२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्लास्टिक रिसाइक्लिङ उद्योग आवश्यक

मानवीय जीवनमा प्लाष्टिकको प्रयोग अनिवार्य बनेको छ । प्लाष्टिकजन्य वस्तु प्रयोग नगरे दैनिक जीवन सञ्चालननै प्रभावित हुन्छ । हरेक वर्ष प्लाष्टिकको खपत वृद्धि हुँदै गएको छ । विगतमा विदेशबाट आयात हुँदै आएकोमा प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु उत्पादन गर्ने उद्योगको संख्या करिब ६ सय पुगेको छ ।  प्लाष्टिक उद्योगले आयात प्रतिस्थापनसँगै रोजगारी पनि सृजना गरेका छन् । प्लाष्टिकका सामग्रीको प्रवद्र्धन तथा जनेचतना फैलाउने उदेस्यले प्लाष्टिकजन्य वस्तु उत्पादकहरुको छाता संस्था प्लास्ट नेपाल फाउन्डेसनले शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी आयोजना गरेको छ । फाउन्डेसनले दोस्रो संस्करणको ‘प्लास्ट नेपाल २०१८’ आयोजना गरेको हो ।‘प्लास्टिकलाई चिनौं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा विभिन्न स्टलमार्फत उपभोक्ताले स्वदेशी तथा विदेशी  उत्पादनबारे जानकारी पाउनेछन् । उद्योगीहरुले प्लाटिकजन्य वस्तुको रिसाइक्लिङ उद्योग आवश्यक भएको बताएका छन् । प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तुको प्रयोग, यसको बजार, उद्योगीले झेलिरहेका समस्या लगायतका विषयमा नेपाल रिपव्लिक मिडियाले आयोजना गरेको राउण्ड टेवलमा संस्था प्लास्ट नेपालका पदाधिकारी तथा उद्योगीसँग राखेका धारणाको संम्पादित अंश 

सामग्री प्रवद्र्धन केन्द्रित


विवेक तातेड

संयोजक, प्लास्ट नेपाल २०१८ (दोस्रो अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी)

अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनीको यो दोस्रो संस्करण हो । यसपटकको मेलामा एक सय २५ वटा स्टल रहनेछन् । स्वदेशी तथा विदेशी प्रदर्शक ५०÷५० प्रतिशत सहभागी छन् । विदेशी प्रदर्शकमा भारतीय प्रदर्शकको संख्या बढी रहेको छ । स्वदेशी प्लास्टिक उत्पादक तथा वितरकले मेलामा सहभागिता जनाइरहेका छन् । उनीहरुले आफ्ना उत्पादन तथा सेवाको बारेमा जानकारी दिनेछन्।

यसपटकको मेलामा ३०–३५ हजार अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा राखेका छौं । मेलालाई सबै ट्रेड एसोसिएसनहरुले सहयोग गरेका छन् । सरकारीस्तरबाट वातावरण मन्त्रालय र उद्योग मन्त्रालयले सहयोग गरेका छन् । मेलाको प्रायोजकमा प्रायः भारतीय कम्पनी छन्। 

मेलाको मुख्य उद्देश्य प्लास्टिकको उपयोगिताबारे जनचेता जगाउन तथा प्लास्टिकजन्य उत्पादनको प्रवद्र्धन गर्ने रहेको छ । कच्चा पदार्थ सप्लायर्स, प्लास्टिकजन्य वस्तु उत्पादक तथा वितरकका साथै उपभोक्तालाई एकै ठाउँमा जमघट गराउने अवसर मेलाले प्रदान गरेको छ।

मेलालाई हामीले ‘ट्रेड एक्जिबिसन’मा भन्दा पनि ‘प्रमोसनल एक्जिबिसन’मा केन्द्रित गरेका छौं । त्यसैले मेलामा छुट प्रदान गरेर बिक्री गर्नेभन्दा पनि प्रदर्शनीमार्फत उत्पादनको प्रवद्र्धन गर्ने हो । यो एक प्रकारको औद्योगिक मेलाजस्तै भएकोले बिक्रीमा भन्दा प्रवद्र्धनमा बढी केन्द्रित छ । यद्यपि, अवलोकनकर्ताले चाहेमा सामान खरिद गर्न पनि सक्नेछन्।
 
प्लास्टिककाे व्यवसाय वार्षिक २०% ले बढ्दै


सरदकुमार टिवडेवाल 
अध्यक्ष, प्लास्ट नेपाल फाउन्डेसन

नेपालमा पहिलो प्लास्टिक उद्योग सन् १९७० मा स्थापना भएको थियो । त्यसअघि पनि प्लास्टिकको सामान भारतबाट आयात गरेर प्रयोग गरिरहेको थियो । त्यसयता यहाँ स्थापना भएका प्लास्टिक उद्योगले आयात घटाएको छ।

प्लास्टिक हाम्रो दैनिक जीवनमा प्रयोग हुन्छ । विहानदेखि साँझसम्मको गतिविधिमा प्लास्टिकजन्य सामानकै प्रयोग हुन्छ । त्यस्तै, औद्योगिकीकरण, मोबिलिटी, सञ्चार, विद्युत्लगात जहाँ पनि प्लास्टिकको उपयोगिता छ । धेरै सामान अहिले नेपालमै बन्न थालेका छन् । हामी स्थानीय उद्योग बढोस् भन्ने चाहन्छौं । यसले रोजगारी सिर्जना गर्छ, निर्यात गर्न सकिन्छ । तर, यसको लागि हामीले उपभोक्तालाई सचेत बनाउनुपर्छ। 

मेलाको पहिलो प्राथमिकता स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नु हो । नयाँ–नयाँ प्रविधि तथा विविध विषय पदर्शनीमार्फत जानकारी दिन्छौं । नेपालमा कुन–कुन सामान उत्पादन भइरहेका छन्, यसको गुणस्तर कस्तो छ भन्ने जानकारी मेलाबाट सहजरुपमा लिन सकिनेछ । मेलाले उत्पादकलाई पनि कच्चा पदार्थ, मेसिनरी तथा नयाँ प्रविधिको बारेमा बुझ्ने राम्रो अवसर दिएको छ। 

यसपटकको मेलामा ‘प्लास्टिकलाई चिनौं’ भन्ने मुख्य थिम राखेका छौं । प्लास्टिक कसरी बन्छ, यसको उपयोगिता र प्लास्टिकलाई हामी कसरी पुनः प्रयोग गर्न सक्छौं भन्ने कुरालाई विशेष हाइलाइट गरिरहेका छौं । अवलोकनकर्ताले प्लास्टिकको बारेमा सम्पूर्ण जानकारी लिन सक्नेछन् । प्लास्टिकलाई कसरी पुनः प्रयोग गर्ने भन्ने सन्देश पनि दिइरहेका छौं । प्लास्टिकलाई ‘रिसाइकल’ गरेर कसरी वातावरण प्रदूषणलाई कम गर्न सकिन्छ भन्ने सन्देश पनि प्रवाह गर्छौं।

प्लास्ट नेपाल फाउन्डेसन सन् २०१४ मा स्थापना भएको हो । सबै प्लास्टिक उद्योगीलाई एउटै छातामुनी गोलबन्द गरेर अगाडि बढ्ने उद्देश्यका साथ यसको स्थापना भएको हो । नेपालमा रहेका करिब ९५ प्रतिशत प्लास्टिक उद्योगी यसमा आवद्ध छन् । प्लास्टिकको ‘सस्टेनेबल ग्रोथ’का लागि हामी काम गरिरहेका छौं । दक्ष जनशक्ति र प्रविधि रुपान्तरणका लागि पनि काम गरिरहेका छौं।

नेपालमा प्लास्टिकजन्य वस्तुको व्यवसाय वार्षिक १५–२० प्रतिशतले बढिरहेको छ । लोडसेडिङ अन्त्यले पनि यसमा सहयोग गरेको छ । पूर्वाधार विकासको काम बढेकाले पनि प्लास्टिकजन्य उत्पादनको बजार बढेको छ। 

नेपालमा कच्चा पदार्थ छैन । भारत वा अन्य मुलुकबाट आयात गर्नुपर्छ । वार्षिक करिब दुई लाख २० हजार टन कच्चा पदार्थ आयात भइरहेको छ । यसको राजस्वमा करिब सात अर्ब योगदान छ । २०–३० प्रतिशत तयारी वस्तु आयात भइरहेको छ । हामीकहाँ कच्चा पदार्थ आयात गर्नुपर्ने भएकोले उत्पादन लागत बढ्न जान्छ । भारतमा उत्पादन लागत एकदमै कम छ । त्यसैले उनीहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । हामी सानो स्केलमा उत्पादन गर्छौं, उनीहरु ठूलो स्केलमा उत्पादन गर्छन्। 

अर्को समस्या स्वदेशी उत्पादनको संरक्षण गर्ने सरकारको नीति छैन । कच्चा पदार्थ आयात र तयारी वस्तु आयातमा जम्मा पाँच प्रतिशतको मात्र फरक छ । हामीकहाँ ‘रिसाक्लिङ उद्योग’ छैन । त्यस्तो उद्योग आओस् भन्ने हाम्रो चाहना हो । यसका लागि हामीले सरकारसँग लबी गरिरहेका छौं । यस्तो उद्योग ल्याउन सके प्रदूषणका धेरै समस्या कम हुन्छ।

तयारी वस्तु आयातमा भन्सार दर बढाउनुपर्छ


राहुल अग्रवाल
वरिष्ठ उपाध्यक्ष, प्लास्ट फाउन्डेसन नेपाल

नेपालमा औपचारिक रुपमा सञ्चालन हुने उद्योग साढे पाँच सयदेखि ६ सय हाराहारी छन् । अनौपचारिक रुपमा अरु धेरै उद्योग सञ्चालित छन् । यो क्षेत्रमा करिब ५० अर्ब लगानी पुगेको छ । यो क्षेत्रमा एक लाखभन्दा बढीले प्रत्यक्ष र दुई लाखले अप्रत्यक्ष रोजगारी पाएका छन्।

यो क्षेत्रमा केही नीतिगत समस्या छन् । कच्चा पदार्थ र तयारी वस्तुको आयातमा लाग्ने भन्सार दरबीचको अन्तर एकदमै कम छ । प्लास्टिकका लागि आवश्यक कच्चा पदार्थ आयातमा १० प्रतिशत र तयारी वस्तुमा १५ प्रतिशत भन्सार कायम गरिएको छ । तयारी वस्तु आयातमा भन्सार दर २० वा २५ प्रतिशत बनाउने हो भने १० देखि १५ प्रतिशत आयात घट्न जान्छ । स्वदेशी उत्पादनले नै त्यसलाई धान्न सक्छ । स्वदेशी उद्योगसँग क्षमता र प्रविधि छ, तर उत्पादन लागत उच्च हुँदा आयातित सामानसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ।

यो क्षेत्रमा वार्षिक करिब सय अर्बको कारोबार हुन्छ । पूर्वाधार क्षेत्रमा हामी धेरै नै अगाडि छौं । प्लास्टिक पाइप, फिटिङ्स, ट्यांकीमा ९५ प्रतिशत आत्मनिर्भर छौं । प्याकेजिङ उत्पादनमा करिब ९० प्रतिशत आत्मनिर्भर छौं । चाउचाउ तथा तेल प्याक गर्ने -यापर, मिनिरल वाटर, कोक तथा पेप्सीको बोत्तल पनि यहाँ बन्छ । उच्च गुणस्तरका प्लास्टिक कुर्सी, टेबल पनि यही उत्पादन हुन्छ। 

अहिले हाम्रा उद्योग ‘ह्यान्ड टु ह्यान्ड’मा आधारित छन् । यसलाई मेसिनरीतर्फ लैजानका लागि मेलामा विभिन्न मेसिन तथा अत्याधुनिक प्रविधिको बारेमा जानकारी गराउँछौं । यसले मेसिन र प्र्रविधिको प्रयोग गरेर उच्च गुणस्तरका वस्तु उत्पादन गर्न उद्योगीलाई प्रोत्साहित गर्नेछ। 

म प्याकेजिङ फिल्मस् उत्पादन गर्छु । मेरो कम्पनी शिवशक्ति प्याकेजिङ उद्योग प्रालिबाट दूध, तेल तथा घ्यूका प्याकेट बनाउँछौं । खाद्यान्न सामग्रीको प्याकेट र बोरा पनि उत्पादन गर्छाैं। 

‘रिसाइक्लिङ’ नीति ल्याउन जरुरी 

पवनकुमार सन्चेती
भाइस प्रेसिडेन्ट, मार्भल टेक्नोप्लास्ट प्रालि

प्लास्टिक उद्योगमा बिजुलीको समस्या थियो । अहिले लोडसेडिङ अन्त्य भएपनि समस्या भइरहेको छ । पटकपटक बिजुली आउने–जाने भइरहन्छ । यसले प्लास्टिक प्रोसेसिङमा समस्या ल्याउनुका साथै ठूलो क्षति पु¥याउँछ । औद्योगिक क्षेत्रमा बिजुलीको सही व्यवस्थापन भए हामीलाई राहत हुने थियो।

स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न सरकारले भन्सारको समस्या सम्बोधन गरिदिनुपर्छ । त्यस्तै, ‘रिसाइक्लिङ’ नीति ल्याउन जरुरी छ । अहिले वार्षिक दुई लाख २० हजार टन कच्चा पदार्थ आयात गरिरहेका छौं, त्यसको व्यवस्थापन गर्ने नीति नै छैन । रिसाइक्लिङ उद्योग आयो भने त्यसलाई ‘ब्यालेन्स’ गर्न सकिन्थ्यो । अहिले प्लास्टिकका कारण जुन समस्या देखिरहेको छ, त्यो प्लास्टिकका कारण नभई प्लास्टिक व्यवस्थापन गर्न नसक्दा त्यस्तो भएको हो । हामीमा चेतनाको कमी छ । प्लास्टिकले गर्दा समस्या उत्पन्न भयो भन्ने जुन धारणा बनेको छ, त्यसलाई हटाउन विशेष  नीति बन्नुपर्छ।

नेपालका प्लास्टिक उद्योगमा मेसिन र प्रविधि राम्रै छ । नेपाली उत्पादनको गुणस्तर अन्य मुलुकका उत्पादनको तुलनामा कमी छैन । अर्को समस्या भनेको हामीले बैंकमा रिफाइनान्स हरेक ६ महिनामा नवीकरण गर्नुपर्ने प्रावधान छ । त्यसलाई अलि दिर्घकालीन बनाउने नीति राष्ट्रबैंकले ल्यायो भने राम्रो हुने थियो।

दोस्रो ग्रेडको कच्चा पदार्थ आयात बन्द गर्नुपर्छ

विनितकुमार अग्रवाल
सञ्चार संयोजक, प्लास्ट नेपाल–२०१८
सञ्चालक, इन्टर–टेक पाइप एन्ड फिटिङ्स प्रालि

नेपालमा प्लास्टिकजन्य उत्पादनका लागि अहिलेसम्म नेपाल गुणस्तर चिन्ह (एनएस) बनेको छैन । अहिले त्यति धेरै प्लास्टिकको खपत भए पनि सरकारले गुणस्तरको स्ट्यान्डर्ड बनाउन पहल गरेको छैन । एचडिभी तथा पिभिसी पाइप, ट्यांकीबाहेक अन्य कुनै पनि प्लास्टिक उत्पादनमा एनएस छैन । पिपिआर र सिपिभिसीमा अहिले ड्राफ्ट बन्दैछ । एक दुई महिनामा आउन सक्छ । हामीले गुणस्तर विभागमा सबै प्लास्टिक उत्पादनमा गुणस्तर चिन्ह अनिवार्य गर्न पहल गरिरहेका छौं । सिमेन्ट, डन्डी, ग्याँसलगायतमा जसरी एनएस अनिवार्य गरिएको छ, त्यसरी नै प्लास्टिकमा पनि अनिवार्य गर्नुपर्छ भन्ने हाम्रो माग छ।

यसो गर्नुको कारण दोस्रो ग्रेडको कच्चा पदार्थ आयात गरेर कम गुणस्तरका प्लास्टिक वस्तु उत्पादन नियन्त्रण गर्नु हो । यो विषयमा हामीले वातावरण मन्त्री र गुणस्तर विभागका डिजीसँग पनि कुरा ग-यौं । कम गुणस्तरका उत्पादनका कारण मान्छेमा प्लास्टिक नराम्रो भन्ने धारणा स्थापित गर्छ । उदाहरणका लागि एचडिभी पाइपमा विभिन्न प्रकारका दोस्रो ग्रेडका कच्चा पदार्थबाट पाइप बनाउने उद्योग छन् । एनएस लिएर पाइप उत्पादन गर्ने उद्योग ३० वटा छन् । यसबाहेक अरु धेरै छन् । तिनीहरुले बजारमा प्लास्टिक नराम्रो छ भन्ने भ्रम सिर्जना गरिरहेको छ । त्यसले हामीलाई अप्ठ्यारो बनाइरहेको अवस्था छ । यसमा हामी उद्योगी पनि सजक हुनुपर्छ । सरकारले दोस्रो ग्रेडको कच्चा पदार्थ आयात बन्द गरिदिनुपर्छ। 

पछिल्लो समय हाम्रा उपभोक्ता पनि गुणस्तरमा सचेत हुन थालेका छन् । उपभोक्ताले अहिले गुणस्तरीय प्लास्टिक उत्पादन खोज्न थालेका छन् । त्यसले हामी उद्योगीलाई पनि गुणस्तरीय सामान दिनुपर्छ भन्नेतर्फ सचेत गराएको छ । प्लास्ट नेपाल फाउन्डेसनको मुख्य उद्देश्य भनेको प्लास्टिकको बारेमा जनचेतना जगाउने नै हो । यसका लागि हामीले विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका छौं । थ्री आर (रिसाइकल, रिड्युस र रियुज)को बारेमा सचेतना जगाउने कार्य भइरहेको छ । सरकारी विद्यालयका विद्यार्थीहरुलाई प्लास्टिकबारे सचेतना जगाउने काम भइरहेको छ।

कच्चा पदार्थ आयातमै निर्भर

बैंकटेश मुन्धडा
निर्देशक, अनुराग इम्पोर्ट एक्स्पोर्ट हाउस

हामीले नेपालका उद्योगहरुलाई प्लास्टिक उत्पादनका लागि आवश्यक कच्चा पदार्थ सप्लाई गरिरहेका छौं । नेपालमा वार्षिक करिब दुई लाख २० हजार टन कच्चा पदार्थ खपत हुन्छ । यसबाट वार्षिक २४ अर्ब हाराहारी  कारोबार भइरहेको छ । यहाँ कच्चा पदार्थ उत्पादन नहुने भएकोले पूर्णरुपमा आयातमा निर्भर छ। 

प्लास्टिकको कच्चा पदार्थ पेट्रोलियमबाट बन्ने हो । यसका लागि पेट्रो केमिकल कम्प्लेक्स नै स्थापना गर्नुपर्छ । त्यसैले यहाँ कच्चा पदार्थ उत्पादनको सम्भावना छैन । सरकारले नीति त बनाएको छ, तर ठूलो लगानी आवश्यक पर्ने भएकोले कसैले हात हालेको छैन । यसमा तत्काल सम्भव पनि छैन।

प्रकाशित: १९ आश्विन २०७५ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App