१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

विदेशको कमाई च्याउखेतीमा

खोटाङ - वर्ष दिनअघि मलेसिया पुगेका छोराले घरमा रेमिट्यान्स पठाउँथे । तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्यगाउँकी राधाकुमारी आचार्यलाई परदेशबाट हात परेको रेमिट्यान्सलाई अन्य आयमूलक काममा लगाउने ज्ञान थिएन । हात परेको रेमिट्यान्स ऋणपान, घर खर्चमै सकिन्थ्यो । गाउँमै सञ्चालन गरिएको २८ हप्ते वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि भने उनले व्यावसायिकरुपमा च्याउखेती सुरु गरेकी छन्।

वित्तीय साक्षरता कक्षामा सहभागी बनेपछि विदेशबाट हात परेको विप्रेषणको आम्दानी र खर्चको हिसाब राख्ने, बचत गर्ने तथा उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने उपायबारे जानकारी भएपछि आचार्यले च्याउखेती सुरु गरेकी हुन् । मलेसियामा छोराले मासिक एक हजार रिंगेट कमाइ गरिरहँदा राधाकुमारीले पनि च्याउखेतीबाट घर खर्च टारेर बैंकमा मासिक तीन हजार बचत गर्ने गरेको बताइन् । ‘ऋणले ऋणतिर धकेल्छ, धनले धन तान्छ भन्ने उखान छ, त्याही भएर धन तान्न च्याउखेती लगाएकी हुँ,’ राधाकुमारीले भनिन्, ‘काम गर्दा नहुने केही रहेन छ । आफ्ना लागि आफैं कमाउनुपर्छ भन्ने आत्मविश्वास पनि पलाएको छ।’

आर्थिकरुपमा स्वाबलम्वी बन्ने ज्ञान भएपछि उनले घरछेउमा दुई लाख पाँच हजार लगानीमा व्यावसायिक रुपमा च्याउखेती सुरु गरेकी हुन् । प्लास्टिक घर निर्माण गरेर च्याउखेतीका लागि उनले बैंकबाट दुई लाख ऋण पनि लिएकी छन् । एक सय ९० घाना बाँस, प्लास्टिक, पराल लगायत सामग्री जुटाएर सुरु गरिएको च्याउखेतीबाट जीवन निर्वाह सहज बनाएको राधाकुमारीको भनाइ छ । उत्पादित च्याउ प्रतिकेजी एक सय ७० रुपैयाँदेखि दुई सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताइन् । अधिकांश च्याउ गाउँमै बिक्री हुन्छ । दिक्तेलमा लाग्ने हटिया र दिक्तेलबजारमै पनि च्याउ खपत हुने गरेको छ । च्याउको आम्दानीका कारण हौसिएकी आचार्यले दैनिक ३० केजी च्याउ उत्पादन गर्ने लक्ष्य राखेकी छन्।

सुरुमा घरको तरकारीकै प्रयोजनका लागि च्याउ उत्पादन गर्दै आएकी आचार्यले व्यवसायिक रुपमा च्याउखेती विस्तार गरेकी हुन् । च्याउखेतीबाट आउने आम्दानीले हाल श्रीमानसहित राधाकुमारीको सात जनाको परिवारको गर्जो सहजै टरिरहेको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) र बालसेवा समाज नेपाल नेर्पाले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षाले उनलाई व्यावसायिक च्याउखेती गर्न हौस्याएको हो।

वित्तीय साक्षरता कक्षाका माध्यमबाट वैदेसिक रोजगारमा संलग्न महिलालाई सम्पन्नता प्राप्तिको उपाय, परिवार व्यवस्थापन, वित्तीय लक्ष्य निर्धारण, बजेटको परिचय, विप्रेषणको परिचय, बचतको उपाय र तरिका, व्यावसायिक योजना, आर्थिक समृृद्धि प्राप्तिका लागि वित्तीय अनुशासनलगायत विषयमा जानकारी गराइएपछि उनीहरु कृषि सम्बन्धी व्यावसायिक कामतर्फ आकर्षित भएको वित्तीय साक्षरता कक्षाका सहजकर्ता मिनप्रसाद आचार्यले बताए।

प्रकाशित: २८ आश्विन २०७५ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App