१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पुँजी बढाउने समय थप्न बिमा कम्पनीको माग

काठमाडौं - बिमा समितिले गत असार मसान्तभित्रै जीवन बिमा कम्पनीले दुई अर्ब र निर्जीवनले एक अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । उक्त अवधिभित्र चुक्ता पुँजी पुर्याउन नसकेका बिमा कम्पनीले थप समय माग्दै बिमा समितिमा धमाधम निवेदन दिँदै आएका छन्।

बिमा समितिले पुँजी वृद्धि गर्न नसक्नुको उचित कारणसहितको निवेदन दिएमा तीन महिना म्याद थप्न सक्ने व्यवस्था छ । त्यस अवधिमा पनि पुँजी पुर्याउन नसक्ने बिमा कम्पनीलाई पुनः तीन महिना म्याद थप्न सकिने व्यवस्था ऐनमा भएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बुधबार नागरिकलाई बताए । ‘असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउन नसकेकाले धमाधम म्याद थपिदिन माग गर्दै निवेदन दिइरहेका छन्,’ उनले भने, ‘म्याद थप गर्ने समय अझै ६ महिनासम्म रहेकाले अहिले नै चुक्ता पुँजी पुर्याएनन् भन्न मिल्दैन।’

हाल सञ्चालनमा रहेका ३८ बिमा कम्पनीले चुक्ता पुँजी पुर्याउने योजनासहितको खाका बिमा समितिमा बुझाइसकेका छन् । दुईपटक म्याद थपेर ६ महिनाभित्र चुक्ता पुँजी पुर्याउने प्रतिबद्धता उनीहरुले व्यक्त गरेको जानकारी पनि अध्यक्ष चापागाईंले दिए ।‘अहिले सम्म १७–१८ वटा बिमा कम्पनीले चुक्ता पुँजी पुर्याइसकेका छन्,’ उनले भने, ‘बाँकी बिमा कम्पनीले पनि पुस मसान्तसम्म चुक्ता पुँजी पुर्याउने योजना पेस गरेका छन्।’

बिमा समितिले म्याद थप गरेरै भए पनि पुस मसान्तभित्र चुक्ता पुँजी पुर्याउनै पर्ने बाध्यात्मक व्यवस्था गरेको छ । त्यस अवधिभित्र पनि चुक्ता पुँजी नपुर्याउने बिमा कम्पनीलाई कारबाही गरिने अध्यक्ष चापागाईंले बताए ।नियमनकारी निकाय बिमा समितिले पछिल्लोपटक एकैचोटि बिमा व्यवसाय सञ्चालन गर्न अनुमति दिएका १२ वटा बिमा कम्पनीको चुक्ता पुँजी पुग्ने गरी योजना पेस गरेकाले स्वीकृति दिइएको अध्यक्ष चापागाईंले बताए ।

पुराना ५–६ कम्पनीले पनि चुक्ता पुँजी बढाइसकेको उनले जानकारी दिए । ‘सञ्चालनमा आएकामध्ये करिब आधा बिमा कम्पनीले चुक्ता पुँजी वृद्धि गरिसकेका छन्,’ उनले भने, ‘बाँकी रहेका ५० प्रतिशत बिमा कम्पनीले पनि चुक्ता पुँजी बढाउने योजनामा छन् ।’किसानलाई असार–साउनमा खेती लगाउन हतारो भएजस्तै बिमा कम्पनीलाई यति बेला चुक्ता पुँजी बढाउने चटारो छ । बिमा समितिले पुसभित्र चार गुणासम्म चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्।

६ महिनाभित्र बिमा समितिले तोकेको मापदण्ड अनुसार चुक्ता पुँजी पुर्याउनैपर्ने बाध्यात्मक व्यवस्था गरेपछि बिमा कम्पनीहरु त्यसको तयारीमा जुटेका छन् । नियमनकारी निकायले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि बिमा कम्पनीले पुँजी वृद्धिको लक्ष्य तय गरेका हुन् । यसका लागि उनीहरुले बोनस र हकप्रद सेयरको योजना बनाएका छन् ।६ महिनाभित्र बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन आफूहरुलाई कुनै समस्या नरहेको एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘पुस मसान्तसम्ममा बिमा समितिले तोकेको चुक्ता पुँजी पुग्छ,’ ती प्रमुख कार्यकारी अधिकृतले भने, ‘हामीलाई चुक्ता पुँजी पुर्याउन समस्या छैन ।’

६ महिनाभित्र एक–दुईवटा बिमा कम्पनी बाहेक अरुलाई चुक्ता पुँजी पुर्याउन समस्या नहुने देखिएको बिमा समितिको भनाइ छ । ‘पुस मसान्तसम्म प्रायः सबैले चुक्ता पुँजी पुर्याउने जानकारी बिमा समितिलाई दिएका छन्,’ उनले भने, ‘चुक्ता पुँजी बढाउने दौडमा सबै बिमा कम्पनी लागेका छन् ।’पुँजी पुर्याउन बिमा कम्पनीले दुई विकल्प– बोनस र हकप्रद सेयर अगाडि सारेका छन् । बोनस सेयर दिन नसक्नेले हकप्रदको बाटो अपनाएका हुन्।

बिमा समितिले चुक्ता पुँजी नपुर्याउञ्जेल बिमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाइसकेको छ । बिमा समितिले कर प्रयोजनबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था सहितको निर्देशन जारी गरिसकेको छ ।
पुस मसान्तसम्म तोकिएको चुक्ता पुँजी नपुर्याउनेलाई के कस्तो कारबाही गर्ने भन्ने सम्बन्धमा भने बिमा समिति मौन छ । ‘अझै ६ महिना चुक्ता पुँजी पुर्याउने समय भएकाले पनि काराबाहीको कुरा गरेका छैनौं,’ बिमा समितिका एक उच्च कर्मचारीले भने, ‘अन्तिममा नपुर्याउनेलाई कारबाही हुने नै छ तर, अहिले नै कारबाहीको विषयलाई प्राथमिकता दिएका छैनौं।’

यसअघि बैंक तथा वित्तीय संस्थाले जस्तै बिमा कम्पनीलाई पनि मर्जरमा जान भनिएको थियो । तर, मर्जरमा जान कोही बिमा कम्पनी तयार नभएपछि मर्जरको बाटो बन्द भएको विज्ञहरुको भनाइ छ ।अहिले सञ्चालनमा रहेका ३८ बिमा कम्पनीमा १९ जीवन र त्यत्तिनै निर्जीवन छन् ।हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५० करोड र निर्जीवनको २५ करोड रुपैयाँ छ । अधिकांश बिमा कम्पनीले चुक्ता पुँजी बढाउन नगद लाभांशभन्दा बोनस सेयरमा प्राथमिकता दिएका छन् । अहिलेकै चुक्ता पुँजीमा रहेर अगामी दिनमा व्यवसाय गर्न नसकिने र यसका लागि पुँजी बढाउनुको विकल्प नभएको बिमा कम्पनीका सञ्चालक बताउँछन्।

व्यवसायको आकार बढ्दै गएपछि चुक्ता पुँजी बढाउनु आवश्यक भए पनि केही बिमा कम्पनीलाई बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन समस्या हुने विज्ञको भनाइ छ ।सार्क स्तरमै नेपालमा बिमा कम्पनीको चुक्ता पुँजी कम भएकाले बढाउनुपर्ने स्थिति आएको बिमा समितिको भनाइ छ । तर, छोटो अवधिमा नै बिमा समितिले तोकेको चुक्ता पुँजी पु¥याउन केही बिमा कम्पनीलाई भने फलामे चिउरा साबित हुनेछ ।
 

प्रकाशित: १८ श्रावण २०७५ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App