विराटनगर- पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४/७५ मा पूर्वको व्यापार घाटा २ खर्ब ५२ अर्ब पुगेको छ।
पूर्वमा निर्यातको तुलनामा आयात ह्वात्तै बढ्दा व्यापार घाटा चुलिएको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र विराटनगरका प्रमुख कृष्ण रेग्मीले बताए। रेग्मीले भने‘ खाद्यान्न, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थको आयात ह्वत्तै बढ्दा व्यापार घाटा उच्च हुन पुगेको हो।’ आर्थिक वर्ष ०७४/७५मा पूर्वका नाकाबाट २ खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँका बस्तु आयात भएका छन्। अघिल्लो वर्ष १ खर्ब ४७ अर्बको बस्तु तथा सेवा आयात भएको थियो। यो वर्ष आयातको तुलनामा न्यूनमात्रै निर्यात बढेको छ। आर्थिक वर्ष ०७३/७४को तुलनामा ०७४/७५मा ९३ प्रतिशतले आयात वढेको छ भने १६ प्रतिशतले मात्रै निर्यात बढेको छ । अघिल्लो वर्ष २६ अर्ब २९ करोड रुपैयाँको निर्यात भएकोमा आर्थिक वर्ष ०७४/७५मा झिनो मात्रामा बढेर ३० अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। पूर्वी नाकाबाट दाल, मल, चीनी,क्लीङकर,पेट्रोलियम,सुपारी,आइरन एण्ड स्ट्रील्स,मेशिनरीहरू,जनवरको वोसो,जिपसम लगायतका बस्तुको आयात उच्चदरले बढेको छ। पूर्वबाट सबै भन्दा बढी मूल्यको आइरन एण्ड स्ट्रील्सको आयात भएको छ। आर्थिक वर्ष ०७४/७५मा पूर्वी नाकाबाट ४४ अर्ब १९ करोड रुपैयाँको आइरन एण्ड स्ट्रील्स आयात भएको छ । यस्तै ३८ अर्ब ९६ करोड रुपैया“को पेट्रोलियम, मिल मेशिनरी १३ अर्ब २८ करोड,प्लाष्टीक १३ अर्ब ३० करोड,जनावरको वोसो तथा वनस्पती तेल ११ अर्ब ५८ करोड,सिमेन्ट क्लीङकर ११ अर्ब १२ करोड र रासायनिक मल १३ अर्ब ३० करोड रुपैयाँको आयात भएको छ।
पूर्वी नाकाबाट निर्यात भएका बस्तुहरूमा टेक्सटायल, आइरन एण्ड स्ट्रील्स,अलैची चिया लगायत रहेका छन् । पूर्वबाट सबै भन्दा बढी ६ अर्ब १६ करोड रुपैयाँको टेक्सटायल निर्यात भएको छ। यस्तै ४ अर्ब ८७ करोड रुपैयाँको आइरन एण्ड स्ट्रील्स, ४ अर्ब ६० करोडको अलैंची,३ अर्ब २ करोडको चिया, ४ अर्ब ९७ करोड रुपैयाँका जुटका सामान निर्यात भएको छ। पूर्वबाट कार्पेट, चाउचाउ, खुँदो, रुद्राक्ष दाना, चियाको पातलगायतका बस्तुको निर्यात भने अघिल्लो वर्षको तुलनामा घटेको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र विराटनगरले जनाएकोछ। सरकारले गरेको नितीगत परिवर्तनले पनि पूर्वी नाकाको व्यापार घाटा बढेको व्यपार तथा निकासी प्रब्रद्र्धन केन्द्र विराटनगरका प्रमुख रेग्मीले बताए। ‘तेस्रो मुलुकबाट आयात गरिएका बस्तुहरू रेलमार्ग हुँदै जोगवनीसम्म आउनु, क्लीङ्कर, सवारी साधन, रासायनिक मल पूर्वका नाकाबाट आयात हुन थाल्नु पनि व्यापार घाटा बढ्नुको कारण हो।’ यस्तै कृषिजन्य बस्तुमा पूर्वाञ्चल परनिर्भर बन्दैगएकाले पनि व्यापार घाटा बढाउन मद्धत गरेको रेग्मीले बताए।
प्रकाशित: २६ भाद्र २०७५ ११:४६ मंगलबार