९ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml ५:४१ पूर्वाह्न
अर्थ

कमलबजार–साइखोला जोड्ने ३३ केभी लाइन विस्तार

तस्बिर: ललित विष्ट/नागरिक

अछामको कमलबजारदेखि दैलेखको साइखोला जोड्ने ३३ केभी प्रसारण लाइन विस्तारको काम बिहीबार सम्पन्न भएको छ।

पञ्चदेवल विनायक नगरपालिका–४ साइगाउँ र टोड्केसालका स्थानीय बासिन्दाले आफ्ना गाउँमा विद्युत् नपुगेसम्म लाइन विस्तार हुन नदिने अडान राखेका कारण रोकिएको यो काम स्थानीयसँगको लिखित सहमतिपछि पुनः सुचारु भएको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्थानीय बासिन्दाले आफ्नो बस्तीमा विद्युत् आपूर्ति सुनिश्चित गर्न माग राखेका थिए।

सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले आवश्यक पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराएर एक महिनाभित्र साइगाउँ, टोड्केसाल र सयनमा बत्ती बाल्ने सहमति गरे पनि स्थानीयले असहमति जनाएका थिए। अन्ततः कालीकोट विद्युत् वितरण केन्द्रले साइखोला पुल नजिकको बजारका लागि ७ सय मिटर तार र टोड्केसालका लागि ट्रान्सफर्मर उपलब्ध गराएपछि सहमति जुटेको हो।

कालीकोट विद्युत् वितरण केन्द्र प्रमुख हरेन्द्र राय यादवका अनुसार, स्थानीयको मागअनुसार लाइन जडान गरिएको छ। स्थानीय बासिन्दाले पनि यो विस्तारले धेरै राहत मिलेको बताएका छन्।

विद्युत् खपत उच्च रहेको मुगु, जुम्ला, कालीकोटका लागि कालीकोट वितरण केन्द्रले डडेलधुराबाट कमलबजार जोड्ने ३३ केभी प्रसारण लाइन प्रयोगमा ल्याएको हो। विद्युत् वितरण केन्द्रका फोरमेन जयप्रसाद पाण्डेका अनुसार, लामो समयसम्मको मिहिनेतपछि स्थानीयलाई पटक–पटक सहमतिमा ल्याएर प्रसारण लाइन विस्तार गरिएको हो।

हाल डडेलधुरा–अत्तरियाबाट चमेलिया जलविद्युत् आयोजनाबाट १९ मेगावाट, बझाङको कलंगा खोलाबाट ६५ मेगावाट र अपि हाइड्रोबाट ५ मेगावाट गरी करिब १०० मेगावाट विद्युत् आयात भइरहेको छ। नयाँ लाइन विस्तारसँगै माथिल्लो कर्णालीका जिल्ला तथा कर्णालीको सुर्खेत समेत उज्यालोमा बस्न पाउने छन्।

पानस कन्स्ट्रक्सन बाजुराले २०८१ असार १३ गते सम्झौता गरेको यो प्रसारण लाइन अछाम र बाजुराका बासिन्दाका लागि पनि सहज बनेको छ।

प्रकाशित: १७ माघ २०८१ २०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App