७ चैत्र २०८१ बिहीबार
image/svg+xml १:३० पूर्वाह्न
अर्थ

वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा ‘वाउ’ परियोजनाको सफलताको घोषणा

वर्ल्ड रिसाइक्लिङ डेको अवसरमा खालिसिसि र कोका-कोला बेभरेजेज नेपालले 'वाउ' (वेल-बिङ आउट अफ वेस्ट) परियोजनाको एक वर्ष पूरा भएको घोषणा गरेका छन्। यो परियोजनाले नेपालमा दिगो विकास, महिला सशक्तीकरण र फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान पुऱ्याउँदै आएको छ।

फेब्रुअरी २०२४ मा सुरु भएको उक्त परियोजनाले १,४४,००० के.जी. पीइटी बोतलहरूलाई ल्यान्डफिलमा जानबाट जोगाएर तिनलाई पुनः उपयोगी स्रोतका रूपमा परिणत गरेको छ। यस परियोजना अन्तर्गत बुढानीलकण्ठमा मटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) स्थापना गरिएको छ। जहाँ ट्रान्सफर स्टेसन, फोहोर संकलन केन्द्रहरू, फुटसल ग्राउन्ड, रेस्टुरेन्ट लगायत विभिन्न स्रोतहरूबाट ल्याइएका पीइटी बोतलहरू संकलन गर्ने र छान्ने काम गरिन्छ। एमआरएफमा रहेको बेलिङ मेसिनको क्षमता प्रति दिन १ टन रहेको छ जसले पीइटी बोतलहरूलाई बन्डल बनाउँछ र उक्त बोतलहरू नवपरासीस्थित PET रिसाइकलरमा पठाउने काम गरिन्छ। त्यहाँ बोतलहरूलाई फ्लेक्समा परिणत गरिन्छ जसलाई पुनःप्रक्रिया गरी पोलिएस्टर स्टेपल फाइबर जस्ता सामग्रीमा रूपान्तरण गरिन्छ।

'वाउ परियोजना केवल फोहोर व्यवस्थापनको विषय होइन, यो सामाजिक समानता र दिगोपनको यात्राको सहयात्री समेत हो,' खालिसिसिका सीईओ अमुन थापाले परियोजनाबारे बोल्दै भने, 'महिला तथा फोहोर व्यवस्थापनमा संलग्न मजदुरहरूलाई सशक्त बनाउँदै हामी फोहोरलाई अवसरमा बदल्दैछौं।'

बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले पनि आफ्नो विचार राख्दै भने, 'हामी 'सफा बुढानीलकण्ठ पहल' अन्तर्गत हरियाली र सफा सहर बनाउने लक्ष्यमा छौं। वाउ परियोजना हाम्रो अभियानलाई मजबुत बनाउने महत्वपूर्ण कोसेढुंगा बन्ने विश्वास हामीले गरेका छौं। यस परियोजनाले सर्कुलर इकोनोमीको अवधारणालाई अघि बढाउँदै फोहोरमुक्त बुढानीलकण्ठ निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।'

वाउ परियोजना आर्थिक सशक्तीकरणमा केन्द्रित रहेको छ। ८० प्रतिशत महिलाहरू (३५ महिला) संलग्न रहेको यस परियोजनाले महिलाहरूलाई फोहोर व्यवस्थापन क्षेत्रमा स्थान दिने कार्य गरिरहेको छ। साथै ५० जना अनौपचारिक फोहोर संकलनकर्ताहरू (खालिसिसि फ्रेन्ड्स) लाई गल्ली म्याप्स न्याभिगेसन, डिजिटल साक्षरता, बैंकिङ र सामाजिक सञ्जालको प्रयोगबारे तालिम प्रदान गरिएको छ जसले उनीहरुको आर्थिक आत्मनिर्भरता र जीवनस्तर उकास्ने अवसर प्रदान गरिरहेको छ।

कोका-कोला बेभरेजेज नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारीले पनि भनिन्, 'हामीले दिगो व्यापार अभ्यासमार्फत सकरात्मक परिवर्तन ल्याउने लक्ष्य राख्छौं। 'वाउ' परियोजना फोहोर व्यवस्थापन सुधार गर्ने र समुदायलाई सशक्त बनाउने हाम्रो साझा प्रतिबद्धताको प्रमाण पनि हो।'

यस परियोजना अन्तर्गत एमआरएफको साथमा २० वटा संकलन केन्द्रहरू, खेलकुद केन्द्र, विद्यालय, कलेज तथा सार्वजनिक कार्यालयहरू स्थापना गरिएको छ जसले जिम्मेवार फोहोर व्यवस्थापन र पुनःप्रयोग गर्ने बानी बसाल्न मद्दत गर्ने छ। नेपालका युवाहरूलाई रिसाइकल गर्ने बानी बसाल्न प्रेरित गर्दै यस अभियानले दीगो भविष्यको निर्माणतर्फ महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूको रहेको छ।

प्रकाशित: ५ चैत्र २०८१ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App