६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

रामेछापबाट लुक्ला उडान सुरु

काठमाडौं - लुक्ला (तेन्जिङ हिलारी विमानस्थल)को लागि रामेछापबाट हवाई उडान थालिएको छ। निजी क्षेत्रका तारा, समिट र सीता एअरलाइन्सका जहाजले लुक्लाको लागि रामेछापबाट उडान सुरु गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दा एयर ट्राफिक जाममा घन्टौं जहाज होल्डमा राख्नुपर्दा उडान डिले भएर तालिका अनुसार उडान गर्न समस्या भएपछि विकल्पकोरुपमा रामेछापबाट लुक्ला उडान थालिएकावायुसेवा सञ्चालक संघ नेपालका महासचिव तथा प्रवक्ता घनश्याम आर्चायले जानकारी दिए।

सीता एयरका महाप्रबन्धक समेत रहेको संघका प्रवक्ता आचार्यका अनुसार अघिल्लो साताबाट रामेछापबाट लुक्ला उडान थालिएको हो । अहिले रामेपाछबाट दैनिक दर्जनभन्दा बढी उडान भइरहेका छन् ।सोमबार रामेछापबाट लुक्लाका लागि २४ उडान भएका थिए।

‘वायुसेवा कम्पनीले एक जहाज बराबर पाँच उडानसम्मको बुकिङ गरेका हुन्छन्,’ उनले भने, ‘ट्राफिक जामले गर्दा बुकिङअनुसार उडान गर्न पाइरहेका हुँदैनन्, जसले गर्दा सगरमाथा क्षेत्र घुम्न आएका पर्यटक लुक्ला जान नपाएर बिचल्लीमा पर्ने गरेका छन्।’

लुक्लाको उडान सहज नभएपछि पर्यटन क्षेत्र नै धराशयी बन्दै गएको भन्दै पर्यटन व्यवसायीले विकल्प खोज्न थालेका थिए । सोहीअनुरुप रामेछापबाट लुक्लाको उडान थालिएको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक ट्राफिक जाम बढेपछि वायुसेवा कम्पनीहरुले यसअघिबाटै लुक्ला उडान काठमाडौं बाहिरबाट गरौं भनेर सुझाउँदै आएका थिए।

त्रिभुवन विमानस्थलका उपमहानिर्देशक सीताराम भण्डारीका अनुसार रामेछापबाट लुक्ला उडान नियमित नभएर अस्थायी हो । पर्यटकीय सिजनमा लुक्लामा अत्यधिक उडान हुने तर ट्राफिक जामले गर्दा माग अनुसारको उडान गर्न नसक्दा समस्या भइरहेको थियो । तत्कालको समस्या समधान गर्नका लागि अघिल्लो साताबाट रामेछाप–लुक्ला उडान थालिएको छ।

‘रामेछाप–लुक्ला उडान गरिरहेका जहाजले यतिवटा उडान रामेछापबाट गर्नैपर्छ भन्ने व्यवस्था गरेका छैनौं,’ उनले भने, ‘कम्पनीले जति यात्रु काठमाडौंबाट रामेछाप लैजान सक्छन्, सोही अनुसार उडान गरिरहेका छन्।’

अहिलेलाई अस्थायी व्यवस्था गरेपनि केही समयपछि भने स्थायी व्यवस्था गर्न सकिने उनले बताए । उनका अनुसार पहिलो फ्लाइट काठमाडौंबाट र त्यसपछिको फ्लाइट रामेछापबाट गर्नेगरी उडान तालिका तय गर्ने तयारी छ।

रामेछापबाट लुक्ला उडान गर्दा ट्राभल एजेन्सीले पर्यटकलाई गाडीमार्फत रामेछापसम्म पु-याउनुपर्ने हुन्छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा)का अध्यक्ष सिएन पाण्डेका अनुसार व्यवसायी त्यसको लागि तयार छन्।

‘काठमाडौं–लुक्ला उडानको भरै हुँदैन,’ पाण्डेले भने, ‘रामेछाप–लुक्ला उडान मौसम नबिग्रँदा भइरन्छ ।’ काठमाडौंमा पर्यटकलाई जहाज डिले भएर उडान भएन भन्दै राख्नुभन्दा रामेछापसम्म लगेर उडान व्यवसायी तयार रहेको उनले बताए । उनका अनुसार व्यवसायीले नै यसअघि लुक्ला उडानको लागि विकल्प खोज्न थालेका थिए।

‘उडान डिले तथा नहुने कारणले गर्दा कतिपय पर्यटक भ्रमणै नगरी फर्किने अवस्था छ,’ पाण्डेले भने, ‘काठमाडौं बाहिरबाट उडान गर्दा ट्राफिक जाम नझेल्दा फटाफट उडान गर्न सकिन्छ । त्यसको लागि हामी लागि व्यवसायी तयार नहुने कुरै हुँदैन।’ उनका अनुसार ट्राभल एजेन्सीलाई भने रामेछापबाट उडान गर्दा प्याकेज थपिन्छ, व्यवसायी झनै खुसी हुन्छन् । पर्यटक पनि अर्को ठाउँ पनि घुम्न पाउने भएपछि खुसी हुने उनको अनुमान छ।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाएर २० लाख पर्यटक नेपाल भिœयाउने घोषणा गरेको छ । नेपाल आउने अधिकांश पर्यटकको रोजाइ सगरमाथा क्षेत्र पर्छ । तर, सगरमाथा प्रवेशद्वार लुक्ला पुग्ने एकमात्रै विकल्प काठमाडौं–लुक्ला हवाई उडान भरपर्दो छैन । यसै कारणले गर्दा लुक्लाको लागि सरकार र व्यवसायी दुवै पक्षबाट खोजिएको रामेछाप–लुक्ला उडान उत्तम विकल्प रहेको उनले बताए।

रामेछापबाट तालिका अनुसार उडान गर्न सकिन्छ भने अर्कोतिर काठमाडौंमा हुने ट्राफिक जाम पनि घट्छ । पर्यटकीय सिजनमा सबैभन्दा बढी आन्तरिक उडान लुक्ला (तेन्जिङ हिलारी) विमानस्थलमा हुन्छ । एकपटकमा तीनवटा विमान कम्पनीका नौ जहाजले उडान भर्छन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा धावनमार्ग एउटामात्रै भएकाले घन्टौं होल्ड गरेर उडान गर्नुपर्ने बाध्यता छ।

एयर ट्राफिक जामले समयमा उडान हुँदैन भने अर्कोतिर मौसममा आउने खराबीले गर्दा लुक्लाको उडान रद्द भइरहन्छ । लुक्ला उडानको टिकट तीन महिनाअघिबुकिङ हुन्छ । बुकिङ अनुसार एक चरण मात्रै उडान भएन भने सगरमाथा क्षेत्र जाने पर्यटक बिचल्लीमा पर्छन्।

लुक्लामा विशेष गरी विहान मौसम सफा रहन्छ । १० बजेपछि मौसम बिग्रन र हावा चल्न थाल्छ । जसले गर्दा आन्तरिक उडान प्रभावित हुने गरेको छ । कतिपय अवस्थामा त लुक्लामा हप्तौंसम्म मौसम बिग्रँदा उडानै हुँदैन । मौसम बिग्रिएको बेला कुनै विकल्प नभएपनि मौसम खुलेको अवस्थामा काठमाडौंबाट ट्राफिक जाममा बसेर एक चरण उडान गर्दा काठमाडौंबाहिरबाट भने तीन चरणसम्म उडान गर्न सक्ने अनुमान व्यवसायीको छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार रामेछाप–लुक्ला उडानले काठमाडौंमा धेरै हदसम्म ट्राफिक जाम कम हुन्छ । विमानस्थलले पनि लुक्लाको उडान रामेछापबाट गराउन विमानस्थल मर्मतदेखि हवाई इन्धनको डिपोसमेत सञ्चालन गराइएको छ । लुक्लाको कार्गो फ्लाइट समेत रामेछापबाट हुँदै आएको उनले बताए ।
अहिले लुक्लामा तारा, समिट र सीता एयरका साना १७ सिट क्षमताका नौवटा जहाजले उडान गर्दै आएका छन् । नेपाल एयरलाइन्सले पनि असोज दोस्रो साताबाट हप्तामा तीनवटा उडान गर्न थालेको छ।

प्रकाशित: ८ कार्तिक २०७५ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App