पोखरा–भद्रपुर हवाई उडानलाई निरन्तरता दिलाउन पूर्वी क्षेत्रका पर्यटन व्यावसायीले सुझाएका छन्। ‘जाउँ है पोखरा’ अभियानका क्रममा सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा पोखरा र पूर्वी क्षेत्रका पर्यटन व्यावसायीले हवाई उडानले निरन्तरता पाए पर्यटक आउजाउमा सहज हुने बताए।
जाउँ है पोखरा अभियानको टोली यतिबेला पूर्वी क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धनमा व्यस्त छ। त्यही अभियानसति गएको होटल संघ पोखराको टोलीसँग पूर्वी क्षेत्रका पर्यटन व्यावसायीले छलफल चलाएका थिए। सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गरेको र पोखरा भ्रमण वर्ष २०२५ चलिरहेकोले पोखरा र भद्रपुर हवाई सेवालाई निरन्तरता दिनुपर्ने उनीहरुको सुझव छ।
‘घुमौं कोशी’ भन्दै इटहरी उद्योग वाणिज्य संघ र ‘जाउँ है पोखरा’ भन्दै पुगेको होटलको टोलीमा सहभागि व्यावसायीले विगतमा पोखरा र भद्रपुर जोड्ने गरि सुरु भई हवाई उडान रोकिएपछि पर्यटक आउजाउमा असर परेको बताए। सिधा हवाई उडान सुचारु गर्नु पर्ने सुझाव दिँदै व्यावसायीले हवाई उडानले आन्तरिक र भारतीय पर्यटक आउजाउमा सहज हुने बताए।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले पर्यटन प्रर्वद्धनका लागि सहकार्य आवश्यक रहेको बताए। ‘प्रदेशले एकअर्कासँग सहकार्य गरेको खण्डमा पर्यटक ल्याउन र लैजान सकिन्छ। सबैको पहलमा मात्र पर्यटन क्षेत्रले सफलता हात पर्छ,’ उनले भने।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले पोखराले पर्यटनमा गरेको प्रगतीबारे अनुभव साटेका थिए। संघका अध्यक्ष सुवेदीले नेपाल आउने विदेशी पर्यटक मध्ये ४० प्रतिशत पर्यटक पोखरा पुग्ने गरेको जानकारी दिंदै अहिले पोखराको पर्यटनमा आन्तरिक पर्यटकको हिस्सा पनि ४० प्रतिशत हाराहारी नै रहेको अवगत गराए। आन्तरिक पर्यटकलाई पोखरेली पर्यटनकर्मीले निकै नै महत्व दिएको भन्दै उनले पूर्वका बासिन्दालाई पोखरा भ्रमणका लागि आग्रह गरे।
कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठले कोशीमा पर्याप्त पर्यटकीय सम्पदा रहेकोले प्रर्वद्धन जरुरी रहेको बताईन। इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले पूर्वका पर्यटकीय सम्पदाको प्रचारप्रसार जरुरी भएको भनाई राखे।
प्रकाशित: २१ फाल्गुन २०८१ १७:०७ बुधबार