पाल्पा - मरेका जनावर राखिदिने गिद्धे रेस्टुरेन्टमा गिद्ध आउन छाडेका छन् । आहराको कमीका कारण गिद्ध रेस्टुरेन्टमा गिद्ध आउन छाडेका हुन् । जिल्लाको तानसेन नगरपालिका–९ मदनपोखराको अधेंरी छरछरे सामुदायिक वनमा गिद्धे सीमल छ । जहाँ वर्षौअघिदेखि गिद्ध बस्दै आउने गर्दथें।
पछिल्लो समय गिद्ध लोपोन्मुख भएपछि स्थानीयले गिद्धे सीमललाई संरक्षण गर्दै आएका छन्। गाउँलेहरु मरेका जनावर उठाएर सीमलको नजिकै राखिदिन्थे । केही समयअघिसम्म गिद्धहरू मरेका जनावर खाइरहेका देखिन्थे । तर, पछिल्लो समय गिद्धे सीमलमा गिद्ध देखिन छाडेका छन् । यो रेस्टुरेन्ट लोपोन्मुख गिद्धको संरक्षणका लागि स्थानीय प्रयासमा सञ्चालित छ।
मरेपछि मिल्काइने जनावरका सिनो खाएर गिद्धले वातावरण सफा राख्न सघाउँछ । यस्तो जानकारी पाएपछि आफूहरु गिद्धे सीमलको संरक्षणमा लागेको स्थानीय बुद्धराज बस्याल बताउँछन् । ‘दशकयता मरेका जनावर जंगलमा लगेर राखिदिने गरेका छौं । पहिलेभन्दा गिद्धको संख्या निकै कमी आएको छ। टाढाटाढाबाट सीनो उठाउन खबर आउँछ । तर, हामी खर्चका कारण जान सक्दैनौं । नजिकको सीनो भने उठाएर लैजाने गरेका छौं,’ उनले भने, ‘गिद्ध रेस्टुरेन्टकै रुपमा जंगललाई विकास गरिए पनि खाने कुराको अभावमा गिद्ध देखिन छाडेका छन् ।’ पहिले सीने गाड्ने र सिमलका अग्ला रूख काट्ने चलनले गिद्ध निरन्तर संकटमा पर्दै गएका थिए । पछिल्लो समय देखिएका गिद्ध पुनः देखिन छाडेको उनको भनाइ छ । २०६४ मा स्थानीयले सीमलका रुख संरक्षण गरेका छन् । रुख नजिकै पोखरी खनेका छन्।
मरेका पशुचौपाया रुख नजिकै लगेर राखिदिने गरेका छन्, जसलाई गिद्ध रेस्टुरेन्टका रुपमा स्थानीयले बुझ्दै आएको मनोज बस्यालले बताए । उनले भने, ‘गाउँमा राम्रो संस्कार बसेको छ । तर गिद्ध आएनन् । त्यसकै लागि सीमल पनि संरक्षित भएका छन्।’
घरपालुवा जनावरमा दुखाइ कम गर्ने औषधि ‘डाइक्लोफेनेक’ प्रयोग गर्दा पनि गिद्ध संकटमा परेको हो । ‘संसारभर गिद्ध २३ प्रजातिका पाइन्छन् । तीमध्ये दक्षिण एसियामा पाइने नौ प्रजातिका सबै नेपालमा पाइन्छन्, पंक्षी संरक्षण संघका प्रतिनिधी अंकित जोशीले भने, ‘उक्त औषधि चलाइएका जनावर मरेर तिनको सिनो खाँदा गिद्धको पाचन प्रणाली बिग्रेर मर्ने संरक्षणकर्मीले पत्ता लगाए । हिजोआज सरकारले डाइक्लोफेनेक प्रयोगमा रोक लगाएको छ। १२ वर्षअघि नवलपरासीको पिठौलीमा नेपाल पक्षी संरक्षण संघको सहयोगमा समुदायसँगको सहकार्यमा सुरु गरिएको जटायु रेस्टुरेन्ट गिद्ध संरक्षणको प्रयासमा संसारकै उत्कृष्ट मोडल भएको छ।’ जोशीले सडेगलेको मासुमात्र खाएर बाँच्ने प्रकृतिको कुचिकार मानिसकै कारण लोपोन्मुख अवस्थामा पुगेको बताए । चितवन राष्ट्रिय निकुञ्ज कसराको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा १३ वटा डंगर प्रजातिका गिद्धका चल्लालाई कृत्रिम वासस्थानमा हुर्काउने काम भइरहेको र ६ चल्ला हुर्काएर प्राकृतिक वासस्थानमा छाडिएको उनी बताउँछन्।
अधेरीं छरछरे सामुदायिक वन नेपालकै उत्कृष्ठ सामुदायिक वन हो । यहाँ डंगर, सानो खैह्रे, सुनगिद्ध, लामो ठुँडे र राज गिद्ध पाइन्थे । जाडो समयमा यहाँ हिमाली भेग र अन्य देशबाट समेत गिद्ध आउने गरे पनि आहराको कमीका कारण गिद्ध देखिन छाडेपछि स्थानीय दुःखी भएका छन् । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्व भएको रिभरभ्याली स्कुलका प्रधानाध्यापक मीनप्रसाद बञ्जाडेले बताए । उनी भन्छन्, ‘हिन्दू धर्ममा गिद्धलाई शनि देवताको बहानको रुपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावणले सीतालाई हरण गरी लंका लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बतीयन मूलका लामा समुदाय आफन्तको शव गिद्धलाई खुवाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रुपमा पुज्ने गर्छन्।
यसर्थ गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक मात्र नभई कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर पनि हो ।’ दिव्यज्योती माविका प्रचार्य नारायणप्रसाद अधिकारीले मानिसकै क्रियाकलापका कारण गिद्ध लोप भएको बताए । हामी पशुलाई बुढो भएर मर्न दिँदैनौं । ठूलो रुखहरु हटाएर प्रयोग गर्छौं । त्यसैले गिद्ध आउन छाडे, अधिकारीले भने । एउटै सिनो र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग गर्ने गिद्धहरु अग्ला बलिया रुख र चट्टानी पहराहरुमा गुँड बनाई मानववस्ती वरपर बस्न रुचाउँछन् । मानिस भन्दा आठगुणा टाढासम्म देख्ने गिद्ध सिनोको खोजीमा तीनसय किमी टाढासम्म उड्छन्।
गिद्धहरु औषत तीन दिनमा एक केजी सिनो खाने गर्छन् । यस हिसाबले यउटा गिद्धले मात्र पनि एक वर्षमा १२० केजी सिनोको खपत गर्दछ । आजीवन जोडी बनाउने गिद्धले गुँड निर्माण, बच्चा कोरल्ने र हुर्काउने काम दुवै भाले पाथीको साझेदारीमा सम्पन्न गर्दछन् । गिद्धले एक वर्षको एक प्रजनन अवधिमा एउटा मात्र फूल पार्दछ भने प्रजनन् कार्य कार्तिकदेखि सुरु भई जेठ महिनामा सम्पन्न हुन्छ । करीव डेढ दशक अघिसम्म तपाई हाम्रो गाउँ टोलमा पनि सयाैंको संख्यामा गिद्ध सिनोमा लुछाचुँडी गरीरहेका सहजै भेटिन्थ्यो । तर आज ती दृश्य दुर्लभ भएका छन् र यत्रतत्र सर्वत्र पाईने गिद्धहरु जीवन अस्तित्व समाप्तीको किनारामा छन् । गिद्ध देख्न पाउनु सौभाग्य जस्तै हुन थालेको स्थानीय बताउँछन्।
प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाईन्छ । १० औं गिद्ध दिवसको अवसरमा पाल्पामा पनि विद्यालय स्तरीय संरक्षण शिक्षामुलक प्रतियोगिताहरु, गिद्ध तस्वीर तथा चित्रकला प्रर्दशनी सम्पन्न भएको छ । अधेंरी छरछरे वनमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत दधिलाल कंडेलले धार्मिक र सांस्कृतिक महत्व बोकेका प्रकृतिको अभिन्न अङ्ग गिद्धको संरक्षण अत्यावश्यक भएको बताए । अधिकृत कंडेल भन्छन्, ‘अहिले गिद्ध संरक्षणको लागि केही सकारात्मक पहल र प्रयासहरु भएका छन् । गिद्ध संरक्षणको लागि बिभिन्न जिल्लामा जटायु रेष्टुरेण्टहरु स्थापना गरेर गिद्धको आहारा ब्यवस्थापन गरिएको छ भने देशका २१ जिल्लालाई डाईक्लोफेनेक मुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । पाल्पा जिल्लालाई पनि २०६५ सालमा डाईक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएको छ ।’ गिद्धहरुलाई प्रयाप्त आहाराको ब्यवस्था गर्न सक्ने हो भने पाल्पा जिल्लाको खालीवन, मदनपोखरा, तानसेनको बतासेडाँडा क्षेत्र, कचल, माथागढी आदि क्षेत्रमा गिद्ध संरक्षणको प्रयाप्त सम्भावना रहेको कंडेलले बताए।
दैनिक सय किलोमिटर हाराहारी उड्न सक्ने गिद्ध प्रकृतिमा ठूलो आकारका हुने चरामध्येको एक हो । नेपालमा पाइने सारसपछिको ठूलो चरा गिद्ध हो । गिद्ध शिकारी चरा समूह अर्न्तगत पर्ने ठूला मांसहारी पंंक्षी हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्ग्न्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । गिद्धहरूले विभिन्न हानीकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन्।
गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र विक्रीमा प्रतिबन्ध लगाएको छ । त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्रिवितरण शुरु गरेको छ । सन् २००६ मा स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ताको सक्रिय सहभागितामा नवलपरासीको पिठौलीमा एशियाकै पहिलो समुदायस्तरको जटायु (गिद्ध) रेस्टुरेन्ट खोलियो । यसरी खोलिएका जटायु रेस्टुरेन्टमा गौरक्षा केन्द्रहरु छन्, जहाँ बृद्ध, असक्त र बेकामी गाईवस्तुहरु किसानहरुबाट संकलन गरी पालनपोषण गरिन्छ । खासमा गौरक्षा केन्द्र पशुहरुको वृद्धाश्रम हो । तिनीहरुको प्राकृतिक मृत्युपश्चात निश्चित स्थानमा गिद्धहरुको आहाराका लागि राखिन्छ र गिद्धहरु आई खान्छन्।
प्रकाशित: १८ भाद्र २०७५ ०५:५७ सोमबार