काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीका कारण वित्तीय स्थायित्वमा जोखिम रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाजले शुक्रबार गरेको ‘वित्तीय क्षेत्र स्थायित्वः प्राथमिक राष्ट्रिय एजेण्डा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले बचत तथा ऋण सहकारीहरु तथा गैर–बैंकिङ वित्तीय संस्थामा नियमनको अभावले वित्तीय क्षेत्रमा अदृश्य जोखिम रहेको औंल्याएका हुन् ।
चालु आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिले वित्तीय स्थायित्व सशक्तीकरणका लागि मापदण्डहरु अबलम्बन गरेको भन्दै उनले बचत तथा ऋण सहकारीसहितका वित्तीय कारोबार गर्ने संस्थाहरुमा सुशासनको अभाव रहेको उनले औल्याए।
अन्तरक्र्रियामा विज्ञ, नीति निर्माता तथा नियामकहरुले वित्तीय स्थायित्व आर्थिक वृद्धिका लागि पूर्वशर्त रहेको र यसलाई त्यत्तिकै प्राप्त भएको नठान्न आग्रह गरेका छन् ।
गभर्नर नेपालले नेपालको बैंकिङ क्षेत्र अत्यन्त मजबुत रहेको भन्दै केन्द्रीय बैंकको विवेकशील नियमनका कारण यो सम्भव भएको दाबी गरे। बैंक तथा वित्तीय संस्थामा सुशासन र स्वनियमन समेत भएको भन्दै उनले वित्तिय कारोबार गर्ने संस्थाहरु तथा गैर बैंकिङ वित्तीय संस्थाहरुलाई स्वनियमनमा बस्न सुझाए।
‘अर्थतन्त्रमा प्रवाहित कुल रकमको १५ प्रतिशत रकम परिचालन गर्ने संस्थाहरु अझै नियमन बाहिर छन् यीनमा कुनै धक्का लागेमा सिंगो वित्तीय क्षेत्रलाई नै आघात पुग्ने जोखिम छ,’ उनले भने, ‘सहकारीमा पनि ठूलो रकम आवतजावत हुन्छ । र पैसाको प्रवाहलाई पछ्याउन यिनीहरुलाई प्रभावकारी नियामकीय सीमाभित्र ल्याउनैपर्छ।’
प्रकाशित: १९ आश्विन २०७५ १२:५० शुक्रबार