कृषि क्षेत्रमा आफ्नो पालिकालाई व्यावसायिक बनाउन पहल लिइरहेको ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले वडागत रूपमा तरकारी बाली तथा फलफूल खेतीको पहिचान गरेको छ।
वडा नं ४ डुम्रिसेलाई पालिकाले सुन्तला फल उत्पादनमा प्राथमिकता दिएको छ। वडा नं २ थेचम्बुमा आलु खेती प्रवर्द्धन कार्यक्रममा लगानी गरेको छ। वडा नं ४ डुम्रिसेका लप्से क्षेत्रमा सुन्तलाको बलियो सम्भावना देखेपछि पालिकाले उक्त क्षेत्रका किसानलाई सुन्तलाका बिरुवादेखि सिँचाइ पाइप र सुन्तला टिप्ने भर्याङसम्म प्रदान गरेको छ।
पालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार यस वर्षको सिजनमा स्थानीय प्रेम मेन्याङ्वोले आफ्नो एक रोपनी बगानमा फलेका सुन्तलामध्ये ९१ हजार रुपैयाँको त बिक्री नै गरे। सुभाष उप्रेति त्यो क्षेत्रमा नाम कहलिएका कृषि व्यवसायी हुन्।
पालिका अध्यक्ष मेन्याङ्वोका अनुसार अहिले उक्त क्षेत्रका किसानका घरमा कम्तीमा सुन्तलाका ३० बोट छन्। यस वर्ष मात्र त्यहाँका किसानलाई करिब तीन सय बोट सुन्तलाका बिरुवा थप गर्ने गरी पालिकाले बिरुवा उपलब्ध गराएको छ भने विद्युतीय स्प्रेयर, पावर स्प्रेयर, डिजिटल काँटा, सिँचाइ पाइपसहितका सामग्री समेत पालिकाले दिएर उनीहरूको व्यावसायिकता अभिवृद्धि गर्ने कार्यक्रम राखेको छ।
पालिकाका कृषि विकास शाखा प्रमुख निकेश भट्टराईका अनुसार पाथीभरा याङवरकका किसान खेतीप्रति उत्साहित पनि छन्। उनीहरूका लागि चालु आर्थिक वर्षको बजेटमै सशर्त अनुदान र वित्तीय समानीकरण अनुदानतर्फ मात्र करिब १ करोड रुपैयाँ विनियोजन भई कृषि कार्यक्रम सञ्चालनमा रहेको भट्टराईले बताए।
पालिका उपाध्यक्ष रनमाया गुरुङका अनुसार किसानको मेहेनत र प्रोत्सानहको सम्मान गर्न पालिकाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष कम्तीमा ४ जना उत्कृष्ट किसानलाई प्रोत्साहन स्वरुप जनही नगद ५० हजार रुपैयाँका दरले पुरस्कृत समेत गर्दै आइरहेको छ। व्यावसायिक हुन खोज्ने किसानलाई पालिकाले उन्नत बीउ तथा मल, उपकरण र प्रविधि समेतमा निरन्तर सहयोग गर्दै आइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलले जानकारी दिए।
पालिकाले माटो र हावापानी सुहाउँदो खेती प्रणालीमा ध्यान दिएको र पालिका क्षेत्रको अनुकूल स्थानमा फरक–फरक प्रकृतिको सहयोग गर्दै आइरहेको पालिकाले जनाएको छ। व्यावसायिक रूपमा लागेका किसानहरू प्रविधिबारे जानकारी लिन समेत उत्सुक छन्। उनीहरू प्राविधिक जानकारी लिन बोलाइएका कार्यक्रममा उत्साहजनक उपस्थिति जनाउँछन्।
पालिकाले पनि किसानका टोलबस्तीमा पुगेर खेती प्रणालीबारे प्राविधिक सल्लाह समेत नियमित रूपले प्रदान गर्दै आइरहेको पालिकाले जनाएको छ।
प्रकाशित: ८ जेष्ठ २०८२ १३:१६ बिहीबार

