२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १४:४९ अपराह्न
अर्थ

राजावादीको प्रदर्शनः पर्यटन क्षेत्र झस्कियो

पर्यटक ‘पर्ख र हेर’को अवस्थामाः व्यावसायी

मार्च देखि मे सम्म पर्यटनको मुख्य सिजन हो । हिमाल आरोहण र पदयात्राका कारण यो बेला विदेशी पर्यटक नेपाल आउन चाहन्छन्। त्यही अनुसार पर्यटकीय सहर पोखरा, चितवन, काठमाडौंका होटलमा विदेशी पाहुनाले अग्रिम बुकिङ गरेका थिए। व्यावसायीका अनुसार ठूला आकारका होटलको अकुपेन्सी यो बेला ७० प्रतिशत हाराहारीमा चलिरहेको छ। साना र मध्यम होटलले पनि यो बेला राम्रै आकारमा पाहुना पाउँछन्।  

तर, गत शुक्रबार राजावादी समूहले राजधानीमा गरेको हिंसात्मक प्रदर्शनका कारण पर्यटन क्षेत्रमा चिन्ता सुरु भएको छ। काठमाडौंमा भएको उक्त घटनाका कारण नेपाल आउने तयारीमा रहेका कतिपय विदेशी पर्यटकले चाँसो देखाएको व्यावसायीले बताएका छन्। कतिपय पर्यटकले घटनाक्रम र त्यसको प्रभाव, घुमघाममा असर पर्ने वा नपर्ने बारे सोधपुछ समेत थालेका छन्। कतिपय पर्यटकले बुकिङ रद्द गर्नेसम्मको मनस्थिति बनाएको व्यावसायीले बताएका छन। पर्यटकहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको व्यावसायीको भनाई छ।  

‘अहिलेसम्म बुकिङ रद्द नै भईसकेको त छैन। तर, विदेशी पर्यटकसामु नेपालमा भएको घटनाक्रमको प्रभाव भने परेको छ,’ माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई भन्छन, ‘विदेशी पर्यटकले सोधपुछ थालेका छन्। नेपालमा भएको घटनाको प्रभावबारे उनीहरुले गहिरो चाँसो व्यक्त गरेका छन्।’  

गत शुक्रबारको प्रदर्शनलाई लक्षित गरि त्यही दिन बिहान नेपालस्थित अस्टे«लियाली दूतावासले आफ्ना नागरिकलाई ट्राभल एडभाईजरी जारी गर्दै घुमफिरमा सचेत हुन भनेको थियो। शुक्रबार घटना घटेपछि नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय संचारमाध्यममा समेत घटनाबारे सन्देश प्रवाह भएको थियो। त्यससँँगै सामाजिक सञ्जालमा पनि उक्त घटनाक्रमले व्यापकता पाउँदा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने निश्चित भएको भट्टराई बताउँछन्।  

‘शुक्रबारको जस्तो घटना आगामि दिनमा नहोस भन्ने हामी सबैले चाहेका छौ। आगामि दिनमा काठमाडौं र पोखरा,चितवन लगायतका पर्यटकीय सहरमा विरोध प्रदर्शन भएको खण्डमा त्यसको असर पर्यटन क्षेत्रमा पक्का पर्नेछ । त्यसपछि त बुकिङ रद्द हुने पक्का छ,’ उनले भने, ‘तर, अहिलेसम्म बुकिङ नै रद्द त भएको छैन। तर, सोधपुछ, चिन्ता र चाँसो भने ब्यापक छ।’ पर्यटन क्षेत्र निकै नै संवेदनशील हुने भएकोले सानातिना घटनाक्रमबाट पनि प्रभावित हुने उनले बताए।  

‘यो बेला राम्रो सिजन हो । सिजन चलिरहँदा मुलुकमा हिंसात्मक गतिविधि भएका छन। यो घटना पर्यटन क्षेत्रका लागि झनै बढी चिन्ताको विषय हो,’ उनले भने, ‘मार्च–मे मुख्य सिजन हो। यो सिजनको कमाईले आगामि दिन महिना खर्च धान्ने हो। यो बेला तेश्रो मुलुकका विदेशी, भारतीय र आन्तरिक पाहुनाको आगमन राम्रो छ। तर, आउजाउमा प्रभाव पार्नेखालका गतिविधि हुँदा पर्यटन क्षेत्र खुसी छैन।’ अब पनि बन्द, हड्ताल, विरोध प्रदर्शनका घटनाक्रम हुने हो भने पर्यटन क्षेत्र ध्वस्त हुने उनको चिन्ता छ। कोरोना संक्रमणपछि उकालो लागेको पर्यटन क्षेत्र फेरि सुस्ताउने चिन्ता व्यावसायीमा छ।

भट्टराईका बिचारमा आगामि दिनमा विरोध प्रदर्शनका कुनै घटना थपिएको खण्डमा नेपालस्थित विभिन्न दूतावासले आफ्ना नागरिकलाई नेपाल घुम्नमा रोक लगाउन सक्छन। ‘कोरोना संक्रमणपछिको राम्रो अकुपेन्सीमा अहिले पर्यटन क्षेत्र चलिरहेको छ। यो बेला ८० प्रतिशत हाराहारीमा होटलको अकुपेन्सी छ,’ उनले भने, ‘तर, यही बेला भएको हिंसात्मक गतिविधिले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको छ। नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको छ।’ अबका केहीदिनमा नेपालस्थित दूतावासले आफ्ना नागरिकलाई नेपाल घुमघामबारे रोक लगाउन सक्ने सम्मको सम्भावना रहेको पनि उनले बताए।  

पोखराकै ल्याण्डमार्क होटलका संचालक ओमप्रकाश पाण्डेका अनुसार काठमाडौंमा भएको घटनाक्रमपछि नेपाल आउन चाहेका विदेशी पर्यटक केही सतर्क बनेका छन्। ‘कम्तिमा १० दिन नेपालमा घुम्ने गरि आउने गरि बुकिङ गरेका ३९ जनाको एउटा विदेशी समूहले नेपाल यात्राबारे प्रश्न उठायो। अहिले रद्द गर्नुपर्ने की नपर्ने भनेर सोधेको थियो,’ उनले भने, ‘त्यो समूहले नेपाल यात्रा रद्द नै त गरेको छैन। तर, उनीहरु आउन केही डराएका भने पक्का हो। घटनाक्रम थपिएमा उनीहरु पक्का आउनेछैनन।’

उनका अनुसार यूरोपियन मुलमा अहिले नेपालमा भएको घटनाक्रमबारे निकै नै नकारात्मक सन्देश फैलिएको छ। सामाजिक सञ्जाल र संचारमाध्यमका कारण घटनाको सन्देश तिब्र रुपमा फैलिएको र त्यो रोक्न सक्ने अवस्था नरहेको उनले बताए। 

‘कतिपय विदेशीले काठमाडौंको केही क्षेत्रमा मात्र नभई समग्र नेपालमा नराम्रो घटना घटेको भनेर बुझेका छन,’ क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष समेत रहेका उनले भने, ‘अहिलेको घटनाले केही न केही असर पार्ने पक्का छ । आउन खोज्ने पाहुना ‘पर्ख र हेर’ को अवस्थामा छन।’  

पण्डेका अनुसार नेपाल भ्रमण रद्द गर्न चाहेपनि अहिलेका लागि अत्तिन नहुने भनेर व्यावसायीले पर्यटकलाई ढुक्क बनाएपनि त्यो अवस्था यकिन नभएको उनले बताए। ‘आगामि दिनमा आन्दोलनका कार्यक्रम थपिएमा निकै नै प्रभाव पर्नेछ,’ उनले भने। उनका अनुसार अहिलेको सिजनमा पर्यटकको आगमनमा ६५ प्रतिशत अकुपेन्सी रहेको छ। ‘यो सिजनमा पर्यटक आगमन एकनासको हुन सकेन। कुनै दिन पाहुनाको भीडभाड हुन्छ, कुनैदिन आधा मात्र पाहुना लिएर बस्नुपरेको छ,’ उनले भने।  

पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने सिजनको मुखमा घटना हुँदा त्यसको त्रास फैलिएको बताउँछन्। ‘अन्तर्राष्ट्रिय मिडियाले ब्यापक रुपमा काठमाडौंमा भएको घटनाको समाचार प्रकाशन गरेका छन्। सामाजिक सञ्जालमार्फत पनि सन्देश ब्यापक फैलिएको छ,’ लामिछानेले भने, ‘सन्देश मात्र फैलिएको होइन की नेपाल आउन चाहेका विदेशी पाहुनामा पनि घटनाबारे चाँसो बढेको छ। के हो र कसो हुने हो भन्ने चिन्ता पर्यटकमा पलाएको छ।’  

नेपालमा घटेको घटनाबारे विभिन्न दुतावासले आफ्ना नागरिकलाई सावधानी अपनाउन भनिसकेकोले त्यसको प्रभाव अझै बढ्न सक्ने उनले बताए। ‘अहिले पर्यटकले बुकिङ रद्द नै गरेका त होईनन। तर, घटनाबारे के र कसो हुने हो भन्ने चिन्ता भने पलाएको छ। आगामि दिनमा घटनाक्रम बढेमा यसले पक्का असर पार्छ।’  

प्रकाशित: १८ चैत्र २०८१ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App