१५ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

ढटेलोको तेल बेच्दै जुम्लाका महिला

ढटेलो टिप्दै, सुकाउँदै किसान। तस्बिर: गोल्डेन/नागरिक

यतिबेला जुम्लाको चन्दननाथ नगरपालिका-४ की छैटाकली रावतको दैनिकी ढटेलो टिप्नमै चलिरहेको छ। रावत जंगलमा पर्याप्त भेटिने काँडेदार बिरुवा ढटेलो टिप्न व्यस्त हुन्छिन्। ढटेलोको दानाभित्रको बियाँबाट तेल निकाल्न सुरु भएपछि उनी उत्साहित देखिन्छिन्।

राम्रो मूल्यमा सहजै बिक्री हुन थालेपछि जुम्लाका महिलाहरूलाई ढटेलो संकलन गर्न भ्याइनभ्याइ छ। जुम्लाका ग्रामीण बस्तीका बासिन्दा एकाबिहानै ढटेलो टिप्न निस्केर अबेर मात्र घर फर्कन्छन्। काँडेदार बिरुवा भएकोले पिठ्युँमा निगालोबाट बनेको (छान्नो) दाना टिप्न हातमा पञ्जा र लठ्ठी बोकेर महिलाहरू ढटेलो टिप्न जाने गरेको स्थानीय कृष्णबहादुर रावत बताउँछन्।

उनले भने, 'महिलाहरू एकाबिहानै ढटेलोको झाङभित्र पसेको पाइन्छ। टिप्दा काडोले नघोचोस भनेर पञ्जा र लठ्ठीको सहायता लिन्छन्।'

रावतले ढटेलोको तेल बेचेर परिवारको रोजीरोटी जुटाउने गरेको बताउँछिन्। उनले गत वर्ष ३५ लिटर ढटेलोको तेल निकालेको बताइन्। प्रतिलिटर एक हजारमा तेल बिक्री भइरहेको थाहा नपाउँदा घरमै प्रयोग गरेको उनले बताइन्।यतिबेला झण्डै ४५ देखि ५० लिटर तेल निकाल्न मिल्ने गरी ढटेलो टिपिसकेकी छन्। ‘बजारमा महंगोमा तेल बेचिन्छ भन्ने, थाहा थिएन। यो वर्ष तेल निकालेर बजारमा लैजान तयारी गरेकी छु,’ उनले भनिन्।

कतिपयले बाबुबाजेकै पालादेखि मानिसहरूले ढटेलोको तेल निकालेर दियो बाल्ने, मालिस गर्ने तथा खानेतेलको रूपमा प्रयोग गरिरहेका थिए। साथै मन्दिरमा विवाह, पूजापाठमा चढाउनको लागि शुद्ध तेलको रूपमा समेत प्रयोग गरिन्छ।

‘पहिले ढटेलोले तेलको आवश्यकता पूर्ति गर्यो। बिस्तारै उपेक्षित बनेको थियो। मूल्य राम्रो पाएपछि धमाधम टिपिरहेका छन्,’ उनले भनिन्, ‘लगानीबिना मिहनेतकै भरमा तेल उत्पादन गरेर बेच्न सके राम्रै आम्दानी हुने गरेको छ।’

ढटेलोको बिरुवा जुम्लाको ८ वटै स्थानीय तह र ६० वडाका सबै गाउँ-बस्तीमा पाइन्छ। पछिल्लो समयमा किसानहरूले ढटेलोको बिरुवा स्याउको बगैंचा वरिपरि लगाएर घेरबारका लागि भन्दे ढटेलो रोप्न सुरु गरेका छन्।

यस्तै चन्दननाथ नगरपालिका चन्दननाथ–४ की लाउरी रोकायाले आफ्नो घरमा अहिले पनि ढटेलोको तेल प्रयोग भइरहेको बताइन्। जसले आयातित तेलको प्रयोगमा कमी ल्याएको बताउँछिन्। गत वर्षमात्रै २५ लिटर ढटेलोको तेल निकालेकी उनले यो वर्ष ४० लिटर निकाल्न हौसीएकी छिन्। उनले भनिन्, 'यो तेलको महत्त्व कसैले बुझेका छैनन्। सबै आयातित तेलको मुख ताक्छन्। स्थानीय जडिबुटी र रैथाने तेलमा ध्यानाकर्षित भएको देखिँदैनन्।'

उनका अनुसार परापूर्वकालदेखि मानिसहरूले ढटेलो खाने तेलको रूपमा प्रयोग गर्दथे। जतिबेला बत्तिका लागि वैकल्पिक इन्धनको उपस्थिति थिएन, त्यो बेला ढटेलोको तेल बत्ती बाल्नका लागि निकै उपयोगी मानिन्थ्यो। अहिले ढटेलो कसैले चिन्दैन।

उक्त वडकै मुनकौरा बुढाले पनि गत वर्ष ढटेलोको तेलबमट राम्रोसँग आम्दानी गरेको बताइन्। उनले ३५ हजार रुपैयाँ नगद बुझेको सुनाइन्। अहिले उनी तेब्बर कमाउने गरी संकलनमा व्यस्त छिन्। बुढा अघिल्लो वर्ष ढटेलोबाट २० हजार बराबरको तेल निकालेको बताउँछिन्। आधा तेल घरमै खाने गरिएको सुनाइन्। यो वर्ष ५० लिटर बराबरको ढटेलो संकलन गरेकी छिन्।

यता चन्दननाथ-५ कार्की बाडाटोलका आनन्द अधिकारीले गत वर्ष ६० लिटर बेचेका थिए। उनले प्रतिलिटर एक हजारमा तेल बेचेको बताए। उनका अनुसार चार किलो दानाबाट एक लिटर तेल निस्कन्छ। जिल्लामा ६० हजार लिटर भन्दा बढी तेल बनाउन सकिने गरी ढटेलो संकलन गर्न सकिने उनले बताए। जसबाट वर्षेनि ६ करोड रुपैयाँ कमाउन सक्ने उनको अनुमान छ।

२ मिटरसम्म उचाइ भएको ढटेलोको बिरुवाको भदौदेखि दाना लाग्न सुरु भएर चैतदेखि टिप्न मिल्ने गरेर पाक्छ। ढटेलो पानीको स्रोतहरूको नजिकैको सुक्खा जमिनमा हुन्छ, वुट्यानमा फल्ने गर्दछ। आयुर्वेद चिकित्सकहरूका अनुसार शरीरका विभिन्न अगं तथा जोर्नीको दुखाइ कम गर्न र बाथरोगका बिरामीलाई यसको तेलले मद्दत गर्छ।

बेवारिसे अवस्थामा हुर्केको ढटेलोको दानाबाट तेल निकाले मनग्ये आम्दानी हुन सक्ने भए पनि स्थानीय सरकारले कुनै चासो देखाएको स्थानीयको गुनासो छ। किसानले ढटेलो पेल्ने मिल समेत पाउन नसकेर परम्परागत तरिकाले हातैले पेल्ने गरेका छन्।

प्रकाशित: १९ वैशाख २०८२ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App