इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरीले मंगलबार नगरको १६ औं नगर सभामार्फत चालु आर्थिक वर्षको भन्दा एक अर्बभन्दा कमको सार्वजनिक गरिन्। चालु आर्थिक वर्षको बजेट तीन अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको रहेको थियो।
आगामी वर्षका लागि चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात् कुल बजेटको ४०.७९ प्रतिशत वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात् कुल बजेटको ०.३५ प्रतिशत र पूगीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात् कुल बजेटको ५८.८६ प्रतिशत छुट्याइएको घोषणा गरियो।
आगामी आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले जानकारी दिइन्।
जसमा सङ्घीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरि इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
यस्तै, इटहरीको सर्वाङ्गीण विकासका लागि गुरुयोजना तयार गरिने मुख्य योजनामै समेटिएको छ। बजेटमा इटहरीलाई सुन्दर सहर बनाउन सौन्दर्यीकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकार भित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाउने, पैदलयात्रीको सहजताका लागि कोशी राजमार्ग दुईवटा आकासे पुल निर्माण गर्न बजेट छुट्याइएको छ।
विश्व बैङ्कसँगको सहयोगमा इटहरीमा मुख्य समस्याको रुपमा रहेको बाढी तथा डुबान समस्या दीर्घकालीन रुपमा समाधानका लागि नमुना कार्यक्रमका रुपमा आएका प्रकृतिमा आधारित मोडेलबाट बाढी नियन्त्रण गर्ने कार्यको सम्भाव्यता चालु आर्थिक वर्षमा भइसकेकोमा आगामी वर्ष कार्यान्वयनमा ल्याइने भएको छ।
बजेटमा ‘गोठदेखि ओठसम्म र वधशालादेखि भान्सासम्म’ भन्ने नाराका साथ स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
यस वर्ष इटहरीले आगामी आर्थिक वर्षका लागि नयाँ कार्यक्रमभन्दा पनि चालु आर्थिक वर्षमा बजेट अभावले कार्यान्वयन नभएका थुप्रै योजनालाई समेटेको छ।
सभामा उपप्रमुख चौधरीले बजेट प्रस्तुत गर्नुअघि प्रमुख हेमकर्ण पौडेलले २०७९ को निर्वाचनमा निर्वाचित भएयता गरेका केही महत्त्वपूर्ण कामको विवरण पनि प्रस्तुत गरे। जसमा बुढी खेला डुबानको समस्या समाधान गर्न विश्व बैंकसँग सहमति भएको र त्यसलाई कार्यान्वयन गर्ने बताए।
यस्तै, इटहरी अस्पतालको स्तरोन्नति, इटहरीको थारु समुदायलाई प्रथम जाति घोषणा, इटहरी सभा हल तथा बस पार्क निर्माण उपलब्धि भएको पौडेलले बताए।
उनले विश्व बैङ्कको सहयोगमा इटहरीको जुट विकासदेखि पर्यटकीय स्थल वडा नं-३ को तालतलैया हुँदै इटहरीको वरगाछीसम्म ८.४ किलोमिटर सडक विस्तार गर्ने योजना आगामी वर्ष पुरा हुने र लविपुरदेखि तरहरासम्म ५.३ किलोमिटर सडक पनि विश्व बैंककै सहयोगमा निर्माणका लागि विस्तृत परियोजना तयार पारिने कार्य महत्त्वपूर्ण प्रगति भएको जनाए।
यस्तै, एक हजार स्वीकार फिटसम्मको घर निर्माणका लागि नक्सा पास निःशुल्क, इटहरीका सार्वजनिक सडकमा सिसि क्यामेरा जडान, नागरिकहरूलाई उपमहानगरपालिकाबाट सेवा प्रवाह गर्दा नागरिक साहयता कक्ष, नगर बस सञ्चालन र घरदेखि घाटसम्म भन्ने नारासहित शववाहना सञ्चालन गरेको कार्यलाई पनि उनले उपलब्धि भएको बताए।
यस्तै, निःशुल्क एम्बुलेन्स, खाद्य प्रयोगशालालगायतका सेवा सुविधा पनि पछिल्लो तीन वर्षको उपलब्धि भएको प्रमुख पौडेलले जनाए।
‘अब बाँकी अवधि पनि जनताप्रति उत्तरदायी भएर अघि बढिनेछ,’ उनले भने। उनले पछिल्लो समय महालेख परीक्षणको प्रतिवेदनले देशभरका उपमहानगरपालिकामध्ये सबैभन्दा बढी इटहरीको बेरुजु देखिएपछि त्यसलाई कम गर्ने नीति अपनाउने बताए।
उनले त्यसलाई कम गर्नका लागि सम्परीक्षण पनि गरिने जनाए। बेरुजु रकम साबिक स्थानीय तहदेखिकै रहेको प्रस्ट्याउँदै आगामी दिनमा वित्तीय अनुशासन कायम गर्ने जनाए।
प्रकाशित: १० असार २०८२ २०:२२ मंगलबार