समुन्द्री सतहदेखि ४१३० मिटर उचाइको अन्नपूर्ण आधारशिविर (एबिसी) मा जथाभावि भईरहेको हेलिकप्टर उडानमा कास्कीको अन्नपूर्ण गाउँपालिकाले कडाई गर्न थालेको छ। गाउँपालिकामा सूचीकृत नभएका हेलिकप्टर कम्पनिलाई आधारशिविरमा उडान भर्न नदिनेगरि गाउँपालिकाले कडाई थालेको हो।
दुई वर्षअघि नै गाउँपालिकाले ‘अन्नपूर्ण आधारशिविरमा हेलिकप्टर उडान पर्यटन शुल्क व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९’ बनाएको थियो। कार्यविधी बनेको भएपनि हेलिकप्टर कम्पनिले गाउँपालिकामा सूचीकृत गराएका थिएनन र तोकेको शुल्क पनि तिरेका थिएनन्। तर, अबभने सूचीकृत नगरि र शुल्क नतिरे उडान गर्न नदिनेगरि गाउँपालिकाले कडाई गरेपछि विभिन्न तीनवटा कम्पनिले सूचीकृतको प्रक्रिया थालेका छन्।
गाउँपालिकाका अनुसार सिम्रिक एयर, एयर डाइनेस्टि र हेलि एभरेष्टले गाउँपालिकामा सूचीकृत हुनका लागि कागजात पेश गरिसकेका छन्। अर्को एउटा हेलिकप्टर कम्पनिले पनि सूचीकृतका लागि आउने जानकारी दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलका अनुसार २०७९ मै कार्यविधी बनेको भएपनि हेलिकप्टर कम्पनिले सूचीकृत गरेका थिएनन्। अहिलेसम्म गाउँपालिकासँग अनुमति नदिई आफ्नै तरिकाले उडान गरिरहेका थिए।
‘दुईवर्ष अघि नै कार्यविधी बनेको थियो। तर, बीचमा गाउँपालिकाले कडाई गरेको रहेनछ। हेलिकप्टर कम्पनि पनि सूचीकृत हुन आएनन। कानुनी दायरामा नआई धमाधम उडान भईरहेको थियो,’ पोखरेलले भने, ‘तर, अब भने सबैभन्दा पहिला आधारशिविर क्षेत्रमा उडान गर्ने कम्पनिले गाउँपालिकामा सूचीकृत गराउनुपर्छ। त्यसपछि गाउँपालिकाले तोकेको शुल्क तिरेपछि मात्र उडान गर्न पाइन्छ।’
गाउँपालिकाले तोकेको मापदण्ड अनुसार सूचीकृत भएर आधारशिविरमा उडान गर्नेगरि अनुमति लिने प्रक्रियामा हेलिकप्टर कम्पनि आएको र उनीहरुका कागजात हेरेर निर्णय लिने उनले बताए। पोखरेलका अनुसार उद्धारका लागि खटिएका हेलिकप्टरले भने अनुमति पनि लिनुपर्दैन भने शुल्क पनि तिर्नुपर्दैन।
पोखरेलका अनुसार सूचीकृत हेलिकप्टर कम्पनिले आधारशिविरमा उडान गर्दा प्रतिउडान १० हजार रुपैयाँ शुल्क गाउँपालिकालाई तिर्नुपर्छ। उद्धार र राहतका लागि यो शुल्क पर्दैन। एकदिनमा १२ वटा भन्दा बढी उडान गर्न पनि पाँइदैन। ‘यसअघि मनलाग्दी तरिकाले उडान भएको रहेछ। तर, अब भने दिनमा १२ वटा भन्दा बढी उडान गर्न पाइँदैन। जति नै सुकै हेलिकप्टर कम्पनि सूचीकृत भएपनि १२ वटा उडानलाई बाँडेर उडाउने हुन,’ उनले भने, ‘उद्धार र राहतका लागि भने आवश्यक अनुसार उडान गर्न सक्छन्।’
त्यसबाहेक सूचीकृत नभएका हेलिकप्टर कम्पनिले उडान गरेको पाइएमा पटकैपिच्छे प्रतिउडानको २० हजार रुपैयाँ शुल्क लाग्ने उनले बताए। ‘गाउँपालिकामा सूचीकृत नभएको कुनै हेलिकप्टर कम्पनिले आधारशिविर उडान गरेमा पटके शुल्क स्वरुप २० हजार रुपैयाँ तिर्नैपर्छ,’ उनले भने।
एबिसी क्षेत्रमा जथाभावि हेलिकप्टर उडान र अवतरण हुँदा त्यस क्षेत्रको पर्यावरणमा असर परेको भएपनि सहजै रोक्न नसकेपछि कार्यविधि बनाएर नियमन गर्न थालिएको उनले बताए। एबिसी अन्नपूर्ण गाउँपालिका–११ मा पर्छ। यो विश्व पर्यटनमाझ परिचित पदयात्रा गन्तव्य हो। वर्षमा हजारौं विदेशी पदयात्री आधारशिविर पुग्छन्। पोखराबाट आधारशिविरसम्मको आउजाउ पाँचदिन अवधिको हो। तर समय अभावमा र पैदल हिडडुल गर्न नसक्ने पर्यटक हेलिकप्टर चार्टर गरेर पोखराबाट आउजाउ गर्ने गरेका छन्।
‘लामो समयदेखि आधारशिविरमा हेलिकप्टर अवतरण गराउने काम भईरहेको छ। जहाँकहीँ उडान गर्दा पर्यावरणमा असर पर्यो, ध्वनी र वायु प्रदुषण पनि बढ्यो भन्ने गुनासोपछि गाउँपालिकाले कार्यविधि बनाएको थियो,’ उनले भने, ‘कानुनको कसीमा ल्याएर उडानलाई नियन्त्रण गर्ने प्रयास भएको हो।’
उनका अनुसार पोखराबाट एबिसीका लागि एकाबिहानै पर्यटक बाहक हेलिकप्टर आउजाउ गर्छन। बिहान ७ देखि ११ बजेको समयमा अधिक उडान हुन्छन। चार्टर उडान गरेका ती हेलिकप्टरले अहिलेसम्म अवतरण गरेबापट कुनै शुल्क तिर्नुपरेको थिएन। तर, अब भने हरेक पटकको उडानमा शुल्क तिर्नुपर्ने गरि नियमन गरिने पोखरेलले बताए।
हेलिकप्टर उडानका कारण वनजंगल, हिमाली भेग, चराचुरुङगी, वन्यजन्तुलाई असर परेको र पदयात्राका पर्यटक पनि ध्वनी प्रदूषणको मारमा परेको गाउँपालिकाले बताएको छ। हावा र आवाजका कारण हिमाली भेगलाई पनि प्रभाव पारेको भन्दै रोक्ने प्रयास भएपनि नसकेको भन्दै कार्यविधि नै बनाएर रोक्ने प्रयास थालेको गाउँपालिकाले बताएको छ। हेलिकप्टर उडानलाई नियमन गरेबापत प्राप्त रकमले सम्बन्धित वडा (अन्नपूर्ण–११) मा पर्यटन पूर्वाधार बनाउन खर्च गरिने पनि कार्यविधिमा तोकिएको छ। हेलिकप्टर अवरतण गरेबापत तिरेको शुल्कको ३ प्रतिशत रकम पर्यटन सूचना केन्द्र संचालन कोषमा संकलन गरिने कार्यविधिमा उल्लेख छ।
आधारशिविर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्छ। एक्याप प्रमुख डा. रवीन कडरियाका अनुसार हेलिकप्टर कम्पनिले आधारशिविरमा उडान गर्दा प्रतिउडान ३ हजार रुपैयाँ तिर्नुपर्छ। एक्यापमा ३ हजार रुपैयाँ तिरेपछि मात्र उडान गर्न पाइन्छ। अहिले पनि एक्यापमा कम्पनिले शुल्क तिरेका छन। तर, गाउँपालिकामा भने तिरेका थिएनन।
‘एक्यापमा प्रतिउडान ३ हजार रुपैयाँ तिरेपछि मात्र उडान गर्न पाउँछन्। तर, यात्रुको प्रवेश शुल्क भने थप लाग्छ,’ उनले भने । उनका अनुसार सार्क सदस्य राष्ट्रका पर्यटकले अन्नपूर्ण क्षेत्र प्रवेश गर्दा प्रतिव्यक्ति १ हजार र तेश्रो मुलुकका पर्यटकले प्रतिव्यक्ति ३ हजार रुपैयाँ तिरेर मात्र अन्नपूर्णमा प्रवेश पाउँछन्।
‘हेलिकप्टर र पर्यटकले तिर्ने शुल्क फरकफरक हो। पर्यटकले प्रवेश अनुमतिका लागि शुल्क तिर्ने हुन एक्यापले पर्यटकसँग शुल्क लिईरहेको छ, हेलिकप्टरले पनि तिरेका छन। तर अब गाउँपालिकामा पनि तिर्नैपर्ने अवस्था आएको छ,’ उनले भने।
गत आर्थिक वर्षमा मात्र आधारशिविरमा २ सय ७० वटा हेलिकप्टर कम्पनिले आधारशिविरमा उडान गरेका थिए। ती उद्धार र राहतबाहेकका हुन। ‘एक्यापमा सूचीकृत हुनुपर्दैन। जुनसुकै कम्पनिले पनि उडान गर्नसक्छन। तर, गाउँपालिकाले सूचीकृत हुन बाध्य पारेपछि अब धेरैवटा कम्पनि आउँदैनन,’ उनले भने।
पदयात्रा गरेर जान नसक्ने पर्यटकलाई व्यवसायीले हेलिकप्टर चार्टर गरेर आधारशिविरसम्म पुर्याउने गरेका थिए। हेलिकप्टरमा गएका पाहुनालाई केहीबेर आधारशिविरमा घुम्न दिने र आधाघन्टापछि फर्काएर पोखरा झार्ने गरेका थिए। छोटो समयमा आधारशिविर पुगेर फर्किने पर्यटकलाई सहज भएको भन्दै व्यवसायीले हेलिकप्टर उडान थालेका थिए। पर्यावरणमा असर पारेको भन्दै स्थानीयले विरोध गरेपनि उडान रोकिएको थिएन। एकपटकमा प्रक्तिव्यक्ति कम्तिमा २५ हजार रुपैयाँ शुल्क लिएर हेलिकप्टर चार्टर गरेर पाहुनालाई आधारशिविर उकाल्ने गरिएको थियो।
प्रकाशित: २४ फाल्गुन २०८१ १६:२९ शनिबार