६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

तलब भत्ताबाट विपन्नलाई सेयर

दोलखाको तामाकोसी गाउँपालिका–१ भीरकोटका वडाध्यक्ष महेश्वर काफ्ले। तस्बिर : नागरिक

दोलखा - जिल्लाको तामाकोशी गाउँपालिकाका एक वडाध्यक्षले आफ्नो दुई महिनाको तलब भत्ताको पारिश्रमिकले गाउँका अति विपन्न नागरिकलाई विद्युत् आयोजनाको सेयर किनिदिएका छन्।

तामाकोसी गाउँपालिका–१ भीरकोटका वडाध्यक्ष महेश्वर काफ्लेले आफ्नो वडाका १२ जना अति विपन्न नागरिकलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पाँच हजार रुपैयाँका दरले सेयर भरिदिएका हुन्।

दोलखाको लामाबगरमा स्वदेशी लगानीमा निर्माण हुँदै गरेको यो आयोजनामा साउन १५ देखि भदौ २१ गतेसम्म दोलखा जिल्लावासीले भर्न पाउने गरी स्थानीयवापत छुट्याइएको सेयर खुलाइएको थियो । स्थानीयका लागि न्यूनतम तीन हजार रुपैयाँ बराबरको ३० कित्ता देखि ३० हजार रुपैयाँ बराबरको तीन सय कित्ता भर्ने अधिकतम सुविधा तोकिएको थियो।

वडाध्यक्ष काफ्लेले आर्थिक अवस्था कमजोर भएका कारण सेयर भर्नबाट वञ्चित हुन लागेको देखेपछि पाँच हजारका दरले सेयर भरिदिएका हुन् । वडा कार्यालयको रेकर्डअनुसार उनले सेयर भरिदिएकाहरु गाउँका अति विपन्न परिवारका हुन् । काफ्लेले सेयर भरिदिएकाहरु प्रकाश विक, देवी माझी, सानिमायाँ माझी, बुद्धबहादुर आलेमगर, मायाँ काफ्ले, फुलमायाँ माझी, सम्झना माझी, कृष्ण माझी, दानबहादुर माझी, मेनुका विश्वकर्मा, कामना बिसी, बिष्णुमायाँ आलेमगर छन्।

उनको वडा भरीमा करिब पाँच हजार जनसंख्या छ । तीमध्ये अधिकांशले तामाकोसीको सेयर भरे । ‘प्रायः बृद्धबृद्धाले आफूले पाउने हैन किनेर के गर्नु भनेर भर्दै भरेनन्,’ काफ्लेले सुनाए, ‘चाहेर पनि अभावका कारण भर्न नसकिरहेकाहरुको आफैंले भरिदिएको हुँ ।’ वडाध्यक्ष काफ्लेले दुई महिनाको मासिक भत्तावापतको रकम विपन्नको सेयर खरिद गर्न खर्च गरेका हुन् । वडाध्यक्षले मासिक भत्तावापत मासिक २० हजार रुपैयाँ पाउँछन्।

उनले आफ्नो पारिश्रमिकवापतको रकम यसैगरी विपन्नकै नाममा खर्च गर्छन् । कांग्रेसबाट चुनाव जितेका २९ वर्षिया काफ्ले दोलखाका केही युवा वडाध्यक्ष्यमा पर्छन्।

यसअघि उनले माझी समुदायका अपांग दाजुभााईलाई १२ हजार रुपैयाँ खर्च दिएका थिए । त्यो उनलाई वडामा आएका एनजिओ र संघसंस्थाले बैठक र कार्यक्रम भत्तावापत दिएको रकम थियो । यस्तै उनले वडाकै मुटुरोगी टिकाबहादुर मिजारलाई २० हजार रुपैयाँ खर्च दिए र त्यो उनको वैशाख महिनाको पारिश्रमिक थियो । गाउँमै मान्छे मरेर सद्गद गर्ने खर्च नहुँदा विपन्न परिवारलाई पाँच हजार रुपैयाँ दिएका थिए।

काफ्लेका अनुसार निर्वाचित भएर कार्यभार सम्हाल्न थालेयता पाएको भत्ता र पारिश्रमिकवापत गरेर अब उनीसँग दुई लाख रुपैयाँ बाँकी छ । ‘यो बाँकी पैसा पनि क्षमता भइकन पनि उच्च शिक्षा अध्ययन गर्न नपाएका बालबालिकाका लागि खर्च गर्ने सोचमा छु,’ उनले भने।

काफ्लेले आफूले चुनावका बखत गरेको घोषणा कार्यान्वयन गरेको सुनाए । ‘चुनावका बखत तलब भत्ता जनताकै लागि खर्च गर्छु भनेर प्रतिज्ञा गरेको थिएँ,’ उनले भने, ‘त्यही पूरा गरेको मात्र हुँ।’

प्रकाशित: २६ भाद्र २०७५ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App