१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

वैदेशिक लगानी प्रतिबद्धता २६६ प्रतिशतले वृद्धि

काठमाडौं - ऊर्जामूलक परियोजनामा लगानी ओइरिँदा मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धता २६६ प्रतिशतले बढेको छ । वैदेशिक लगानी दर्ता गर्ने उद्योग विभागको तथ्यांक अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष ४० अर्बभन्दा धेरैको प्रतिबद्धता आएको छ।

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७४÷७५ मा ५५ अर्ब ६४ करोड ५६ लाखभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । त्यसअघिको वर्ष ०७३÷७४ मा यस्तो प्रतिबद्धता १५ अर्ब २० करोड ६४ लाख थियो।
दुईवटा आर्थिक वर्षपछि मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धता ह्वात्तै बढेको हो ।

आर्थिक वर्ष ०७१-७२ मा अहिलेसम्मकै सबैभन्दा धेरै ६७ अर्ब ४५ करोड ५० लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।यस वर्ष जलविद्युत्, सिमेन्ट जस्ता ठूला परियोजनामा लगानी ओइरिँदा वैदेशिक लगानी प्रतिबद्धता ह्वात्तै बढेको देखिन्छ । विभागको सूचना अधिकृत दुर्गाप्रसाद भुसालले पनि ठूलो परियोजन धेरै आउँदा यस वर्ष लगानी प्रतिबद्धता बढेको बताए।

विभागमार्फत आएको कुल ५५ अर्ब ६४ करोड ५६ लाख वैदेशिक लगानी प्रतिबद्धतामध्ये ३६ अर्ब २५ करोड १५ लाख रुपैयाँ उर्जामा छ । त्यसैगरी, उत्पादनमूलक उद्योगमा ६ अर्ब ७६ करोड, पर्यटन क्षेत्रमा चार अर्ब १२ करोड ३३ लाख, मिनरल उद्योगमा तीन अर्ब ८० करोड, सेवामा दुई अर्ब २३ करोड प्रतिबद्धता आएको छ।

उद्योगको आकारमा हेर्दा ठूला स्तरको उद्योगमा ४७ अर्ब ३४ करोड ७५ लाख, मध्यमस्तरमा ९८ करोड ४८ लाख र सानास्तरमा सात अर्ब ३१ करोड ३२ लाखको प्रतिबद्धता आएको छ ।‘मुलुकमा लगानीको वातावरण बन्दै गएको र आवश्यक ऐन–नियम बनिसकेकाले वैदेशिक लगानीको प्रतिबद्धता बढेको छ,’ भुसालले नागरिकसँग भने, ‘स्थिर सरकार र संविधान कार्यान्वयन हुँदै गएकाले पनि विदेशी लगानीकर्तालाई विश्वास बढेको छ।’


गत वर्ष आएको ५५ अर्ब ६४ करोड ५६ लाख वैदेशिक लगानी प्रतिबद्धतामध्ये ३६ अर्ब २५ करोड १५ लाख रुपैयाँ उर्जामा छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले वैदेशिक लगानीकर्ता जलविद्युत् र सिमेन्ट उद्योगमा आकर्षित भएको बताए । ‘पछिल्लो समयमा जलविद्युत् र केही सिमेन्ट उद्योगमा वैदेशिक लगानीकर्ता आकर्षित भएको देखिन्छ,’ मुरारकाले भने, ‘उत्पादनमूलक उद्योगमा भने आशा गरे अनुरुप छैन ।’ उत्पादनमूलक उद्योगमा लगानी प्रतिबद्धता आएमा मुलुकलाई बढी फाइदा हुने उनको भनाइ छ ।वैदेशिक लगानी प्रतिबद्धता आउनु आफैंमा राम्रो विषय भए पनि प्रतिबद्धता अनुसारै लगानी आउँछ भन्ने हुँदैन । सरकारले प्रतिबद्धता अनुसारको सबै लगानी भिœयाउने वातावरण बनाउनुपर्ने व्यवसायी सुझाउँछन् । अझै पनि औद्योगिक वातावरण नबनेकाले लगानी गर्ने वातावरण नबनेको व्यवसायी बताउँछन्।  

गत आर्थिक वर्षमा मुलुकमा चिनियाँ लगानी उल्लेख्य बढेको छ । चिनियाँ व्यवसायीले सिमेन्ट, हाइड्रोपावर, हर्बल, होटल र केही उत्पादनमूलक उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।ठूलो स्तरको लगानी प्रतिबद्धता आएको परियोजनामा रसुवामा १० मेगावाट जलविद्युत् उत्पादनका लागि स्वदेशी ७५ प्रतिशत र अमेरिकी २५ प्रतिशत लगानी हुने गरी ४१ करोड ६८ लाखको प्रतिबद्धता आएको छ।

चीनको सिचुआन तियानयी समूहले एक अर्ब ३३ करोड लगानीमा नवलपरासीमा सिमेन्ट उद्योग खोल्ने प्रतिबद्धता आएको छ । चिनियाँ सेनोङ हर्बल मेडिसिन कम्पनीले मकवानपुरमा एक अर्ब ७६ करोड लगानीमा हर्ब कम्पनी खोल्ने प्रतिबद्धता गरेको छ।चीनको सिल्क रोड मिनरल्स इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टले सोलुखुम्बुमा दुई अर्ब लगानीमा मिनरल उद्योग खोल्ने प्रतिबद्धता जनाएको छ । चीनकै हार्मोनी हस्पिटालिटीले काठमाडौंमा ४५ करोड लगानीमा होटल खोल्ने प्रस्ताव ल्याएको छ।

मुलुकमा अहिले पनि विभिन्न समस्या रहेकाले प्रतिबद्धता आउँदैमा लगानी भित्रिन गाह्रो हुने व्यवासायी बताउँछन् । नीति, कानुन र सोचमा परिवर्तन नगर्दासम्म लगानीको वातावरण बन्न नसक्ने व्यवसायीको भनाइ छ । भौतिक पूर्वाधारको अवस्था पनि कमजोर छ ।उद्योग विभागमा गरिएको गरिएको प्रतिबद्धता अनुसारको लागनी बढीमा १० वर्षभित्र आइसक्नुपर्ने सामान्य नियम छ । उद्योग हेरेर एकदेखि १० वर्षसम्ममा लगानी ल्याउनुपर्ने भन्ने भए पनि यसमा कडाइ नभएको विभागको भनाइ छ । औद्योगिक व्यवसाय ऐन आएपछि १० वर्षको समय तोकिएको थियो ।
 

 

प्रकाशित: ३ श्रावण २०७५ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App