३१ श्रावण २०७७ शनिबार
अर्थ

प्रजनन क्षमता बढाउने प्रविधि विकास

प्रजनन क्षमता न्यून हुने समयमा बाली लगाउने प्रविधि प्रयोग गरिएका भैंसी। तस्बिर : सविता/नागरिक

चितवन – कृत्रिम गर्भाधान प्रक्रियाबाट भैंसीमा न्यून प्रजनन क्षमता हुने समयमा बाली लगाउने प्रविधिको विकास गरिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयको सहयोगमा प्राडा भूमिनन्द देवकोटाको समूहले गरेको अनुसन्धानले उक्त प्रविधि विकास गरेको हो।

समूहमा डा गोकर्ण गौतम, डा शत्रुघन शाह, डा दिपक लम्साल, प्राडा नवराज देवकोटा रहेका छन् । भैंसीपालन गर्दा एक वर्षको अवधिलाई तीन सिजनमा बाँडेर प्रजनन क्षमताको अवस्था हेरिने प्राडा देवकोटा बताउँछन्। साउनदेखि मंसिरसम्मको समयलाई सजिलै बाली जाने, पुसदेखि फागुनसम्मको अवधिलाई मध्यम र चैतेदेखि असारसम्मको अवधिलाई न्यून बाली जाने समय मानिन्छ।

त्यसमध्ये प्राडा देवकोटाको समूहले न्यून बाली जाने समयमा केन्द्रित रहेर अध्ययन गरेको छ। प्राकृतिक रुपमा सुक्खा मौसम, बढ्दो गर्मी लगायत कारणले हुने तनावले यस समयमा भैंसीको डिम्बाशयको कार्य क्षमता कमी आउँदा बाली जान समस्या हुने गरेको उनी बताउँछन्। सन् २०१३ देखि थालिएको अनुसन्धानमा यस वर्ष ५० प्रतिशतभन्दा बढी सफलता मिलेको उनको भनाइ छ।

विश्वविद्यालयको रामपुरमा रहेका सात र किसानको एउटा भैंसीमा कृत्रिम गर्भाधान गराउँँदा पाँचवटा भैंसी ब्याएका छन्। असारमा गर्भाधान गराइएका भैंसी चैत अन्तिम साता र वैशाख पहिलो साताभित्र ब्याएका हुन्। २८ प्रतिशत, ४० प्रतिशत हुँदै यस वर्ष ५० प्रतिशतभन्दा बढी भैंसीमा बाली लगाउने प्रविधि सफल भएको उनले जानकारी दिए।

यी भैंसींमा हर्मोन प्रविधिको प्रयोग गरि डिम्बाशयलाई सक्रिय बनाएर कृत्रिम गर्भाधान गराइएको थियो। उचित व्यवस्थापन र पोषणमा ध्यान दिएर तनाव कम गराई प्रविधि प्रयोग गरिएको प्राडा देवकोटाले बताए। पशु विकास फार्म पोखरामा भने तनाव कम नगरी प्रविधिको प्रयोग गर्दा सातमध्ये दुईवटा भैंसीमा मात्र गर्भाधान सफल भएको उनले बताए। उनले भने, ‘जति राम्ररी तनावको व्यवस्थापन गरियो, सफलता दर बढी पाइयो।’

अध्ययनका क्रममा भिडियो एक्सरेको प्रयोग गरेर डिम्बाशयको कार्य क्षमताबारे नियमित परीक्षण, पोषण र वातावरणीय प्रभावका कारणले रगतमा हुने पोषण र तनाव सम्बन्धी तत्वबारे अध्ययन गरिएको उनले जानकारी दिए। किसानले भैंसीको उचित व्यवस्थापन, पोषणमा ध्यान दिनुपर्ने र प्राविधिकले हेरेर डिम्बाशयको कार्य क्षमता र हर्मोनबारे अध्ययन गरी प्रविधिको प्रयोग गर्न सकिन्छ।

त्यसका लागि अनुसन्धानका क्रममा न्यून प्रजनन क्षमता हुने समयमा बाली लगाउन सुधारको सुत्र नै तयार गरिने उनले बताए। जसअन्तर्गत पोषण पु-याउन आवश्यक मात्रा मिलाएर दाना तयार गर्ने फर्मुलासँगै किसानले भैंसीको स्याहारका लागि अपनाउनु पर्ने सामान्य कुरा समेत समेट्ने उनी बताउँछन्। चैतदेखि असारसम्म नेपालमा दूध उत्पादन कम हुन्छ।

‘यो प्रविधि किसानसम्म पु-याउन सक्दा यो समस्या हटाउन सकिन्छ,’ उनी भन्छन्, ‘अहिले अनुसन्धान कै क्रमलाई हेर्दा पनि एउटा भैंसीलाई हर्मोन दिएर कृत्रिम गर्भाधान गराउन करिब पाँच हजार रुपैयाँ लागेको छ।’ विकास गरिएको प्रविधिलाई सरलीकरण गरेर तीनदेखी पाँच वर्षभित्रमा भैंसीपालक किसानमा पु-याउने लक्ष्य राखिएको प्राडा देवकोटा बताउँछन्।

दूधजन्य उत्पादनका साथै मासुमा प्रयोग गरिने भैंसीलाई कालो सुन मानिने कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार मनराज कोलाक्षपति बताउँछन्। यस्ता अनुसन्धान गरेर किसानसम्म पु-याउँदा किसानले थप फाइदा लिनसक्ने उनको भनाइ छ।

विश्वमा करिब दुई अर्बको संख्यामा भैंसी रहेको पाइन्छ। त्यसमध्ये एक अर्ब आठ करोड रुपैयाँ भारतमा रहेको विश्वविद्यालयका उपकुलपति आइपी ढकालले बताए। विश्वमा रहेका भैंसीमध्ये करिब ९७ प्रतिशत दक्षिण एसियामा मात्र रहेका छन्। नेपालमा करिब ५२ लाखको संख्यामा भैंसी छन्। दूध उत्पादनको हिस्सामा ६७ प्रतिशत योगदान भैंसीको रहेको उनी बताउँछन्। विश्वविद्यालयमा यही वर्ष भैंसी अनुसन्धान केन्द्रसमेत स्थापना गरिने उनले जानकारी दिए।

नेपालको कुल ग्राहस्थ उत्पादनको २६.८ प्रतिशत हिस्सा कृषिले ओगटेको छ। त्यसमा १३ प्रतिशत योगदान पशुजन्य स्रोतको पर्नेमा भैंसीको मात्र ६ प्रतिशत योगदान रहेको पाइन्छ । पहाडी क्षेत्रमा लिमे, पारकोटे, गड्डी र तराई क्षेत्रमा तराई जात र भारतीय मुर्रा जातका भैंसी पालिन्छन्।

प्रकाशित: १६ वैशाख २०७५ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App