४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कालीगण्डकी करिडोर चार महिनापछि खुल्यो

गुल्मी - राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर चार महिनापछि खुलेको छ। करिडोर अन्तर्गतको रिडी-रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडा बनाएपछि सोमवारदेखि उक्त सडक खुलेका हो। गत बैशाख २० गतेदेखि नेपाली सेनाले खन्न शुरु गरेका उक्त खण्डको ८ किलोमिटरको सडकलाई १० मिटर चौडा पारिएको छ। सोमवार नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त सडक खण्डकाे शुभारम्भ गरे।  साे अवसरमा बाेल्दै मन्त्री ज्ञवालीले तोकिएकै समयमा नेपाली सेनाले सडक चौडा पार्ने काम सम्पन्न गरेकोमा सेनालार्इ धन्यवाद ज्ञापन गरे। उनले भने ‘राष्ट्रिय गौरवको आयोजना भएकाले यस सडकमा छिट्टै कालोपत्रे लगायतका अन्य कार्य सम्पन्न हुन्छ।’

सडक निमार्ण गर्ने जिम्मा नेपाली सेना कालीगण्डकी करिडोर निमार्ण कार्यदलले पाएको थियो। सडक चौडा पार्ने कामको जिम्मा पाएको नेपाली सेनाले तोकिएकै समयमै काम पुरा गरेको हो। कालिगण्डकी करीडोर अन्तर्गतको रिडी रुद्राबेनी खण्डलाई सेनाले १० करोडमा जिम्मा लिएको थियाे। बैशाखदेखि सडकको निमार्ण कार्य शुरु गरिएपछि उक्त सडकखण्ड भएर आवत–जावत गर्ने सवारीका साधनहरु लामो र वैकल्पिक सडक भएर आफ्नो गन्तब्यमा पुग्ने गरेका थिए। सडक खण्ड बन्द हुँदा त्यस क्षेत्रका सर्वसाधारणहरुले जिल्लाको सदरमुकाम तम्घास तथा छिमेकी जिल्ला स्याङजाको लामो सडक प्रयोग गरिरहेका थिए। उक्त सडक जिल्लाकै अति ब्यस्त र सबैभन्दा बढी सवारीका साधन आवतजावत गर्ने सडक हो।

यता करिडोर निमार्ण कार्यदलका प्रमुख इन्जिनियर प्रमुख सेनानी रेश्मीराज भट्टराईका अनुसार स्थानीय लगायत सवैको सहयोगले सडक समयमै सम्पन्न गर्न सहयोग पुगेको बताए। 'सडक चौडा पार्ने काम नेपाली सेनाले मात्र चाहेर समयमै सम्पन्न गर्न सकिदैनथ्यो' उनले भने ‘सवैको साथ र सहयोगले ४ महिनामा ८ किलोमिटर सडक चौडा भएको हो।’ उनका अनुसार यसभन्दा अगाडि उक्त सडक ७ मिटरको रहेको थियो। कालीगण्डकी करिडोर अन्तर्गत रिडी पालुङ्गखोला खण्ड ४२ किलोमिटर र बाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोला ३८  किलोमिटर गरि करिव ८० किलोमिटर सड्कको ट्रयाक सेनाले नै खोलेको थियो। यस्तै सोमवार नै रुद्रवेणीदेखि थप १० किलोमटिर सडक चौडा गर्न नेपाली सेनालाई जिम्मा दिइएको छ। परराष्ट्र मन्त्री ज्ञवालीले रुद्रवेणीमा सडकको चौडाई पार्ने कामको शिलान्यास गरेका छन।  शिलान्यास गर्दै मन्त्री ज्ञवालीले नेपाली सेनाले तोकिएकै समयभित्र उक्त सडकखण्ड निर्माण सम्पन्न गर्नेमा आफु आशावादी रहेको बताए। 

 

प्रकाशित: २५ भाद्र २०७५ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App