१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

पुष्प व्यवसायमा ६ अर्ब लगानी

काठमाडौं – सहरी क्षेत्रमा फूलको प्रयोग बढेसँगै पुष्प व्यवसाय फस्टाएको छ । अहिले पुष्प व्यवसायमा लगानी करिब ६ अर्ब रुपैयाँ पुगेको छ।

यो व्यवसायमा एक वर्षको अवधिमा करिब एक अर्ब लगानी थपिएको व्यवसायीले बताएका छन् । आर्थिक वर्ष ०७३÷७४ सम्म करिब पाँच अर्ब रुपैयाँ लगानी थियो।

नेपाली बजारमा वार्षिक दुई अर्ब रुपैयाँ बराबर फूलको कारोबार भएको पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफ्लेले बताए । ‘पुष्प व्यवसायमा ४० हजारभन्दा बढीले रोजगारी पाएका छन्,’ काफ्लेले भने । मुलुकका ४३ जिल्लामा करिब एक सय ५५ हेक्टर पुष्पखेती विस्तार भएको छ । कृषिमा कर लगाइनु न्यायोचित नहुने काफ्लेले बताए।

सोमबार काठमाडौंमा आयोजित फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) को २६ औं वार्षिक साधारणसभाको अवसरमा सो जानकारी दिइएको हो । फ्यानका अनुसार पुष्पखेतीका लागि सरकार र निजी क्षेत्रका पुष्प व्यवसायीको साझेदारीमा लगानी भएको छ । जिआई पाइपद्वारा करिब ४३ हजार पाँच सय ५० वर्गमिटर निर्मित युभी कोटेड ग्रिनहाउस निर्माण गरी व्यावसायिक फूल उत्पादन हुँदै आएको छ । फूल भण्डारणका लागि कोल्डरुम निर्माण गरिएको छ । कोल्डरुममा करिब तीन लाख ५० हजार स्टिम फूल भण्डारण गर्न सकिन्छ।

फ्यानको २६ साधारणसभामा प्रदेश ३ का कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले पुष्पखेतीको विकास र विस्तारका लागि सामुदायिक वन, सार्वजनिक र पर्तिजग्गा उपयोगमा ल्याइनुपर्ने बताए । ‘पुष्पखेतीको विकासका लागि सामुहिक खेती आवश्यक छ,’ उनले भने, ‘ फूल उत्पादन अन्तर्राष्ट्रिय बजारसमेत प्रतिस्पर्धी हुनुपर्छ।’

कृषि मजदुरको अभाव रहेको विद्यमान अवस्थामा कृषियन्त्रीकरणमार्फत उत्पादन बढाउन सकिने उनले बताए । प्रदेश ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव विजयचन्द्र झाले  पुष्प व्यवसायको प्रवद्र्धनका लागि सघाउने प्रतिबद्धता जनाए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पुष्पखेती महंगो हुँदै गएको भन्दै पुष्प व्यवसायको प्रवद्र्धनका लागि सरकारी जग्गामा लिजमा उपलब्ध गराउनुपर्ने बताए।

फ्यानका महासचिव मीनबहादुर तामाङले पुष्प व्यवसाय प्रवद्र्धनका लागि सहुलियत व्याजदरमा कर्जा उपलव्ध गराउनुपर्ने बताए । अधिवेशनले फ्यानको अध्यक्षमा पुनः कुमार कसजु श्रेष्ठलाई चयन गरेको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App