विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर)मा यस बसन्त ऋतुमा १० जनाले सफल आरोहण गरेका छन्।
आरोहण गराउने एजेन्सी सेभेन समिट ट्रेक्सका जनरल म्यानेजर थानेश्वर गुरागाँईका अनुसार मे १० तारेखका अर्थात २०८२ साल वैशाख २७ गते शनिबार दिउँसो २.१५ मिनेटमा १० जनाले कञ्चनजंघाको सफल आरोहण गरेका हुन्।
आरोहण गर्नेमा ५ नेपाली र ५ जना विदेशी नागरिक छन्। गुरागाईँका अनुसार सफल आरोहण गर्ने विदेशीमा कोसोवो, इरान र बेलायतका नागरिक हुन्। उनका अनुसार कञ्चनजंघाको आरोहण गर्नेमा फ्लुतुरा ईव्राहिमी, एड्रियन माइकल हेस, अलिरेजा बेहपुर, सइद अल्मेमारी, सेयदमिदरजा हासेमी, लाक्पातेम्बा शेर्पा, ङिमादोर्ची शेर्पा, फुरसोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पा रहेका छन्।
गुरागाईँले नेपाली र भारतीय सेनाका २३ सहित जम्मा ७० जना आरोहणका क्रममा रहेकोमा १० जनाले भने सफल आरोहण गरेका हुन्। ‘सफल आरोहण गरेको १० जनाको टोली फर्कँदै हुनुहुन्छ, कोही क्याम्प ३ मा आइपुग्नु भएको छ,’ गुरागाँईले नागरिकसँग भने।
यस वर्ष कञ्चनजंघामा आरोहणका लागि प्रभावशाली उपस्थिति रहेको उनले बताए। उनका अनुसार सेभेन समिट ट्रेक्सबाट ४० जना र अन्य ट्रेकिङ एजेन्सीबाट ३० जना कञ्चनजंघा आरोहणको क्रममा छन्। आरोहण सुरु गर्नुअघि कञ्चनजंघामा ८ जना शेर्पाहरूको टोलीले आधार शिविरबाट लगभग ८ हजार ४ सय मिटरसम्मको लाइन सुरक्षित गरेको थियो।
आरोहण सुरु गर्नु पहिले ३ सय ५० मिटर भन्दा बढी डोरी फिक्स गरी आरोहणको अन्तिम भाग सुरक्षित गरिएको थियो।
प्रकाशित: २८ वैशाख २०८२ ११:५८ आइतबार

