८ वैशाख २०८१ शनिबार
अर्थ

चौधरी ग्रुपको होटलमा ताज ग्रुपको व्यवस्थापन

काठमाडौं - चौधरी ग्रुपले हस्पिटालिटी उद्योगमा परिचित भारतको ताज ग्रुपलाई साझेदारको रुपमा भित्र्याएको छ। अन्तर्राष्ट्रिस्तरमा प्रख्यात ताजलाई चौधरी ग्रुपले आफ्नो मुख्य लगानीमा निर्मित ललितपुरको झम्सिखेलस्थित चारतारे डिलक्स होटलको व्यवस्थापन सम्हाल्ने गरी भित्र्याएको हो।

यससम्बन्धी सम्झौतापत्रमा सिजी हस्पिटालिटीका कार्यकारी निर्देशक राहुल चौधरी र द इन्डियन होटल्स कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत पुनित चटवालले हस्ताक्षर गरेका छन्। सम्झौतापछि उक्त होटल ‘भिभान्ता काठमाडौं’ को नाममा सञ्चालनमा आउनेछ।

हस्पिटालिटी क्षेत्रमा विश्वभर प्रख्यात ताजलाई डेढ दशकपछि काठमाडौं भित्र्याएको चौधरी ग्रुपले जानकारी दिएको छ। यसअघि ताजले चौधरी ग्रुपअन्तर्गतकै जंगल सफारी रिसोर्ट मेघौली सेराईको व्यवस्थापन पनि सम्हालिरहेको छ। ताजको आगमनले नेपालको पर्यटन उद्योगमा उत्साह थप्ने ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले बताए। यसबाट पर्यटकले उच्च गुणस्तरको सेवा पाउने वातावरण तयार भएको उनको भनाइ छ।

‘नेपालको हस्पिटालिटी क्षेत्रमा अब हामी सशक्तरूपमा उपस्थित भएका छौं,’ चौधरीले भने, ‘ताजजस्तो विख्यात ब्रान्डमा होटल सञ्चालन गर्न पाएकोमा हामी अत्यन्तै खुसी छौं।’ मुलुकको पर्यटनलाई अर्को तहमा पु-याउने प्रतिबद्ध जनाउँदै उनले सोही सोँचमा आधारित रहेर होटल तथा रिसोर्ट निर्माण गरिरहेको बताए।

यो होटल आगामी नोभेम्बर महिनामा उद्घाटन गर्ने लक्ष्य राखिएको चौधरीले जानकारी दिए। अहिले होटलमा आन्तरिक सजावटका काम भइरहेका छन् । होटलमा सुइटसहित एक सय ११ कोठा रहेका छन्।

इन्डियन होटल्स कम्पनी लिमिटेडका महाप्रबन्धक एवं कार्यकारी अधिकृत चटवालले चौधरी ग्रुपसँग साझेदार बन्न पाएकोमा खुसी व्यक्त गरे। ‘चौधरी ग्रुपजस्तो प्रतिष्ठित ग्रुपद्वारा प्रवद्र्धित आर एन्ड आर होटल्स एन्ड रिसोर्टसँग नयाँ होटलमा साझेदारी बन्न पाउनु गौरवको कुरा हो,’ चटवालले भने, ‘पर्यटकीय दृष्टिकोणले काठमाडौं प्रख्यात स्थान हो । यस साझेदारीले मेघौली सराईसँग टुरिस्ट सर्किटको रुपमा जोड्ने हाम्रो चाहना पूरा हुनेछ।’

होटलको १० औं तलामा ‘इन्फिनिटी स्विमिङ पुल’ निर्माण गरिएको छ। जुन नेपालका लागि नयाँ अनुभव सावित हुनसक्ने कार्यकारी निर्देशक चौधरीले बताए। त्यसैगरी, होटलमा २५ देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गरी ‘रुफटप बार’को व्यवस्था मिलाइएको उनले बताए। उक्त बारमा डिजे प्रस्तुतिसँगै विश्वमा उपलब्ध सबै प्रकारका मदिरा उपलब्ध हुने उनको भनाइ छ।

चौधरीका अनुसार होटलमा सुविधा सम्पन्न लबी, क्याफे, डाइनिङ लाउन्जको सुविधा उपलब्ध हुनेछ। बेसमेन्ट पार्किङ, फिट्नेस क्लब व्यावसायिक प्रयोजनका लागि छुट्टै बिजनेस सेन्टर, साउना, सैलुन, स्पालगायत सेवा होटलभित्रै व्यवस्था गरिएको उनले बताए।

चौधरी ग्रुप र ताजबीचको साझेदारीमा श्रीलंका, माल्दिभ्स, थाइल्यान्ड, दुबई र भारतमा विख्यात होटल एवं रिसोर्ट सञ्चालनमा रहेका छन्।

आर एण्ड आर होटल्स एन्ड रिसोर्ट सिजी हस्पिटालिटीको मुख्य लगानीमा स्थापना भएको कम्पनी हो। चौधरी ग्रुप फोब्र्स लिस्टमा पर्न सफल अर्बपति विनोद चौधरीको समूह हो। सिजी हस्पिटालिटीअन्तर्गत १२ देशका ७० स्थानमा ९५ भन्दा बढी होटेल, रिसोर्ट, लज र स्पा सञ्चालनमा रहेको जानकारी दिइएको छ । हाल सिजी गु्रपको मातहतमा सञ्चालित होटलको कोठा क्षमता पाँच हजार सात सय रहेको छ।

सन् २०२० सम्ममा सिजी हस्पिटालिटीको पोर्टफोलियोमा दुई सयभन्दा बढी होटल पु¥याउने लक्ष्य राखिएको छ। विभिन्न २० देशका एक सय स्थानमा पु-याउने ग्रुपको लक्ष्य छ। होटलको विस्तारसँगै कोठाको क्षमता १० हजार पुग्नेछ।

त्यस्तै, द इन्डियन होटल्स कम्पनी लिमिटेड र यसका सहायक कम्पनीले विभिन्न ब्रान्डसहित विश्वस्तरीय सेवा प्रदान गर्दै आएको छ। हस्पिटालिटी क्षेत्रमा परिचित ताज परिस्कृत ठूला होटेल तथा रिसोर्टको स्वामित्व भएको भिभान्त र बजेट होटेलको रुपमा परिचित जिन्जर ब्रान्ड रहेका छन्।

सन् १९०३ मा बम्बईमा स्थापना भएको ‘द ताजमहल प्यालेश’ यस कम्पनीको पहिलो होटल हो। टाटा गु्रपका संस्थापक जमशेदजी टाटाले उक्त होटल स्थापना गरेका थिए । हाल यस कम्पनीअन्तर्गत एक सय ७० होटल विश्वको चार महादेश, १२ मुलुक र ८० स्थानमा सञ्चालित छन् । त्यस्तै, २५ होटल निर्माणको चरणमा रहेका छन्।

बजार पुँजीकरणका आधारमा द इन्डियन होटल्स कम्पनी लिमिटेड दक्षिण एसियाको ठूलो कम्पनीमा पर्छ । कम्पनी भारतको बम्बई स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्जमा सूचीकृत रहेको छ।

प्रकाशित: १६ आश्विन २०७५ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App