१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २२:३२ अपराह्न
अर्थ

फेरियो अन्नपूर्ण आधारशिविरको दैनिकी

बाह्रैमास पाहुना उक्लिन्छन, होटल सधैं खुल्छन्‌

क्याप्शन

अन्नपूर्ण आधारशिविर (एबिसी ) मा ३४ वर्षदेखि होटल व्यावसाय संचालन गरिरहेका जगन गुरुङको अनुभवमा अहिले आधारशिविर क्षेत्रका व्यावसायीको दैनिकी निकै नै बदलिएको छ। आधारशिविर क्षेत्रमा भेडीगोठदेखि व्यवस्थित होटल संचालनको अनुभव समेत बटुलेका जगन फेरिएको दैनिकीले तत्कालका लागि लाभ दिएपनि दीर्घकालिन हुनेमा भने आशंकित छन्।  

किनकी ४१३० मिटर उचाइको अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा मौसमले फरक स्वरुप देखाएको छ। मौसममा आएको बदलावले गर्दा आधारशिविर क्षेत्रको व्यावसायिक शैली नै बदलिएको उनी बताउँछन्। उनका अनुसार दशकअघिसम्म आधारशिविर क्षेत्रका सबैजसो होटल मंसिरदेखि फागुन पहिलोसातासम्म पूर्णरुपमा बन्द रहन्थे। चिसो कम हुँदै गएपछि फागुन अन्तिमतिर बल्ल व्यावसायी आधारशिविर उक्लिन्थे र बन्द रहेका होटलको ढोका उघार्थे। तर, अहिले त्यहाँ बाह्रैमास व्यावसाय संचालन हुन थालेको छ।  

त्यत्तिमात्र नभई आधारशिविर उक्लिने पर्यटक पनि अहिले बाह्रैमास हुन थालेका छन्। पहिलापहिला होटल व्यावसाय बन्द रहँदा झन्डै साढे तीनमहिना आधारशिविर क्षेत्रले पाहुनाको मुख देख्न पाउँदैनथ्यो। तर, अहिले भने दिनहुँ पर्यटक आधारशिविर उक्लिरहेका हुन्छन। आधारशिविर उक्लिने पाहुनाको संख्या धेरै वा थोरै हुने भन्नेमात्र रहेको उनको भनाई छ। ‘आधारशिविरको दैनिकी पूर्ण रुपमा फेरिएको छ। यसको एकमात्र कारण भने जलवायुमा आएको परिवर्तन हो। यसको प्रत्यक्ष अनुभव अहिले आधारशिविरले गरिरहेको छ,’ उनले भने।  

उनका अनुसार पछिल्ला केही वर्षदेखि आधारशिविरका होटल बाह्रैमास खुल्न थालेका छन। पाहुना पनि सधैं उक्लिरहेका हुन्छन। ‘अहिले त होटल पनि बन्द हुँदैनन, पाहुना नआएको पनि दिन खालि हुन्न,’ उनले भने, ‘होटल सधैं खुल्छन। पाहुना पनि सधैं आउँछन्। पाहुनाको संख्या धेरै र थोरै भन्ने मात्र हो। नत्र पाहुनाविहीन हुनुपरेको छैन।’  

गुरुङका अनुसार अधिक हिउँ पर्ने भएपछि व्यावसायीले पहिले पहिले मंसिरपछि व्यावसायका ताला ठोक्थे र घर फर्किन्थे। कामदारलाई पनि लामै बिदा दिन्थे। फागुन अन्तिममा सिजन सुरु भएपछि बल्ल व्यावसायी उकालो लाग्थे भने बिदामा रहेका कामदार पनि आधारशिविर फर्किन्थे। तर, अहिले भने कामदार पनि लामो बिदामा बस्दैनन, व्यावसायमा पनि बन्द रहन्न। ‘सधैंजसो पाहुना आएपछि व्यावसाय बन्द गरेर मात्र भएन,’ उनले भने, ‘आएका पाहुनालाई सेवा पनि दिनैपर्छ।’

गुरुङको अनुभवमा केहीवर्ष अघिसम्म मंसिरदेखि नै हिउँ पर्न थाल्थ्यो। हिउँ पर्ने क्रम फागुन अन्तिमसम्म रहन्थ्यो। फागुन अन्तिमतिर बल्ल केही कम हुँदै जान्थ्यो। लामो समय बाक्लो हिउँ पर्दा चिसो पनि अधिक हुन्थ्यो, अनि खसेको हिउँ पनि जमेर चट्टानसरह कडा भएर बस्थ्यो। जसले गर्दा व्यवासाय बन्द गरेर व्यावसायी र कामदार ओरालो लाग्थे। तर, पछिल्ला केहीवर्ष यता हिउँ पर्ने समय बदलिएको छ। यो वर्ष मंसिरदेखि माघ सम्म हिउँको छिटो नझरेको उनले बताए। ‘फागुन मध्यदेखि बल्ल हिउँ पर्न थालेको हो। पुस–माघ त पुरै सुख्खा रह्यो,’ उनले भने, ‘हिउँ नै नपरेपछि चिसो पनि भएन।’

त्यत्तिमात्र नभई ढिला गरि परेको हिउँले अर्को परिवर्तन पनि ल्याएको छ। पुस–माघमा परेको हिउँ निकै नै चिसो भएर अडिन्थ्यो। कडा चट्टान झै जम्ने हिउँ चर्को घामले तात्दै जाँदा निकै नै ढिलागरि पग्लिन्थ्यो। तर, पछिल्ला केहीवर्षदेखि ढिलागरि परेको हिउँ फुसफुस मात्र हुने उनले बताए। ‘यो बेला परेको हिउँ देख्दा बाक्लो भएपनि सामान्य घामले पनि पग्लिन्छ। हिउँ जमेकै हुँदैन, माथिमाथि सेताम्य देखिने हो। पहिलाको जस्ता कडा भएर जमेको हुँदैन,’ उनले भने।  

गुरुङका अनुसार ढिलागरि परेको हिउँ यतिसम्म कमजोर हुन्छ की सामान्य तापक्रमले पग्लिन्छ, त्यसको डर हिमपहिरोको पनि रहन्छ। ‘जमेको हिउँको ढिक्का खस्ने पो हो की भन्ने त्रास छ। पहिला पहिला यस्तो हुँदैनथ्यो, चट्टान झै जमेको हिउँ पग्लिनै गाह्रो थियो। तर, अहिले भने सामान्य घामको तातोले पनि पग्लिन्छ। त्यसले त्रास निम्त्याएको छ,’ उनले भने।  

गुरुङसँग अर्को फरक अनुभव पनि छ। त्यो के हो भने आधारशिविर क्षेत्रमा केहीवर्ष अघिसम्म त मेघगर्जन पनि सुनिदैनथ्यो। तर, पछिल्ला केहीवर्षदेखि चट्याङकै आवाज स्पष्ट सुनिन थालेको छ। ‘हामी सहर (पोखरा) छौ की आधारशिविर भन्ने नै बिर्साउन थाल्यो, किनकी मेघगर्जन सुन्न नपाउने हामी अहिले चट्याङको आवाजसँग अभ्यस्त बनेका छौं,’ उनले भने। त्यसबाहेक आधारशिविर क्षेत्रमा पछिल्लो समय त वर्षासँगै असिना पनि पर्न थालेको छ। 

गुरुङका अनुसार अहिले त आधारशिविर क्षेत्रमा हावाहुरी चल्ने, वर्षा हुने मात्र नभई असिना पनि पर्छ। त्यत्तिमात्र नभई हिउँ पर्नु अगाडि सानो आकारको असिना जस्तो गोलाकार दाता र्फुर पर्छ। त्यसलाई लेकाली शब्दमा फाप्रे भन्ने गरिन्छ। लेकाली शब्द फाप्रेको अर्थ हिउँको खार भन्ने लाग्ने उनले सुनाए।

‘हेर्दा असिना जस्तो देखिन्छ, तर, वास्तविक असिना पनि होईन, तर, त्यसको थुप्रो नै लाग्छ,’ गुरुङले सुनाए, ‘पहिला पहिला हामीले हिउँ बाहेक अरु अनुभव गर्नु पर्दैनथ्यो। वर्षाको अनुभव बटुल्न असार मध्य कुर्नैपर्दथ्यो। अहिले त कुनबेला वर्षा हुने भन्ने यकिन हुँदैन।’ त्यसबाहेक आधारशिविर क्षेत्रमा पछिल्लो समय हावाहुरी पनि उत्तिकै चल्ने गरेको छ।  

गुरुङका अनुभवमा मौसममा आएको बदलावका कारण आधारशिविर क्षेत्रको व्यावसाय बाह्रैमहिना सम्भव भएपनि यो दीर्घकाल नहुने उनको बुझाई छ। ‘तत्कालका लागि त पाहुना आएका छन्। व्यावसाय भएको छ, आम्दानी पनि भएको छ। तर, यो दीर्घकालिन हुने अवस्था देखिन्न । किनकी हिउँ नपर्नु, असिनापानी पर्नु, आकाश गर्जनु हिमाली क्षेत्रका लागि राम्रो संकेत होईन,’ उनले भने, ‘काम गर्ने तालिका पनि बिथोलिएको छ। यात्रा पनि जोखिममा पर्न सक्छ । कुनबेला के हुने भन्ने यकिन हुँदैन।’  

एबिसी क्षेत्रको प्रवेशद्वारमा पर्ने माछापुच्छ्रे आधारशिविर (एमबिसी) क्षेत्रका पर्यटन व्यावसायी दिलीप गुरुङ पनि फागुन अन्तिमतिर परेको हिउँको स्वरुप कमजोर हुने बताउँछन। ‘यो पटक फागुन पहिलो साता बल्ल हिउँ परेको छ। पछिल्ला दिन पनि फाट्टफट्ट हिउँ त परेको छ। अफसिजनमा बल्ल हिउँ परेको हो,’ उनले भने, ‘बेला न कुबेलाको हिउँले केही असर पार्छ। अहिले हिउँ बाक्लो परेको देखिएपनि यसको स्वरुप बलियो हुँदैन।’  चरक्क घाम लागेको खण्डमा अहिलेको हिउँ एकैदिनमा पग्लिने उनले बताए।  

‘पहिलेको जस्तो हिउँ कडा हुँदैन। फुसफुस हुन्छ। घाम लाग्यो भने एकैदिनमा पग्लिन्छ,’ एमबिसीका व्यावसायी गुरुङले भने, ‘यो बेलाको हिमपातले अलि बढि जोखिम पनि निम्त्याउँछ। चुचुरामा जमेको हिउँ छिटोगरि पग्लिने हुँदा कतै हिमपहिरो झर्ने हो की भन्ने त्रास दिलाउँछ।’ उनले पनि पछिल्लो समय आधारशिविर क्षेत्रमा मेघगर्जन सुनिनु, वर्षा हुनु, असिना पर्नु, हावा चल्नु नियमितजसो गतिविधि हुने गरेका छन।  

‘योपटक पुस र माघमा पुरै खडेरी भयो। अहिले बाक्लै हिउँ जमेको छ । तर कडा छैन,’ उनले भने। पर्यटकीय सिजन सुरु भएसँगै अहिले आधारशिविरमा पर्यटक उक्लिने त्रम पनि बढेको उनले बताए। दिनमा १ सय ५० हाराहारीमा पाहुना आधारशिविर पुगिरहेको उनले बताए।  

प्रकाशित: २५ फाल्गुन २०८१ १८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App