७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

वायुसेवा निगमले पठायो अन्तिम किस्ता साढे ३ अर्ब

काठमाडौं - नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको पहिलो जहाजको बाँकी किस्ता करिब साढे ३ अर्ब रुपैयाँ आपूर्तिकर्ता कम्पनीलाई चुक्ता गरेको छ ।

निगमले न्युरोड विशालबजारस्थित हिमालयन बैंकमा रहेको आफ्नो डलर खाताबाट आयरल्यान्डको हाइफ्लाई एक्स नामको कम्पनीलाई मंगलबार ३ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ (३ करोड ७ लाख २५ हजार ९ सय २५ अमेरिकी डलर) पठाएको हो।

निगमले पैसा पठाएको हाइफ्लाई एक्स त्यही कम्पनी हो, जसले अमेरिकी कम्पनी एएआर कर्पोरेसनमार्फत जहाज बेच्न प्रस्ताव गरेको थियो । एएआरले निगमको ग्लोबल टेन्डर जितेर खरिद सम्झौता गरेको थियो । अहिले निगमले पठाएको रकम हाइफ्लाई एक्स र एएआरको आयरल्यान्डस्थित संयुक्त (एस्क्रो) खातामा गएको छ ।

‘पहिलो वाइड बडी जहाजको दोस्रो तथा अन्तिम किस्तावापतको रकम पठायौं,’ निगमको कर्पोरेट विभागका उपनिर्देशक तथा सहप्रवक्ता शैलेश कंसाकारले मंगलबार नागरिकसँग भने, ‘अब पहिलो वाइड बडी बिहीबार (असार १४ गते) बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ।’

निगमका अनुसार पहिलो वाइड बडीका लागि २०७४ असार ३ गते पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाइएको थियो । त्यसपछि अहिले दोस्रो तथा अन्तिम किस्ता पठाइएको हो । एएआर कर्पोरेसनले वाइड बडी जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले उपलब्ध गराउने सम्झौता गरेको छ । सोहीअनुसार पहिलो जहाजको सबै रकम पठाइएको हो ।

‘नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर अन्तिम किस्ता रकम पठाएका हौं,’ सहप्रवक्ता कंसाकारले भने, ‘रकम भने हामीले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट बराबर लिएका हौं । दुवै संस्थासँग १२÷१२ अर्ब रुपैयाँबराबरको ऋण सम्झौता यसअघि नै भएको थियो ।’

निगमले बिहीबार ल्याउन लागेको जहाजलाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९एन–एएलवाई’ कलसाइन दिएको छ भने निगमले उक्त जहाजलाई ‘अन्नपूर्ण’ नाम दिएको छ । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको जहाज ल्याउन लागेको हो । यसमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास सिट रहेका छन् ।

‘पहिलो वाइड बडी जहाजलाई हाइफ्लाईकै पाइलटले उडाएर ल्याउनेछन्,’ कंसाकारले भने, ‘फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाट जहाज सिधै काठमाडौं आउने छ । यहाँ आइपुग्न त्यस्तै ६ देखि ७ घन्टा लाग्ने छ ।’

पहिलो वाइड बडी जहाज लिन निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ, इन्जिनियरिङ डाइरेक्टर केबी थापा, एयर वर्दिनेस डाइरेक्टर प्रभाष कर्माचार्य, क्वालिटी एस्योरेन्स तथा फ्लाइट सेफ्टी डाइेक्टर विक्रम केसी, क्याप्टेनहरू महेश्वरमान (एमएम) डंगोल र श्रवण रिजाल, उड्डयन प्राधिकरणका प्रतिनिधिलगायतको टोली फ्रान्स गएको छ ।

काठमाडौं आएको दुई सातादेखि अधिकतम एक महिनाभित्र उक्त जहाजलाई नियमित व्यापारिक उडानमा प्रयोग गरिने निगमको योजना छ । ‘पहिलो वाइड बडीको पहिलो उडान युएईको दुबईका लागि गरिने छ,’ कंसाकारले भने।

जहाज निर्माता एयबसका अनुसार हाइफ्लाईले दुईथान ए३३०–२०० जहाज सिधा खरिद अर्डर गरेको छ । यसबाहेक हाइफ्लाईसँग यही सिरिजका १४ थान वाइड बडी छन् । ए३३० जहाजमा १८ बिजेनस क्लास र २ सय ५६ इकोनोमी क्लास सिट हुन्छन् । हाइफ्लाईले वायुसेवा कम्पनी, टुर अपरेटर, सरकार, अन्य कम्पनी वा व्यक्तिलाई जहाज भाडामा उपलब्ध गराउनेदेखि बिक्री समेत गर्दै आएको छ ।

निगमका एक अधिकारीका अनुसार निगमलाई जहाज बेच्ने ग्लोबल टेन्डर जितेको अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसन, पोर्चुगलको हाइफ्लाई एयरलाइन्स र जर्मन क्यापिटलको सहवित्तीयकरणमा खडा भएको कम्पनी ‘हाइफ्लाई एक्स’ को नाममा पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाइएको थियो । हाइफ्लाईले त्यही रकम एयरबसलाई पठाएर दुइटा ए३३० खरिद अर्डर गरेको थियो।

निगमले दुईथान वाइड बडी जहाज खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँमध्ये १२ अर्ब सञ्चय कोष र बाँकी १२ अर्ब नागरिक लगानी कोषसँग लिन ऋण सम्झौता गरेको थियो । सरकारले २०७४ वैशाख ७ गते वायुसेवा निगमले खरिद गर्ने दुईथान वाइड बडी जहाजलाई आवश्यक करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेको थियो ।

निगमले एएआर कर्पोरेसनसँग २०७३ चैत २५ गते काठमाडौंमा दुइटा वाइड बडी किन्ने सम्झौता गरेको थियो । सम्झौताअुनसार दुई जहाजको मूल्य २० करोड ९६ लाख डलर (त्यसबेलाको २१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ) पर्ने थियो । यस हिसाबले सञ्चय कोष र लगानी कोष प्रत्येकको भागमा १० करोड ४८ लाख डलर पर्ने छ।

सम्झौताअनुसार एएआरले पहिलो वाइड बडी असार १४ गते काठमाडौं पठाउने छ भने लगत्तै एक महिनापछि दोस्रो जहाज पठाउने छ । यसअघि उसले २०७४ मंसिरमा र दोस्रो लगत्तै फागुन अन्तिमसम्ममा काठमाडौं पठाउने तालिका दिएको थियो ।

निगमले २०७३ फागुन ४ मा दुइटा बडी किन्न एएआरलाई प्रतिबद्धता रकम (बैना) स्वरूप १० लाख अमेरिकी डलर पठाएको थियो । प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइड बडी जहाज बिक्री गर्ने एएआर कर्पोरेसनको प्रस्ताव निगम सञ्चालक समितिले २०७३ माघ २ गते अनुमोदन गरेको थियो । त्यसपछि माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा ‘जहाज नलिए प्रतिबद्धता रकम फिर्ता हुने’ उल्लेख छ।

निगमलाई एयरबसमा उत्पादित दुई सय ५० देखि दुई सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुई थान वाइड बडी जहाज बिक्री गर्न २०७३ कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए । तीमध्ये एएआरले सबैभन्दा सस्तो मूल्यमा दिने प्रस्ताव गरेको थियो । उसले ‘ब्रान्ड न्यु’ (एक मिनेट पनि नउडेको) जहाज दिने प्रस्ताव गरेको थियो । निगमले दुईथान वाइड बडी ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ।

 

प्रकाशित: १३ असार २०७५ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App