर्ने भन्ने भेउ समेत कार्यालयले पाउन सकेको छैन । गहुँको बीउ छर्ने समय आइसक्दा पनि गहुँ सुपर जोनले केही तयारी नगर्दा किसान मर्कामा परेका छन् । सुपर जोनबाट वितरण गरिने उन्नत जातको गहुँ बीउको बाटो कुर्दै गरेको बताउँदै मसुरियाका रमेश भाट भन्छन्, ‘गहुँ छर्ने समय भइसक्यो अहिलेसम्म किसानसँग न त छलफल नै गरिएको छ न त गहुँ बीउको जोहो नै गरिएको छ ।’ कार्यालयमा कर्मचारी नहुँदा यसपालिको सिजनमा गहुँ बीउ लगायत प्राविधिक सहयोग पाउन सकिने कुरामा किसान दुविधामा परेको उनले बताए । ‘गहुँ छर्ने समय भइसक्दा पनि किसानसँग छलफल नै गरिएको छैन,’ उनले भने,‘अब यस्तोमा हामी किसानले सुपर जोनबाट पाउने सेवा सुविधा कहिले पाउने ?’ गहुँ लगाउनका लागि दिइने बीउभन्दा अघि नै किसानको खेतमा माटो परीक्षण गरिनुपर्ने लगायत काम अहिलेसम्म हुन सकेको छैन । गहुँ लगाउने खेतको चिस्यान सकिनै लागेको बताउँदै लोहरपुरका सोनुराम चौधरी भन्छन्, ‘यही समय हो गहुँ लगाउने, तर सुपर जोनले वितरण गर्ने भनिएको उन्नत जातको बीउको प्रतीक्षामा बस्दा खेतको चिस्यानै सकिने अवस्था आउन थालिसक्यो ।’ माटोको चिस्यान सकिँदा गहुँ उम्रन नसक्ने उनी बताउँछन्।

कार्यालय प्रमुख नहुँदा गहुँको बीउ खरिद गर्ने र बीउ वितरणका लागि परेका आवेदनमाथि छानबिन गर्न समस्या भइरहेको बताउँदै निमित्त प्रमुख तथा लेखापाल सोबले भने, ‘हामीलाई बीउ खरिद गर्ने र आवेदन छनोट गर्ने अधिकारै छैन ।’ सुपर जोनले अहिलेसम्म गहुँको बीउ खरिद गर्ने प्रक्रियासम्म थाल्न नसक्दा यसपालि किसानलाई गहुँ छर्ने समय धकेलिने उनी बताउँछन् । ‘हामीले हेर्ने भनेको आर्थिक कुरा मात्रै हो, बाँकी प्रशासनिक र प्राविधिक कुरा कार्यालय प्रमुखले नै हो,’ उनले भने,‘प्रमुख नै नहुँदा बीउ खरिद तथा बितरण तिहारपछि धकेलिन सक्छ।’

तर, किसान भने तिहारपछि मात्रै बीउ खरिद तथा किसानसँगको छलफल भए यसपालि गहुँ लगाउन ढिला हुने बताउँछन् । ‘यहाँ गहुँ लगाउने समय भनेको कात्तिक दोस्रो सातादेखि कात्तिक तेस्रो सातासम्म मात्रै हो,’ किसान रणबहादुर बम भन्छन्, ‘सुपर जोनले तिहारपछि गहुँको बीउ वितरण गर्ने हो भने त्यो समय बीउ उम्रिसक्ने समय हो ।’ बीउ उम्रने समयमा बीउ वितरण गरिने हो भने यसपालि गहुँको फसल उत्पादनमा कमी आउने उनी बताउँछन्।

गहुँ सुपर जोनमा कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत एक जना, कृषि अधिकृत एक जना, एक जना विषय विशेषज्ञ, एक जना नायव सुब्बा, एक जना प्राविधिक सहायक, एकजना ओभरसियर, एकजना नायव प्राविधिक सहायक गरेर सात जना कर्मचारी छैनन् । दरबन्दी भए पनि केन्द्रबाट कर्मचारी नपठाउँदा लेखापालकै भरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको गहुँ सुपर जोन कार्यालय चलिरहेको छ । अहिले कार्यालयमा निमित्त कार्यालय प्रमुखको जिम्मेबारी सम्हालिरहेका लेखापाल कृष्णप्रसाद सोब, सामाजिक परिचालक सूर्याकुमारी कुश्मी, हलुका सवारी चालक शंकरप्रसाद चौधरी र कार्यालय सहयोगीद्वय नन्कुकुमार चौधरी र सुक्मी कठरिया मात्रै छन्।

प्रकाशित: १२ कार्तिक २०७५ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App