नेपालले विदेशी पर्यटकका लागि दुई छिमेकी मुलुक चीन र भारतसँग बढी नै अपेक्षा गर्छ। तर, पछिल्ला केही महिनादेखि भारतीय पाहुनाको आगमनमा निरन्तर गिरावट आईरहेको छ। त्यस्तै चिनियाँ पाहुनाको आगमनमा पनि अपेक्षाकृत सुधार हुन सकेको छैन।
हवाई माध्यमबाट नेपाल भित्रिने पाहुनामध्ये संख्यात्मक रुपमा भारतीय बढी भएपनि पछिल्ला केहीमहिनादेखि आगमन निरन्तर खस्केको पर्यटन क्षेत्रको भनाई छ। त्यस्तै चिनियाँ पाहुनाको आगमनमा पनि सुधार नभएको पर्यटन क्षेत्रको चिन्ता छ।
पर्यटन बोर्ड पोखराका निर्देशक मणिराज लामिछानेका अनुसार यो फेब्रुअरीमा नेपाल भित्रिएका भारतीय पाहुनाको संख्या १९ हजार १ सय ८७ छ। यो संख्या अघिल्लो फेब्रुअरीको तुलनामा कम हो। अघिल्लो वर्षको फेब्रुअरीमा नेपालमा २५ हजार ५ सय ७८ जना भारतीय पाहुना नेपाल भित्रिएका थिए।
‘अघिल्लो फेब्रुअरीको तुलनामा यो पटक भारतीय पर्यटकको आगमनमा २५ प्रतिशत नै कमी हो,’ लामिछानेले भने, ‘भारतीय बजार पछिल्ला केही महिनादेखि प्रभावित भएको छ। त्यसमा सुधार हुनासाथ आगमनले निकै गति लिन्छ।’ यो फेब्रुअरीमा नेपालमा भारतीय पाहुनाको हिस्सा झन्डै २० प्रतिशत रहेको पनि उनले बताए।
नेपालमा भारतीय पर्यटन बजार वर्षायामदेखि ओरालो लाग्न थालेको थियो। वर्षायामले आउजाउ प्रभावित पारेको र त्यसअघि नै नेपालमा भारतीय पर्यटक सवार बस दुर्घटनामा पर्नु तथा राजमार्गमा भएका अरु ठूला दुर्घटनाका कारण नेपालमा भारतीय पाहुनाको आगमन प्रभावित हुन थालेको थियो।
‘यो पटक भारतीय पाहुना आफ्नै मुलुकमा भएको महाकुम्भमा गएकोले त्यो आगमनले नेपालमा प्रभावित भएको हुनसक्ने अनुमान छ,’ लामिछानेले भने, ‘करोडौं तीर्थयात्री महाकुम्भमा सहभागि हुन गएकोमा भारतीय संख्या उल्लेख्य थियो। त्यसले पनि नेपालमा प्रभाव पारेको हो।’ त्यसबाहेक भारतीय सहरदेखि काठमाडौंसम्मको हवाई भाडा पनि महंगो रहेको र त्यसले पनि आगमन प्रभावित भएको हुनसक्ने उनले बताए।
त्यस्तै चिनियाँको आगमन पनि सकारात्मक देखिन नसकेको लामिछानेको भनाई छ। यो फेब्रुअरीमा नेपाल भित्रिएका विदेशी पाहुनामध्ये तेश्रो नम्बरमा चिनियाँ पाहुनाको आगमनको आकार रहेको छ। यो फेब्र्रुअरीमा नेपालमा ८ हजार २ सय ८३ जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्। जबकी २०२४ को फेब्रुअरीमा नेपालमा ९ हजार १ सय ८० जना चिनियाँ पाहुना भित्रिएका थिए। अघिल्लो पटकको तुलनामा योपटक झन्डै १० प्रतिशत चिनियाँ पाहुना कम भित्रिएको लामिछानेले बताए।
चिनियाँ पाहुनाको आकार अपेक्षाकृत अझै सुधार नभएको व्यावसायीले बताउँदै आएका छन्। चिनियाँ पाहुनाबाट यो पटक नेपाली पर्यटन क्षेत्रले ठूलै सुधारको अपेक्षा गरेको थियो। चीनमा नेपाल भ्रमण वर्ष २०२५ मनाईरहँदा नेपालमा चिनियाँ पाहुनाको आगमनमा निकै नै सुधार हुने व्यावसायीको अपेक्षा थियो। तर, त्यो अनुसार आगमनमा सुधार नभएको व्यावसायीले बताउँदै आएका छन्।
‘चिनियाँ अर्थतन्त्रमा सुधार नभएकोले पनि त्यो अनुसार पाहुना भित्रिन नसकेको अनुमान गर्न सकिन्छ। चीनको अर्थतन्त्रले त्यहाँबाट बाहिरिने पर्यटनमा प्रभावित पारेको हुनसक्छ,’ उनले भने, ‘कोभिड संक्रमणपछि चिनियाँ पाहुना बढी प्रभावित भएको छ। पोहोर भन्दा चिनियाँ बजार खस्केको छ।’
लामिछानेका अनुसार फेब्रुअरी महिनामा नेपाल भित्रिने विदेशी पर्यटक मध्ये दोश्रो स्थानमा अमेरिकी पाहुनाको आगमन रहेको छ। यो फेब्रुअरीमा नेपालमा १० हजार ३ सय ४८ जना अमेरिकी नेपाल भित्रिएका छन्। अमेरिकी पाहुनाको आगमनमा भने सुधार भईरहेको उनले बताए। यो संख्या २०२४ को फेब्रुअरीमा ९ हजार ८९ रहेको थियो। अमेरिकी पर्यटकको आगमनमा झन्डै १४ प्रतिशत सुधार भएको पनि लामिछानेले बताए।
फेब्रुअरीमा झन्डै एकलाख विदेशी भित्रिए
हवाई माध्यमबाट मात्र नेपालमा यो फेब्रुअरी महिनामा झन्डै एकलाख विदेशी पर्यटक भित्रिएका छन्। सबैगरि ९६ हजार ८ सय ८० जना विदेशी पर्यटक यो महिनामा नेपाल भित्रिएको पर्यटन बोर्डले बताएको छ। सन् २०२४ को फेब्रुअरीमा नेपालमा ९७ हजार ४ सय २६ जना विदेशी पर्यटक भित्रिएका थिए।
अघिल्लो वर्षको फेब्रुअरी को तुलनामा योपटक केही घटेर पर्यटक आगमन भएको पर्यटन बोर्डका पोखरास्थित निर्देशक मणिराज लामिछानेले बताए। उनका अनुसार फेब्रुअरीको आगमन सन् २०१९ मा एकलाख २ हजार ४ सय २३ थियो।
अहिलेसम्मको तथ्यांक अनुसार नेपालमा सन् २०१९ मै सबैभन्दा बढी विदेशी पाहुना भित्रिएका थिए। त्यसपछि कोरोना भाइरस संक्रमण सुरु भएकोले आगमन प्रभावित भएको थियो। सन् २०२२ देखि आगमनमा सुधार हुँदै जाँदा आगमनमा ९९ प्रतिशत हाराहारीमा सुधार भइसकेको लामिछानेले बताए । ‘आगमनमा सुधार त भएको छ। तर, अहिले नै पूर्णता नपाएको हो,’ लामिछानेले भने, ‘सबैतिर सहज हुँदै गएमा आगामि दिनमा पाहुना आगमन संख्यामा वृद्धि हुने अपेक्षा छ।’
बोर्डका अनुसार फेब्रुअरीमा नेपालमा सबैगरि ३० हजार १ सय ९६ जना पाहुना सार्क मुलुकका भित्रिएका छन्। त्यो भनेको ३१ प्रतिशत हिस्सा हो। दोश्रो स्थानमा एशियाका अरु मुलुकका पाहुनाको संख्या २८ हजार ९८ रहेको छ। २९ प्रतिशत पाहुना एशियाली मुलुकका रहेको पनि बोर्डको भनाई छ।
१६.५ प्रतिशत हिस्सा ओगट्ने यूरोपियन मुलुकका पाहुनाको संख्या १५ हजार ९ सय ७१ रहेको छ। ओशिनिया (अस्टे्रलिया र न्यूजिल्याण्ड) मुलका पाहुनाको आगमन संख्या जम्मा ३ हजार ९ सय ६१ रहेको छ। ओशिनियाले ४ प्रतिशत मात्र हिस्सा ओगटेको छ। अमेरिकी पाहुनाको संख्या १२ हजार ५ सय ६० रहँदा १३ प्रतिशत हिस्सा ओगटेको छ।
प्रकाशित: १८ फाल्गुन २०८१ १७:१७ आइतबार