उदयपुरका ६ स्थानीय तहले आज (मंगलबार) नीति कार्यक्रम र बजेट ल्याउँदै छन्।
मंगलबार सदरमुकाम त्रियुगा नगरपालिका, कटारी नगरपालिका, लिमचुङबुङ, उदयपुरगढी, रौतामाई र ताप्ली गाउँपालिकाले बजेट ल्याउने कार्यक्रम छ। हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पेश गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार आजसम्म जिल्लाका ८ वटै स्थानीय तहले बजेट ल्याइसक्ने कार्यक्रम तय भएको हो।
यसअघि साेमबार चौदण्डीगढी र बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति कार्यक्रम र बजेट ल्याइसकेका छन्।
चौदण्डीगढीले आगामी वर्षका लागि एक अर्ब १३ करोड ३५ लाखको अनुमानित आयव्यय प्रस्तुत गरेको छ। सोमबार सम्पन्न १२औं नगरसभामा चालु वर्षकोभन्दा ३२ करोडभन्दा बढीको अनुमानित आयव्यय पेश भएको हो। उपप्रमुख मणिकादेवी दुलालले नगरसभामा पेश गरेको बजेटको आकार एक अर्ब १३ करोड ३५ लाख रुपैयाँको छ।
प्रस्तुत बजेटमा पुँजीगततर्फ ३९ करोड २५ लाख ४१ हजार ६२ रुपैयाँ छ भने चालुतर्फ ७४ करोड छ। यो बजेटको आकार चालु आर्थिक वर्षकोभन्दा ३२ करोड ४२ लाख ६० हजार ३ सय ४० रुपैयाँले बढी हो। चालु वर्ष चौदण्डीगढीले ८० करोड ९२ लाख ३९ हजार ६ सय ६० रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ।
चौदण्डीगढीले आगामी वर्षका लागि आन्तरिक स्रोत वृद्धिसँगै अन्य विभिन्न शीर्षकमा आय वृद्धि हुने प्रक्षेपण गर्दै सो आकारको बजेट ल्याएको जनाएको छ। नगरप्रमुख कालुमान लामाले चालु वर्षभन्दा आन्तरिक आय धेरै वृद्धि हुने गरी ठेक्का लागेको, प्रदेश र संघबाट प्राप्त हुने सशर्त, समपूरक र विशेष अनुदान पनि वृद्धि हुने देखिएकाले अनुमानित बजेटको आकार वृद्धि गरिएको बताए।
उता बेलका नगरपालिकाले सोमबारको नगरसभामा ७७ करोड २६ लाख ४१ हजार रुपैयाँको आमदानी र खर्च प्रक्षेपण गरेको छ। उपप्रमुख जिरा राईले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटको आकार गत वर्षभन्दा डेढ करोड बढी छ। चालु वर्ष बेलकाको बजेट ७६ करोड ५७ लाख ३१ हजार ५ सय १ रुपैयाँको छ।
यहाँका सबै स्थानीय तहले यस वर्ष चालु वर्षकोभन्दा ठूलो आकारको बजेट ल्याउने जनाएका छन्। विगत वर्षहरूभन्दा फरक तरिकाले वडागत बजेट सिलिङ तोकेर बाँडफाँड गर्दै छन्। प्रायः दामासाहीले वडागत बजेट वितरण गर्दै आएका स्थानीय तहले यस वर्षदेखि सूत्रका आधारमा बजेट वितरण प्रणालीको सुरुवात गरेर नयाँपन दिएका छन्।
सूत्रका आधारमा बजेट वितरण गर्दा जनसंख्या, भूगोल, राजस्व संकलन र मानव विकास सूचकांकलगायत सूचकलाई आधार मानिएको छ। सूत्रका आधारमा बजेट बाँडफाँड गर्दा सदरमुकाम त्रियुगा नगरपालिकाको ११ नं. वडालाई सबैभन्दा बढी ८२ लाख बजेट परेर फाइदा भएको छ।
१६ नं. वडालाई अन्तिम आकारको ५२ लाख बजेट पर्दा १०, ३, ४ र ५ नं. वडाहरू क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेको प्रस्ताव गरिंदै छ। तर, कुन वडाले यकिन कति बजेट पाए भन्ने वास्तविक विवरण मध्याह्न १:०० बजेदेखि सुरु हुने त्रियुगाको बजेट अधिवेशनले मात्र देखाउने नगरप्रमुख बसन्त बस्नेतले बताए।
उता कटारी नगरपालिकाले सूत्रलाई पनि पछ्याउने भएको छ भने यथास्थितिलाई पनि कायम राखेको छ। भौगोलिक विविधताका कारण परम्परागत वितरण प्रणालीलाई तत्काल इन्कार गर्न नसकिने भएकाले सूत्रलाई पनि पछ्याउँदै वडागत बजेट वितरण गरिएको मेयर राजेशचन्द्र श्रेष्ठले बताए।
उनका अनुसार १ देखि ७ नं. वडासम्म भित्री मधेस र तराई रहेको कटारी नगरका बाँकी ७ वडा पहाडी विकट भूगोलमा पर्ने भएकाले सूत्रका आधारमा बाँडफाँड गर्दा मार्का पर्ने भएकाले दुवै मापदण्ड पछ्याइएको छ। मेयर श्रेष्ठका अनुसार वडाहरूलाई न्यूनतम ५० लाख दिएर बाँकी सूत्रका आधारमा बजेट थप्ने गरी नगरसभामा पेश गर्न लागिएको छ।
प्रकाशित: १० असार २०८२ १३:०८ मंगलबार





