१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्र उद्योगको रूपमा विकास हुन सकेन : मन्त्री अधिकारी

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीले नेपालको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विकास हुन नसकेको बताएका छन् । पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयद्वारा गठित प्रबुद्ध विज्ञ समूहको प्रथम बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अहिलेको सरकारले पर्यटनलाई उद्योगको रूपमा विकास गर्ने बताए ।

‘नेपालको पर्यटन विकासमा अहिलेसम्म जे जति प्रगति भएको छ । त्यो सबै निजी क्षेत्रको पहलमा भएको हो,’ अधिकारीले भने, ‘अब सरकार र निजी क्षेत्र मिलेर पर्यटनलाई उद्योगको रूपमा विकास गर्ने बेला आएको छ ।’ निजी क्षेत्रसँग साझेदारी गर्नकै लागि मन्त्रालयले प्रबुद्ध विज्ञ समूह गठन गरेको उनले जानकारी दिए ।

पर्यटन विकासका लागि सोही समूहले दिने सल्लाह, सुझावका आधारमा मन्त्रायलले योजना बनाउने बताइएको छ । उनले पर्यटन क्षेत्रलाई उत्पादनमुखी बनाउन खोजेको बताए । उत्पादनमुखी भएपछि पर्यटन क्षेत्रबाट राजस्व वृद्धि हुने उनको अपेक्षा छ । पर्यटन क्षेत्रलाई विकास गर्दा देशमा सबभन्दा बढी रोजगारी पर्यटन क्षेत्रबाट सिर्जना हुने अधिकारीले बताए ।

नेपाल र बाँकी संसारबीच पृथक रहेको क्षेत्र पर्यटन भएकाले अब सरकार र निजी क्षेत्रले पर्यटन विकासका लागि काम गर्नुपर्ने उनले बताए । अलिकति मेहनत गर्ने हो भने कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुग्ने अधिकारीको भनाइ छ । तर, पर्यटन क्षेत्रबाट फाइदा लिन अहिलेको अवस्थामा धेरै नै सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

‘अब पनि केही नगर्ने हो भने १० वर्षमा पनि पर्यटन क्षेत्रको गुणात्मक परिवर्तन हुने छैन,’ उनले भने । कार्यक्रममा सहभागी प्रवुद्ध समूह, पूर्व सचिव र मन्त्रालयका कर्मचारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले भौतिक पूर्वाधारको विकास र लगानी थप गर्ने वातावरण मिलाउनुपर्ने बताए ।

 

प्रकाशित: २५ जेष्ठ २०७५ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App