६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

उडे निगमका चारै चिनियाँ जहाज

काठमाडौं – नेपाल वायुसेवा निगमका ‘वाई १२–ई’ सिरिजका चारवटै जहाजले सफल परीक्षण उडान गरेका छन् । ती जहाजले बुधबार हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा र जुम्लाको जुम्ला  विमानस्थलमा सफल परीक्षण उडान गरेका हुन्।

दुर्गम भेगको लागि उडान गर्ने भन्दै ल्याइएका १७ सिटका जहाज पाइलट अभावले विमानस्थलमै थन्क्याएर राखिएको थियो ।  हप्ता दिनअघि निगमका कार्यकारी अध्यक्ष बनेर आएका मदन खरेलले सबै जहाज उडाएर सेवा विस्तार गर्ने भन्दै ‘वाई १२–ई’ जहाजको सोमबारबाट परीक्षण उडान गराएका थिए।

‘सोमबारबाटै जहाजको परीक्षण उडान थालेका हौं,’ कार्यकारी अध्यक्ष खरेलले भने, ‘मंगलबार लुक्लाको सफल उडान परीक्षण गर्याैं । बुधबार भने चारवटै जहाजले दुर्गमका चार ठाउँमा सफल उडान परीक्षण गरेका छन् ।’ उनका अनुसार बुधबार ‘वाई १२–ई’ सिरिजका चार जहाजले हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको रारास्थित ताल्चा र जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरेका हुन्। 

‘हामीले सबै जहाजको सफल उडान परीक्षण गरिसकेका छौं,’ खरेलले भने, ‘अब नियमित व्यापारिक उडान सञ्चालन गर्ने तयारी थाल्छौं ।’ उनका अनुसार यी जहाजले व्यापारिक उडान दसैंअघि नै सुरु गर्नेछन् । पाइलटको व्यवस्था, उडान तालिका लगायत तयारी गरेर नियमित उडान थालिने निगमका कर्पोेरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठ जानकारी दिए । बुधबार भने चारवटै जहाज पालोपालो गरेर पाइलट आङनुरी शेर्पा र पाइलट उद्धव घिमिरेले उडाएका थिए । परीक्षण उडानमा निगमका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी सामेल थिए।

मंगलबार लुक्लामा गरिएको परीक्षण उडानमा पनि पाइलट शेर्पा र घिमिरेले नै जहाज उडाएका थिए । सोमबारै जहाजको परीक्षण थालिए पनि मौसमको कारणले लुक्लामा अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थलमा अवतरण गराइएको थियो । मंगलबार बिहान मौसम सफा भएपछि जहाज लुक्लामा अवतरण गरेको थियो । लुक्लाको सफल परीक्षण उडानपश्चात बुधबारै सोही सिरिजका अन्य जहाजको पनि परीक्षण उडान थालिएको हो । बुधबार बिहान ७ः१० बजेबाट चारवटै विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगन्ज विमानस्थल अवतरण गराउँदा दिउँसो १ बजेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

निगमले दुर्गम क्षेत्रका विमानस्थललाई लक्ष्य गरेर ‘वाई १२–ई’ सिरिजका जहाज चीनबाट चारवटा ल्याउने योजना बनाएको थियो । तीमध्ये पहिलो जहाज २०७१ कात्तिक १७ गते नेपाल आइपुगेको थियो । मंगलबार सोही जहाजमार्फत लुक्लाको सफल परीक्षण उडान भएको थियो । चार वर्षअघि ल्याइएका र पछिल्लो समयमा ल्याइएको चारवटै जहाज पाइलट, प्राविधिक कर्मचारी लगायतको अभाव देखाउँदै निगमले नियमित सञ्चालन गर्न सकेको थिएन।

चीनसँग चारवटा ‘वाई १२–ई’ सिरिजका जहाज खरिद सम्झौता गर्दा चीन सरकारले तीन अर्ब करोड रुपैयाँ बराबरको सहुलियत ऋण उपलब्ध गराएको थियो । त्यही क्रममा सुगम क्षेत्रको उडानका लागि ५८ सिटे दुईथान ‘९एमए–६०’ सिरिजका जहाज खरिद गर्ने निर्णय पनि गरेको थियो । गत वैशाखमा चिनियाँ जहाज निर्माताले काठमाडौंमा विशेष कार्यक्रम गरेर यी जहाज हस्तान्तरण गरेको थियो। 

पाइलटको अभावले यी दुई जहाज पनि ६ महिनादेखि विमानस्थलमै थन्किएर बसेका छन् । ‘वाई १२–ई’ जहाज उडानको लागि निगमले अहिले १२ जना पाइलटलाई प्रशिक्षण दिइरहेको जनायो । दसैंको अवसर पारेर यी जहाज उडाउने तयारी भइरहेको खरेलले बताए । निगमसँग भएका ‘वाई १२–ई’, ‘९एमए–६०’ र ट्विनटर जहाज पनि सञ्चालन गरिने उनले बताए । निगमसँग तीनमध्ये दुईवटा ट्विनअटर विमान मर्मतको क्रममा छन् । यी जहाज दसैंअघि नै मर्मत सकेर सञ्चालन गर्ने निगमको दाबी छ।

प्रकाशित: ११ आश्विन २०७५ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App