मदुई (बाँके) - राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्। राप्तीको तल्लो तटीय क्षेत्रमा नदीले केही दिनयता दिनहुँजसो जमिन कटान गरिरहेको छ। अहिलेसम्म सयौं बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको स्थानीयवासी बताउँछन्। बलियो तटबन्ध निर्माण नगरिँदा नदीले कटान गरिरहेको उनीहरुको भनाइ छ।
यहाँका स्थानीयवासी एवं पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले राप्ती नदीले विशेषगरी राप्तीसोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, सम्शेरगन्ज र राजपुरमा सयौं बिघा खेतीयोग्य जमिन कटान गरेको जानकारी दिए। सरोकारवाला निकायले चासो नदिँदा कृषियोग्य जमिन नदीको कटानमा परिरहेको उनले बताए।
‘नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयलाई हामीले आग्रह गर्दै आएका छौं। उसले अहिलेसम्म चासो नै दिएको छैन,’ भण्डारीले भने, ‘नदीले दिनहुँ तीव्ररुपले जमिन कटान गरिरहेको छ । किसानले धान र मकै लगाएको खेतबारी काटिरहेको छ।’ राप्तीपारि बैजापुर, बिनौना क्षेत्रमा तटबन्ध निर्माण भएपछि राप्ती नदीको भंगालो कचनापुर क्षेत्रतिर फर्केर कटान गर्न थालेको स्थानीयको भनाइ छ । ‘स्थानीय सरकारको रुपमा अहिले गाउँपालिका छ । गाउँपालिकाले राप्ती नदी नियन्त्रणका लागि आफूसँग पर्याप्त बजेट नभएको बताउँछ,’ भण्डारीले भने ‘नदी नियन्त्रण गर्ने काम कसको हो त?’
जनताको तटबन्ध कार्यालयले जिल्लाको केही स्थानमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिरहेको छ । कार्यालयले प्रभावित क्षेत्रभन्दा पहुँचको आधारमा तटबन्ध योजना दिने गरेको स्थानीयको आरोप छ । दक्षिणतिरबाट राप्ती नदीले कटान गर्दै जाँदा गाउँ नै जोखिममा परेको वडा नम्बर २ का वडाध्यक्ष मदन ओलीले बताए। ‘राज्यले यही ठाउँबाट नदीजन्य पदार्थ संकलन गरेर करोडौं राजस्व उठाउँछ । तर, नदी नियन्त्रणका लागि तटबन्ध बनाउँदैन,’ वडाध्यक्ष ओलीले भने, ‘यहाँका जनता वर्षाैंदेखि राप्ती नदीबाट पीडित छन् । सरकारले अहिलेसम्म कुनैपनि तटबन्धको योजना दिएको छैन ।’ आफ्नो वडामा पर्ने अगैयादेखि राजपुरसम्मको करिब २८ किलोमिटर क्षेत्रलाई राप्ती नदीले कटान गर्दै आएको उनले बताए।
अर्का स्थानीय रामदास थारुले राप्ती नदीको कटान नरोकिए मानव बस्तीसमेत जोगाउन कठिन हुने बताए । ‘नदीले अहिलेसम्म खेतीयोग्य जमिन कटान गरिरहेको छ । कटान नरोकिए यहाँको बस्ती नै बगाउने खतरा छ,’ उनले भने । कटान गरेर नदी गाउँनजिक आइसकेको स्थानीयवासी बताउँछन् । जनताको तटबन्ध कार्यालयले नदिपारिको क्षेत्रलाई मात्र आफ्नो प्राथमिकतामा राखेको उनीहरुको गुनासो छ । अर्का स्थानीय तप्त पौडेलले राप्तीपारिको क्षेत्रमा मात्र तटबन्धन गरिएको बताए । ‘राप्तीपारिमात्रै तटबन्ध बनाउने काम भयो । यतातिर तटबन्ध बनाइएन,’ पौडेलले भने, ‘सयौं बिघा खेतीयोग्य जमिन कटान भइसक्यो । हाम्रो पीडा सुनिदिने निकाय कोही भएन ।’ राप्तीले विगत चार वर्षदेखि धार परिवर्तन गरेर कटान गर्न थालेको उनले स्मरण गरे।
राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री राप्ती नदीले धेरै ठाउँमा कटान गरेकाले गाउँपालिकाको एक्लो बजेटबाट मात्र नदी नियन्त्रण गर्न सम्भव नभएको बताउँछिन् । ‘गाउँपालिकाको सबै बजेट खर्च गर्दापनि नदी नियन्त्रण गर्न सम्भव छैन,’ उनले भनिन्, ‘राप्ती नदी नियन्त्रणका लागि संघीय सरकारले नै ठूलो आयोजना बनाउनुपर्छ ।’ राप्ती नदी नियन्त्रण आयोजना बनाएर सोही आयोजनामार्फत नदी कटान नियन्त्रणको काम गर्नुपर्ने उपाध्यक्ष खत्रीको भनाइ छ।
प्रकाशित: १ भाद्र २०७५ ०३:४८ शुक्रबार