१ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

असोज ९ र १० मा अन्तर्राष्ट्रिय स्तरको बिमा सम्मेलन हुने

काठमाडौं – असोज ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय स्तरको बिमा सम्मेलन हुने भएको छ । विकासशील राष्ट्रका बिमा र पुनर्बिमा कम्पनीहरुको संगठन (एआइआरडिसी), बिमा समिति र नेपाल बिमक संघले संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गरेका हुन्।

यसअघि सन् २००० मा नेपालमा यस्तै सम्मेलन आयोजना गरिएको थियो । त्यसपछि पुनः सम्मेलन आयोजना गर्न लागिएको हो । सन् २०१६ मा बहराइनमा भएको सम्मेलनले आगामी सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको थियो।

प्रत्येक दुई वर्षमा हुने यस किसिमको सम्मेलनले प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उपायको खोजी गर्न र त्यस अनुसारको नीति निर्माण गर्न सहयोग पुग्ने बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। 

उक्त २१औं सम्मेलन दुई दिनसम्म सोल्टी होटलमा हुने भएको हो । सम्मेलनमा विदेशी मुलुकबाट करिब एक सय ५० जनाले सहभागिता जनाउँदै छन् । स्वदेशी तथा विदेशी गरी पाँच सयको सहभागिता रहने नेपाल बिमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दिपप्रकाश पाण्डेले जानकारी गराए। 

सम्मेलनमा बिमा क्षेत्रका नियामक निकायका प्रतिनिधि, विदेशी बिमा विज्ञ, बिमा क्षेत्रसँग सम्बन्धित सरोकारवाला सहभागी हुनेछन् । बिमासम्बन्धी विज्ञहरुले आठवटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको एआइआरडिसीका उपाध्यक्ष  तथा नेपाल बिमक संघका पूर्वअध्यक्ष विजयबहादुर शाहले जानकारी दिए । ‘वातावरण परिवर्तनले पारेको प्रभाव, मानिसले निम्त्याएको दुर्घटना र बढ्दो साइबर जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे छलफल हुने छ,’ उनले भने, ‘ज्ञानको आदानप्रदान गर्नका लागि यो उपयुक्त अवसर हुने छ।’

सम्मेलनमार्फत पुनर्बिमा कम्पनीले आफ्नो व्यावसायिक दायरा बढाउन सक्नेछन् । सम्मेलनमा बिमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिनेछ भने विपद् जोखिम व्यवस्थापनसम्बन्धी विषयलाई सम्मेलनको मुख्य अजेन्डा बनाइएको छ । उक्त सम्मेलनमा १५ देखि २० देशका प्रतिनिधि सहभागी हुने भएका छन्।

नेपालमा भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले बर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुँदै आएको छ । २०७२ को भूकम्प र बर्सेनि आउने बाढी तथा पहिरोले आमजनता प्रभावित बनेका छन् भने राष्ट्रले पनि ठूलो दायित्व बेहोर्दै आउनु परेको छ । नेपालमा यस्ता सम्पत्तिको बिमा कम हुने गरेको छ।

सम्मेलनमा हुने आर्थिक खर्चको व्यवस्थापन बिमा समिति र नेपाल बिमक संघले गर्ने बताइएको छ । अहिले नेपालमा वार्षिक ७३ अर्बको कारोबार बिमा कम्पनीले गर्दै आएका छन् । गत आर्थिक वर्षमा निर्जीवन कम्पनीले २२ अर्ब र जीवन बिमा कम्पनीले ५१ अर्बको कारोबार गरेको बिमा समितिका अध्यक्ष चापागाईले जानकारी दिए।

 

प्रकाशित: २५ भाद्र २०७५ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App