२० चैत्र २०८१ बुधबार
image/svg+xml ४:१५ पूर्वाह्न
अर्थ

पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक लक्ष्य

<br>

पर्यटकीय सहर पोखरा। २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित पोखरा भ्रमण वर्ष २०२५ मनाउने तयारी छ। फाइल तस्बिरः सन्तोष पोखरेल/पोखरा

२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा तयारी थालिएको छ। आन्तरिक र बाह्य गरि सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने र पोखरामा पाहुनाको आकर्षण थप्नका लागि विभिन्न प्याकेज पनि दिने तयारी गरेको पोखरा महानगरपालिकाले बताएको छ।  

आगामि फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रमा विशेष कार्यक्रम गरेर ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरिने महानगरका मेयर धनराज आचार्यले जानकारी दिए। पोखरा भ्रमण वर्ष घोषणा गर्नका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा मूल समिति तय गरिएको छ।  

‘पोखरा पर्यटकीय राजधानी भएकोले पनि सन् २०२५ सुरु भएदेखि नै गतिविधि गरिएको छ। यसलाई औपचारिकता मात्र दिन बाँकी थियो। फागुन पहिलो साता औपचारिकता पाउँछ,’ आचार्यले भने, ‘वर्षको पहिलो दिनबाटै गतिविधि सुरु भएका छन्। यसले औपचारिकता मात्र नपाएको हो। अब त्यसले औपचारिकता पाउँछ।’

पर्यटन बोर्ड, महानगर र पर्यटन क्षेत्रको छलफलपछि बल्ल पोखरामा वर्षभरित्रमा भित्रिने पाहुनामध्ये कति आन्तरिक र कति बाह्य हुने भन्ने यकिन हुने उनले बताए। ‘अहिले पनि वर्षमा कति पाहुना भित्रिन्छन् भन्ने यकिन तथ्यांक छैन। हवाई मार्गबाट भित्रिने पाहुनाको त संख्या छ। तर, स्थलमार्गबाट भित्रिने पाहुनाको यकिन तथ्यांक छैन,’ उनले भने, ‘अहिले पोखराका विभिन्न नाकामा टिम खटिएर पोखरा भित्रिने पाहुनाको रेकर्ड राख्न थालिएको छ। हवाईमार्गको विमानस्थलमा रेकर्ड रहन्छ। तर, स्थलमार्गको रेकर्ड राख्न थालिएको छ।’

अनुमानको भरमा अहिले पोखरामा वर्षभरि भित्रिने पाहुनाको आँकलन हुने गरेको छ। नेपालमा वर्षभरिमा भित्रिने विदेशी पर्यटकको करिब ४० प्रतिशत विदेशी पाहुना पोखरा आउने व्यावसायीको भनाई छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सन् २०२४ मा झन्डै साढे ११ लाख विदेशी पाहुना भित्रिएका थिए। त्यसबाहेक नेपाल भारतका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेर स्थलमार्गबाट पोखरा भित्रिएका पाहुनाको तथ्यांक कतै राखिएको छैन। पोखरामा ठूलो आकारमा भारतीय पाहुना स्थलमार्गबाट भित्रिने गर्छन। ती पाहुनाको यकिन तथ्यांक नरहेको र आन्तरिक पाहुनाको पनि संख्या यकिन हुन नसकेको व्यावसायीले बताउँदै आएका छन।  

‘पोखराका होटलमा ४० हजार बेडसंख्या छन्। त्यसैले त्यही आधारमा हामीले पाहुना भित्र्याउनका लागि विभिन्न योजना बनाउने, प्रर्वद्धनका कार्यक्रम चलाउने, प्रचारप्रसार गर्ने योजना बनाएका छौ,’ मेयर आचार्यले भने, ‘यो वर्ष आकर्षक प्याकेज बनाएर पाहुनालाई पोखरा तान्ने प्रयास गर्नेछौं।’

तीनवटै तहका सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र मिलेर पोखरामा भित्रिने पाहुनाको आकार बढाउनका लागि भिन्दै प्याकेज तयार पार्ने उनले बताए। ‘महानगर आफैले पनि प्याकेज दिनेछ। त्यसबाहेक व्यावसायीले पनि पर्यटकलाई वर्षैभरि दिइने छुट सहितको प्याकेज तयार गर्नेछन,’ उनले भने।  

व्यावसायीको अनुमानमा अहिले पोखरामा वर्षमा करिब १४ लाख पाहुना भित्रिन्छन्। ती सबै आन्तरिक र बाह्य हुन । वर्षमा चारलाख हाराहारीमा विदेशी पाहुना भित्रिने होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली बताउँछन्। ‘नेपाल भित्रिएका पाहुनामध्ये करिब ४० प्रतिशत पाहुना पोखरा आउने हुँदा हाम्रो अनुमानमा ४ लाख विदेशी पाहुना पोखरा आउँछन्। त्यसबाहेक पोखराका होटलको वर्षभरिको अकुपेन्सीमा करिब ३० प्रतिशत योगदान आन्तरिक पाहुनाले दिएको उनले बताए। त्यसगरि पोखरामा भारतीय पाहुनाको आगमन पनि पर्याप्त हुने हुँदा वर्षमा आन्तरिक र भारतीय गरि १० लाख पाहुना आउने अनुमान रहेको उनले बताए।  

‘महानगरले सन् २०२५ मा २० लाख पाहुना पुर्याउने लक्ष्य राख्नु नराम्रो होईन, तर, त्यसका लागि तत्कालै केही काम गर्नुपर्छ,’ उनले भने, ‘पहुँचमा समस्या रहेका ती काम तत्काल थाल्ने हो भने आगमनमा केही सुधार ल्याउन सकिन्छ।’ 

उनका अनुसार पोखरामा पाहुना बढाउनका लागि बोर्डर सिटीसम्म पोखराको कनेक्टिभिटी बढाउनु आवश्यक छ। बोर्डर सिटीसम्म सहज पहुँच पु¥याउन सक्ने हो भने अहिले भन्दा बढी संखयामा भारतीय पाहुना भित्र्याउन सक्ने उनले बताए। बोर्डर सिटीसम्मको पहुँचका लागि स्थल र हवाई सेवालाई बिस्तार गर्न जरुरी रहेको उनले बताए।  

त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्कालै अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने उनले बताए। अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। ‘पोखरादेखि भारतका कुनै सहरसम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने हो भने पर्याप्त भारतीय पाहुना ल्याउन सकिन्छ। त्यस्तै पोखरादेखि देशभित्रैका ठुला विमानस्थलसम्म पनि उडान थाल्नुपर्छ। अन्तर सहर हवाई सञ्जाललाई पनि बिस्तार गर्नुपर्छ,’ पराजुलीले भने, ‘पोखरादेखि नेपालका सबैजसो मुख्य सहरसम्मका विमानस्थलसम्म उडान संचालन गर्ने हो भने पोखरामा पाहुना भित्र्याउन सकिन्छ।’  

पोखरामा तत्कालै पाहुना भित्र्याउनका लागि गर्नुपर्ने अर्काे महत्वपूर्ण काम पोखरासम्म स्थलमार्गको पहुँचमा तत्काल सुधार गर्नुपर्छ। ‘बिस्तार हुँदै गरेको पृथ्वी राजमार्ग अहिलेसम्म तयार भएको छैन। त्यसैले पहुँचमा सहज छैन। त्यसैले तत्कालै स्थलमार्गको पहुँचमा सुधार ल्याउनका लागि जतिसक्दो छिटो राजमार्ग बिस्तारको काम सक्नुपर्छ,’ उनले भने। पोखरामा पाहुना भित्र्याउन व्यावसायीले प्रर्वद्धनका कार्यक्रमको योजना पनि बनाएको पराजुलीले बताए।  

प्रकाशित: २६ माघ २०८१ १७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App