भरतपुर महानगरपालिका–६ स्थित इन्द्रपुरीका शालिकराम चापागाईको फार्ममा चुकन्दर र गाँजर बिक्रीका लागि तयारी भइसकेको छ । उनले उत्पादन गरेको चुकन्दर स्वदेशमा लागि भने होइन । जर्मन निर्यातका लागि उत्पादन गरेका हुन् ।
‘नेपाली बजारमा चुकन्दरको त्यति महत्व छैन । गत वर्ष ५० क्विन्टल जर्मन पठाएको थिएँ,’ यस वर्ष एक किलो बीउ ल्याएर चुकन्दर लगाएका चापागाईले भने ‘अहिले त्यसभन्दा बढी उत्पादन हुने अनुमान छ । यो पनि जर्मनका लागि बुकिङ भइसकेको छ ।’
चितवनमा उत्पादन भएको चुकन्दर र गाँजर जर्मन निर्यात गर्न थालिएको छ । जिल्ला प्राङ्गारिक संघ चितवनका अनुसार चितवनबाट गत वर्षदेखि चुकन्दर र गाँजर निर्यात गर्न थालिएको हो । जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार यस वर्ष १३ बिघामा लगाइएको १५० टन चुकन्दर र १०० टन गाँजर जर्मन निर्यात गर्न थालिएको छ । यहाँ उत्पादित गाँजर र चुकन्दर ‘द अर्ग्यानिक भ्याली’ संस्था मार्फत जर्मन पठाउन थालिएको उनले बताए ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरबाट प्रमाणीकरण गरी कृषि उपज निर्यात गर्न थालिएको उनले बताए । उनका अनुसार एक हप्ता भित्र उत्पादन वस्तु पठाउने तयारी गरिएको छ ।
‘फागुनको दोस्रो साता तिर चुकन्दर विदेश पठाउने तयारी गरेका थियौँ । खरिद कर्ता विवाहको कामले व्यस्त भएर पठाउन सकेनौँ,’ उनले भने । उनका अनुसार कम्पनीले चुकन्दर र गाँजरलाई प्रशोधन गरेर भारतको कलकत्ताको बाटो जर्मन लैजाने गरेको छ । यहाँका किसानले चुकन्दरको प्रतिकिलो ५० र गाँजरको प्रतिकिलो २० रुपैयाँमा बिक्री मूल्य तोकेका छन् ।
‘किसानलाई फाइदा छ छैन् । गत वर्ष कम्पनीले नै बीउ दिएको थियो । त्यतिखेर चुकन्दरलाई ४५ रुपैयाँमा दिएका थियौँ । १८ रुपैयाँमा गाँजर लगेको थियो,’ उनले भने ‘अहिले चुकन्दरमा प्रतिकिलो पाँच र गाँजरमा दुई रुपैयाँ बढाएका छौँ ।’ रासायनिक पदार्थ हालेर बिक्री भएको गाँजर १३ रुपैयाँमा पनि बिक्री गर्न कठिन रहेको उनले बताए । तीन पटकसम्म गाँजरको गोडमेल गर्नुपर्ने भएकाले लगानी धेरै लाग्ने गरेको उनले बताए ।
‘हामीले गोठेमल प्रयोग गछौँ । खरिद गर्ने मलमा घाँस र बीउको मात्र बढी हुने हुँदा झार बढी आउने रैछ,’ उनले भने ‘यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा गाँजर रोप्ने मेसिन ल्याउँदै छौँ । केही कम होला ।’
चितवनबाट १५ जना किसानले उत्पादन गरेको चुकन्दर र गाँजर विदेश पठाउन लागिएको हो । जसमा वडा नम्बर १५, ६ र २५ का किसान रहेका छन् । यहाँ किसानले व्यवसायिक रुपमा २० बिघा क्षेत्रफलमा अर्ग्यानिक खेती गरिँदै आएका छन् । त्यसमध्ये १२ बिघामा गाँजर र चुकन्दर लगाइएको अध्यक्ष अधिकारीले जानकारी दिए । विदेश निर्यात हुन थालेपछी चितवनमा गाँजर खेती तर्फ किसानहरू आकर्षित समेत भएको उनको भनाई छ ।
प्राङ्गारिक संघलाई कृषि विकास कार्यालय चितवनले सुरुआती समयमा आर्थिक सहयोग गरेकामा पछिल्लो समय प्राविधिक सहयोग मात्रै गर्दै आएको छ । पहिला ‘प्याकेजिङ’, ‘ग्रेडिङ’ र बजारीकरणमा सहयोग गर्दै आएको थियो । बजारिकरणका लागि सहयोग गरेमा आफूले उत्पादन गरेको वस्तु स्वदेशमा बिक्री गर्ने योजना रहेको समेत उनले बताए । ‘आइरन र मिनिलर बढी पाइने चुकन्दर विदेश पठाउनभन्दा स्वदेशमै बेच्ने थियौँ’, उनले भने ‘नेपाली उपभोक्ताले अर्गानिक वस्तुलाई पहिचान गर्न सक्नुहुँदैन ।’
प्रकाशित: २६ फाल्गुन २०८१ १६:३० सोमबार