१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निक्षेपकाे पाँच गुणा कर्जा

काठमाडौं - बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव हुने गरी बैंकहरुले २३ दिनमै ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोज ६ देखि २९ सम्म ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् । यो अवधिमा बैंकहरुले ११ अर्बमात्र निक्षेप संकलन गरेका छन् । निक्षेपको तुलनामा कर्जा लगानी करिब पाँच सय प्रतिशत बढी हो।

गत आर्थिक वर्षको अन्त्यमा बैंकिङ प्रणालीमा सरकारले खर्च गरेको रकम आएपछि बैंकहरुले आक्रामक रुपमा कर्जा लगानी गरेका हुन् । निक्षेपभन्दा कर्जा प्रवाह अत्यधिक गर्न थालेपछि बैंकमा लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ।

अवस्था र अनुमान
– असोज ६ देखि २९ सम्ममा ५७ अर्ब रुपैयाँ कर्जा लगानी
– सरकारी ढुकुटीको पैसा खर्च नभए कारण तरलता अभाव चर्किन थाल्यो

अघिल्लो वर्ष पनि आक्रामक रुपमा लगानी गरेका कारण बैंकहरुले तरलता अभाव झेल्नुपरेको थियो । यो वर्ष पनि सरकारको ढुकुटीमा रहेको रकम खर्च नहुने हो भने लगानीयोग्य पुँजीको अभाव हुने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन्।

‘अघिल्लो वर्ष पुस–माघदेखि लगानीयोग्य पुँजीको अभाव हुने गरेको थियो,’ उनले भने, ‘तर यो वर्ष कात्तिकदेखि नै अभाव देखिन थालेको छ।’

अहिले सरकारी ढुकुटीमा दुई सय २५ अर्ब (दुई खर्ब २५ अर्ब) रुपैयाँ छ । दाहालले भने, ‘त्यो खर्च नहुने हो भने बैंकमा लगानी गर्ने रकम हुने छैन।’

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष ०७५/७६ को ४ साउनसम्म बैंकहरुले २४ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । असोज २९ सम्ममा निक्षेप संकलन बढाएर २५ खर्ब २३ अर्ब पु-याएका छन् । यो अवधिमा बैंकहरुले ६९ अर्ब निक्षेप संकलन बढाएका छन्।

गत साउन ४ गतेसम्म २० खर्ब ९९ अर्ब लगानी गरेका उनीहरुले असोज २९ सम्ममा २२ खर्ब ४६ अर्ब लगानी पु-याएका छन् । यो अवधिमा बैंकहरुले एक सय ४७ अर्ब (एक खर्ब ४७ अर्ब) लगानी गरेका छन्। चालु आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने निक्षेप संकलनको तुलनामा लगानी करिब दुई सय प्रतिशतले बढाएका छन्।

पछिल्लो तथ्यांकले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएको देखाउँछ । यस्तै तरिकाले लगानी मात्रै बढ्दै जाने हो भने बैंकहरुसँग आगामी दिनमा लगानी गर्ने रकम नहुने निश्चित छ।

गत वर्ष पनि आक्रमक तरिकाले वाणिज्य बैंकहरुले लगानी गर्दा करिब ६ महिना लगानीयोग्य पुँजी अभाव भएको थियो । निक्षेप संकलनको तुलनामा कर्जा बढी लगानी गरेको कारण लगानीयोग्य पुँजी अभाव भएको आरोप बैंकहरुलाई लाग्दै आएको छ । यो वर्ष पनि त्यही आरोप लाग्ने निश्चित जस्तै देखिएको छ।

चालु आर्थिक वर्ष सुरु भएदेखि नै बैंकहरुले लगानी बढाउन थालेको थिए। सानिमाका प्रमुख कार्यकारी अधिकृत दाहाल भन्छन्, ‘गत आर्थिक वर्षको अन्त्यमा सरकारले पुँजीगत खर्च बढाएका कारण लगानीयोग्य पुँजी बैंकिङ प्रणालीमा आएकाले लगानी बढाउन सहज भएको थियो । असारमा आएको रकमले बैंकहरुलाई ऋण लगानी गर्न सजिलो बनाएको थियो । तर, अहिले त्यस्तो रकम पनि सकिँदै गएकाले समस्या आउन थालेको छ।’

असारमा सरकारले खर्च गरेको रकम बैंकिङ प्रणालीमा आएकाले आजसम्म लगानीयोग्य पुँजीको अभाव नभएको दाहालको भनाइ छ।

अहिले केही बैंकहरुसँग लगानीयोग्य पुँजी भए पनि एक दर्जन बैंकमा लगानी गर्ने रकमको अभाव भइसकेको छ। ‘केही बैंकहरु ऋण दिन सक्ने अवस्थामा छैनन्,’ एक बैंकरले भने । बैंकहरुले सिसिडी रेसियोको ८० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । त्योभन्दा माथि पु¥याए नेपाल राष्ट्र बैंकले कारबाही गर्छ । अर्थात बैंकहरुले एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ८० रुपैयाँसम्म मात्र लगानी गर्न पाउँछन्।

सीमित बैंकसँग मात्र केही लगानीयोग्य रकम छ । औसतमा बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो¬) करिब ७८ प्रतिशत पुगेको छ । ‘सिसिडी रेसियो अहिलेको बाट दुई प्रतिशत बिन्दुले बढाएर ८९ प्रतिशत पु¥याउँदा मात्र पनि २५–३० अर्ब रुपैयाँ लगानीयोग्य पैसा बैंकहरुसँग हुन्छ,’ दाहालले भने, ‘यो रकमले ती बैंकहरुलाई मंसिरसम्म लगानी गर्न पुग्दैन।’

सरकारले आर्थिक वर्षको अन्त्यमा मात्र खर्च गर्ने परिपाटी अन्त्य नगर्ने हो भने मंसिरपछि लगानीयोग्य रकमको अभाव हुने निश्चित भएको बैंकर बताउँछन् । ‘सरकारले खर्च गर्ने परिपाटी बदल्नुपर्छ,’ दाहालले भने, ‘अन्यथा गत वर्ष जस्तै लगानीयोग्य पुँजीको अभाव यस वर्ष पनि दोहोरिन्छ।’

नेपाल राष्ट्र बैंक भने बैंकहरुले भनेजस्तो लगानीयोग्य पुँजीको अभाव भइनसकेको बताउँछ । दसैं र तिहारमा रेमिट्यान्स बढेकाले पनि लगानीयोग्य पुँजी केही बढ्ने अपेक्षा राष्ट्र बैंकले गरेको छ । तर, त्यसले मात्रै लगानीयोग्य रकमको समस्या समाधान गर्न नसक्ने विज्ञको भनाइ छ।

बैंकहरुले मुद्दतीमा १० प्रतिशत ब्याज दिएर पनि निक्षेप संकलन गरिरहेका छन् । त्यसरी संकलन गरेको निक्षेप १४ प्रतिशतसम्म ब्याजमा लगानी गरेका छन्।

प्रकाशित: ८ कार्तिक २०७५ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App