२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

स्याउसँग सुन्तलाको तुलना हुनुभएन

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले प्रस्तुत गरेको बजेटलाई अघिल्ला वर्षका बजेटसँग तुलना गरेकोमा रिसाएका छन्।

आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सांसदले उठाएका प्रश्नको आइतबार जवाफ दिंदै अर्थमन्त्री खतिवडाले स्याउ र सुन्तलाको तुलना हुननसक्ने बताए। उनले भने– ‘बजेटको छलफलमा मलाई कसैले माथि उचाल्नु भो, कसैले थचार्न खोज्नुभयो।’

बजेट महत्वाकांक्षी, संघीयताअनुरुप नभएको भन्ने गुनासो आएको सम्झिँदै अर्थमन्त्री खतिवडाले भने– ‘तर, राजस्वको बाँडफाँडसहित, सामान्यीकरण र अनुदानसहितको बजेट पहिलोपटक ल्याउँदैछौं। चालु आबको बजेटसँग तुलना गर्नु उपयुक्त हुँदैन्। जसरी स्याउ र सुन्तलाको तुलना हुनसक्दैन। दुवै अलग हुन्। बजेटमा पनि यसरी तुलना गर्ने कुरै होइन। सबै हिसाबमा गर्नुपर्छ। एकीकृत बजेट आउँदा पुरानो हेर्नुहुन्न। अब हामी झुक्किनु हुन्न।’

आठ प्रतिशतको आर्थिक वृद्धिलाई पूँजीगत खर्चसँग मात्र जोडेर हेर्न नहुने जिकिर गर्दै खतिवडाले जनताका न्यूनतम आवश्यकता पूरा गर्दै समृद्धिको बाटोमा प्रस्थान गर्ने आफूहरुको लक्ष्य रहेको सुनाए। ‘हामी काम र रोजगारलाई समर्थन, सम्मान गर्छाैं’, उनले भने। 

समृद्धिबाट समाजवाद, नागरिकलाई उत्पादनसँग जोड्ने, सामाजिक सुरक्षाका कुरालाई बजेटले समेटेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्यको कुरा अघि बढाएको, रोजगारमा जोड दिएको बताए। ‘जनताका न्यूनतम आवश्यकता पुरा गर्छाैं। त्यसपछि समृद्धिको मार्गमा अघि बढ्छौं, यो बजेटको सार हो’, उनले भने।

बजेटले भ्रष्टाचार रोक्ने र सुशासन कायम गर्न खोजेको भन्दै मन्त्री खतिवडाले स्रोत बढाउन राजस्वमा जोड दिइएको बताए। ‘संघीयता खर्चिलो छ, स्थापित गर्नुछ। हामी अलि लामै दौडमा छौं, नीति तथा कार्यक्रम र घोषणापत्र  कार्यान्वयनको चरणमा। जित्छौं, पुरा गरेर छोड्छौं’, उनले सांसदलाई चिन्ता नलिन आग्रह गर्दै भने– ‘हामी लोकतान्त्रिक समाजवादको पक्षमा छौं। सरकारले निजी,  सहकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गर्छ।’

उनले बजेटका लागि यो संक्रमणकालिन व्यवस्था भएको र राजस्वको बाँडफाँड पहिलोपटक समावेश गरिएको स्पष्ट पार्दै क्रमशः कार्यक्रम तल लैजादै जाने बताए। अर्थमन्त्रीले भने, ‘राजस्व परिचालनतर्फ जोड दिएका छौं। धेरै आम्दानी हुनेले बढी कर र थोरै आम्दानीले थोरै कर तिर्नुपर्ने व्यवस्था आएको छ।’

उनले अर्थमन्त्री ट्रयापमा परेको भन्दै भएको आलोचनाको खण्डन गर्दै भने– यो सरकार आफ्ना कार्यक्रम आफ्नो विवेक र क्षमताले गर्न सक्षम छ। कसैले ट्रयापमा पार्न सक्दैन्।’

प्रकाशित: २० जेष्ठ २०७५ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App