९ मंसिर २०८३ बुधबार
image/svg+xml
अर्थ

विदेशबाट फर्केका युवालाई उद्यमी बनाउन बङ्गुर वितरण

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई आफ्नै गाउँघरमा उद्यम व्यवसाय गर्न खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बङ्गुरका पाठा वितरण गरेको छ । विदेशबाट फर्केका युवाहरु स्वदेशमै गरिखान चाहने भएपछि नगरपालिकाले बङ्गुर पालन गर्न निःशुल्क पाठा वितरण गरेको हो ।

नगरपालिकाले चालु वर्षको स्वीकृत नीति तथा कार्यक्रममै ‘बङ्गुर प्रवद्र्धन कार्यक्रम’ शीर्षकमा बजेट विनियोजन गरेर यो कदम चालेको हो । जस अनुसार यसवर्ष १ सय १५ वटा उन्नत जातका बङ्गुर पाठा खरिद गरि वितरण गरिएको नगरप्रमुख बिमला राईले बताईन् । उनका अनुसार रिटर्नीसँगै व्यवसाय गर्न इच्छुक महिला र अपाङ्गता भएका व्यक्तिलाई पनि पाठा उपलब्ध गराइएको छ ।  

बङ्गुर पालन गर्नका लागि नगरपालिकाले निश्चित मापदण्ड बनाएको छ । सो मापदण्ड पूरा गरेका नगरबासीलाई पाठा वितरण गरिएको हो । व्यवसायिक बङ्गुर पालनमा प्रोत्साहन गर्न गरिब तथा बिपन्न वर्गका नगरवासी १६ घरपरिवार किसानलाई खोर बनाउन ६० प्रतिशत अनुदानसमेत उपलब्ध गराइएको मेयर राईले बताईन् । उनका अनुसार २ लाख मूल्यबराबरको खोर बनाउन प्रति परिवार लाई १ लाख २० हजार अनुदान दिइएको हो । खोर बनाएका किसानलाई २÷२ थान उन्नत जातका बङ्गुर पाठा दिइएको छ ।

अनुदानसँगै व्यक्तिगत लगानीमा व्यवसायिक बङ्गुर पालन गर्दै आएका किसानलाई भने पशु प्राविधिकमार्फत परामर्श र निःशूल्क औषधि उपचारको व्यवस्था नगरपालिकाले मिलाएको छ । बङ्गुर प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले गठन गरेको छनोट समितिको सिफारिसमा पाठा वितरण गरिएको हो । चालुवर्ष व्यवसायिक बङ्गुर पालन गर्ने ६८ घर किसानलाई १÷१ थान पाठा उपलब्ध गराइएको हो । 

अपाङ्गता भएका किसानलाई भने करुणा फाउण्डेशनको साझेदारीमा पाठा वितरण गरिएको छ । जस अनुसार १५ घर अपाङ्गता परिवार किसानलले प्रतिघर एउटा बङ्गुरको पाठा पाएका छन् ।  

चालुवर्ष यो कार्यक्रमका लागि नगरसभाले पारित गरेको १२ लाख ५० हजार रुपैँयामा बङ्गुर प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न नगरवासीलाई आवेदन मागेको थियो । तोकिएको समयभित्र आवेदन दिने किसानमध्ये रिटर्नी, महिला र अपाङ्गता भएकाहरु छनौट गरि पाठा वितरण गराएको नगरप्रवक्ता कमल गिरीले बताए ।

११ वडा रहेको नगरका हरेक नगरबासीलाई आत्मनिर्भर बनाउन व्यवसायिक कृषि, पशुपालन र उद्यम गर्न चाहनेलाई नगरपालिकाले विभिन्न खालका अनुदान उपलब्ध गराउँदै आएको छ । 

प्रकाशित: २० जेष्ठ २०८२ १८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App