५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

१८ वर्षपछि वाणिज्य बैंकको सेवा सुचारु

रामेछाप – राष्ट्रिय वाणिज्य बैंकको साँघुटारस्थित शाखा करिब १८ वर्षपछि पुनः सञ्चालनमा आएको छ । बुधबार प्रदेश ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त शाखाको उद्घाटन गरे।

जिल्लाको पुरानो व्यापारिक केन्द्रमा रहेको उक्त शाखा तत्कालीन माओवादी द्वन्द्वका कारण उठेको थियो । वि.सं. २०३३ सालमा स्थानीय अगुवा बद्रीदाश भौकाजी लगायत व्यक्तिको पहलबाट बैंकले सो क्षेत्रमा शाखाकै रुपमा कारोबार गर्दै आएको थियो । सेवा प्रवाह भइरहेको अवस्थामा बैंकले असुरक्षाका कारण ०५७ सालबाट शाखा बन्द गरेको थियो । बैंकको सेवा पुनः सुरु हुँदा स्थानीयमा खुसी छाएको साँघुटार स्वास्थ्य चौकीका इन्चार्ज मदन भौकाजीले बताए । उनले उक्त स्थानमा ०३३ सालअघि पनि राष्ट्र बैंकको सटही काउन्टर सञ्चालनमा रहेकोे जानकारी दिए।

शाखाबाट हालको लागि कर्जा प्रवाहवाहेक रकम जम्मा गर्ने र भुक्तानीको सेवा उपलब्ध हुने शाखाका प्रबन्धक सुन्दर सुवालले जानकारी दिए । शाखाबाट तत्कालका लागि बढीमा नौ लाख नौ हजार नौ सय ९९ रुपैयाँ मात्र भुक्तानी गर्ने गरी सीमा तोकिएको उनले बताए । थप सेवा क्रमशः बढाउँदै लगिने उनले बताए ।
 

प्रकाशित: १७ श्रावण २०७५ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App