मुलुकको आन्तरिक अर्थतन्त्र सही ट्रयाकमा आउन नसकेपछि वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्स (विप्रेषण) ले मुलुकको अर्थतन्त्रलाई भरथेग गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा साढे नौ खर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ।
मुलुकमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा गएका युवाहरूले मासिक सरदर एक खर्ब २८ अर्ब रूपैयाँ विप्रेषण पठाएका छन्। पोहोरको तुलनामा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको सात महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार माघसम्म नौ खर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स विदेशबाट आएको छ।
अर्थतन्त्रका आन्तरिक सूचकमा लक्ष्यअनुसार कुनै पनि क्षेत्रको प्रगति नभइरहेको अवस्थामा विप्रेषणको दर भने बढेको बढ्दैछ। स्वदेशमा रोजगारी सिर्जना, आर्थिक समृद्धि नहुँदा मुलुक विदेशमा गएका युवाले पठाएको विप्रेषणबाट धानिएको छ। मुलुकको अर्थतन्त्र विप्रेषणले धानेको भए पनि यो दीर्घकालीन रूपमा घातक हुने राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले बताए। ‘विप्रेषणले देश र घरपरिवार चलाउने काम भएको छ,’ श्रेष्ठले भने, ‘स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ।’
विप्रेषणलाई पनि उत्पादन र उत्पादकत्व बढाउन प्रयोग गर्नुपर्ने श्रेष्ठको तर्क छ। ‘सधैं रेमिटेन्समा भर पर्नु राम्रो होइन,’ उनले भने। अहिलेको विप्रेषण विदेशबाट आयातित वस्तुको उपभोगमा प्रयोग भएको श्रेष्ठले बताए।
युवाहरूले वैदेशिक रोजगारीमा गएर विप्रेषण पठाएका हुन्। सात महिनामा दुई लाख ७४ हजार ६ सय २२ युवा नयाँ श्रम स्वीकृत लिएर विदेश गएका छन् भने एक लाख ९० हजार आठ सय ६८ जनाले पुनः स्वीकृत लिएका छन्।
यसरी हेर्दा यो वर्ष सात महिनाको अवधिमा कुल चार लाख ६५ हजार दुई सय ९० जना वैदेशिक रोजगारीमा गएको देखिन्छ। पोहोरभन्दा यो वर्ष ६२ हजार आठ सय १३ जना बढी युवा विदेश गएका छन्। गत वर्ष सोही अवधिमा चार लाख दुई हजार चार सय ७७ जना वैदेशिक रोजगारीमा गएका थिए। औपचारिक रूपमा वैदेशिक रोजगार मात्र नभएर भिजिट भिसामा गएर लुक्ने, अध्ययन भिसामा जानेहरूले पनि रकम पठाउने गरेका छन्।
विप्रेषण आप्रवाह वृद्धिसँगै विदेशी विनिमय सञ्चिति पनि बढेको छ। गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति सात महिनामा १६.१ प्रतिशतले वृद्धि भई माघ मसान्तसम्म २३ खर्ब ६९ अर्ब आठ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड रहेकोमा माघ मसान्तसम्म ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब पाँच करोड पुगेको छ। यो सञ्चितिले सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा चालु खाता एक खर्ब ६६ अर्ब ८० करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६२ अर्ब ५२ करोडले बचतमा थियो। शोधनान्तर स्थिति दुई खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा थियो।
यो वर्ष वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा एक खर्ब २७ अर्ब २० करोड रूपैयाँको वस्तु निर्यात भएको छ। भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९ प्रतिशत, ८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड, चिया, अलैंची, पार्टिकल बोर्डलगायत वस्तुको निर्यात बढेको छ। यो अवधिमा वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भएको छ। नौ खर्ब ८८ अर्ब ५९ करोड रूपैयाँको वस्तु आयात भएको छ।
यो वर्ष मूल्यवृद्धि भने नियन्त्रणमै रहेको राष्ट्र बैंकले जनाएको छ। माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत थियो।
प्रकाशित: २७ फाल्गुन २०८१ ०६:२२ मंगलबार