८ फाल्गुन २०८१ बिहीबार
image/svg+xml ९:३२ पूर्वाह्न
अर्थ

‘डेभिज फल्स’ ४७ वर्षपछि महानगर मातहत

<br>

पोखरा छोरेपाटनको डेभिज फल्स। तस्बिरः नागरिक

पोखराको पर्यटकीय गन्तव्य पाताले छाँगो (डेभिज फल्स) कसले संचालन कसले गर्ने भन्ने विवादको टुंगो लागेसँगै पोखरा महानगरपालिकाले छाँगो संचालन गर्न थालेको छ। यसअघि पोखरा उपत्यका नगरविकास समितिको निर्णय अनुसार २०३४ सालदेखि स्थानीय छोरेपाटन माविले छाँगो संचालन गर्दै भएको आम्दानी लिँदै आएको थियो। ४७ वर्षपछि छाँगो पोखरा महानगर मातहत आएको छ।  

पछिल्लो समय उक्त गन्तव्यलाई महानगरले निजी कम्पनिलाई संचालन दिने तयारी थालेसँगै विरोध सुरु भएको थियो। त्यसपछिको विवाल समाधान गर्ने क्रममा महानगर आफलै संचालन गर्न थालेको हो। महानगरका प्रवक्ता मोतिलाल तिम्सीनाले महानगर आफैले माघ १३ गतेदेखि उक्त छाँगो संचालन गर्न थालेको बताए।

‘झन्डै पाँचदशकदेखि स्थानीय छोरेपाटन माविले छाँगो संचालन गर्दै आएको थियो। तर, महानगरले उक्त गन्तव्यमा पूर्वाधार थपेर फरक शैलीमा संचालन गर्ने भनेर निजी कम्पनिलाई दिने योजना बनाएको थियो,’ उनले भने, ‘त्यसमा विवाद निम्तिएपछि महानगरले नै संचालन गर्न थालेको हो।’ हालसम्म छाँगो संचालन गरिरहेको विद्यालयले छाँगोकै आम्दानीबाट विद्यालयमा शिक्षक कर्मचारी राखेर संचालन गर्दै आएको थियो। छाँगोबाट हुने वार्षिक आम्दानी पनि विद्यालयले लिदै आएको थियो।

यसअघि पोखरा महानगरले २०७८ मै छाँगोको जिम्मा ४० वर्षका लागि निजी कम्पनिलाई ठेक्कामा दिने सम्झौता गरेको थियो। सेती क्यानोन प्रालिले उक्त छाँगो ठेक्का पाएको थियो। छाँगोमा शिशाको पुल हाल्ले र छाँगोदेखि फेवातालसम्म झन्डै डेढ किलोमिटर दुरीमा पर्यटकीय पूर्वाधार बनाउने गरि सम्झौता भएको थियो। तर, सरोकारवालाले उक्त ठेक्काको पारदर्शीताबारे प्रश्न उठाईरहेका थिए।  

महानगरले सस्तोमा ठेक्का दिएको भन्दै पछिल्लो समय उक्त पर्यटकीय गन्तव्यमा ताला लगाएका थिए। महानगरका प्रवक्ता तिम्सीनाले महालेखा परीक्षकको कार्यालयले नै सार्वजनिक सम्पत्ति उपयोग गर्नैे अधिकार विद्यालयलाई नभएको भन्दै महानगर मातहत ल्याउन सुझाएको बताए।  

‘अहिलेका लागि हामीले छाँगो व्यवस्थापन थालेका हौ। महानगरले अब पोखराका अरु गुफा र पर्यटकीय गन्तव्य पनि आफु मातहत ल्याएर संचालन गर्ने योजना बनाएको छ,’ उनले भने, ‘पोखरा भित्रका पर्यटकीय गन्तव्य संचालन गर्ने अधिकार महानगरलाई छ।’  

पाताले छाँगो आफु मातहत ल्याएसँगै महानगरले पुरानो शुल्क पनि वृद्धि गरेको छ। प्रवक्ता तिम्सीनाका अनुसार यसअघि नेपाली विद्यार्थीका लागि २०, नेपाली नागरिकका लागि ४० र विदेशीका लागि प्रतिव्यक्ति ८० रुपैयाँ रहेको प्रवेश शुल्क अब नेपाली विद्यार्थीका लागि ३०, नेपाली नागरिकका लागि ५० र विदेशी पर्यटकका लागि १ सय ५० रुपैयाँ तोकिएको छ। यसअघि मुल्य अभिवृद्धि कर समावेश नहुँदा केही सस्तो भएपनि अहिले कर समेत थपिँदा केही महंगो परेको पनि उनले बताए।  

पहिले कार्यरत कर्मचारीलाई नै राखेर छाँगो संचालन थालेको उनले बताए। निजी क्षेत्रलाई यसअघि नै ठेक्का दिएको भएपनि त्यो ठेक्का भने बदर नभईसकेको उनले बताए। ‘४० वर्षका लागि ठेक्का दिइएको हो। त्यो बेलाको अवस्था अनुसार विश्लेषण गरेर ठेक्का दिएको थियो। तर, काम हुन पाएको थिएन,’ उनले भने। उनका अनुसार ठेक्का पाएको कम्पनिले नै उक्त ठाउँमा कस्ता पूर्वाधार बनाउन सकिन्छ र ती पूर्वाधार बनाउन उपयुक्तः हुने वा नहुने भनेर अध्ययन गरेर महानगरलाई बुझाएपछि मात्र ठेक्का कार्यन्वयन हुने अवस्था रहेपनि अहिले त्यो काम भएको छैन।’  

‘ठेक्का पाएको कम्पनिले अध्ययन गरेर महानगरलाई रिपोर्ट बुझाउने हो। त्यसपछि मात्र के गर्ने भन्ने यकिन हुन्थ्यो। तर, त्यो हुन सकेको छैन। अध्ययन नै हुन बाँकी छ, कस्ता संरचना बनाउन मिल्छ भन्ने नै अध्ययन भएको छैन,’ उनले भने, ‘अनुमानित प्रोजेक्ट नै उपयुक्त हुने वा नहुने भन्ने बाँकी छ। त्यसैले अहिले नै ठेक्का पाएको कम्पनिसँगको सम्झौता खारेज भएको छैन। तर, प्रोजेक्ट उपयुक्त हुने अवस्था भएमा बल्ल अघि बढ्छ। महानगरले संचालन गरिहँदा सम्बन्धित कम्पनिले अध्ययन गरेर रिपोर्ट बुझाउँछ।’ यसअघि अध्ययनको त्यही काममा अवरोध हुँदा काम अघि बढ्न नसकेको पनि उनले बताए।  

उनका अनुसार उक्त छाँगोले आर्थिक वर्ष २०७९÷८० मा ३ करोड रुपैयाँ आम्दानी गरेको थियो। पछिल्लो समय छाँगोको आम्दानी वर्षमा करिब ४ करोड रुपैयाँ हुने अनुमान छ। यसअघि छोरेपाटन माविले संचालन गरिरहँदा उक्त छाँगोको सबै आम्दानी विद्यालयले लिँदै आएको थियो। महानगर प्रवक्ता तिम्सीनाले यसअघि छाँगो संचालन गर्दै आएको विद्यालयले वर्षमा ३ करोड १ लाख रुपैयाँसम्मको रकम पाउने सम्झौता भएको पनि बताए। तर, विद्यालयले उक्त रकम पाउनका लागि कार्यक्रम र बिल, भरपाई पेश गर्नुपर्ने उनले बताए। ‘यसअघि कमाएको जति रकम विद्यालयले राखेको थियो। तर, अब भने खर्च विवरण पेश गरेकै आधारमा महानगरले विद्यालयलाई पैसा दिन्छ। तर, त्यो रकम वर्षमा ३ करोड १ लाख रुपैयाँ भन्दा बढी हुने छैन भने दिइने रकम पनि किस्ताबन्दीमा हुनेछ,’ उनले भने।  

पोखरा आएका आन्तरिक र विदेशी पर्यटकको रोजाइमा उक्त छाँगो पर्दै आएको थियो। फेवातालको मुख्य निकासबाट बगेको पानी उक्त छाँगो हुँदै बग्ने गरेको थियो। वर्षायाममा त्यहाँ पानीको वहाव निकै नै बढ्दा आकर्षक पनि देखिने गरेको थियो। महानगर र विद्यालयबीचको विवादले छाँगो प्रवेशद्वारमा ताला लागेसँगै पर्यटन क्षेत्रले ध्यानाकर्षण गराउँदै ताला खोलेर पर्यटकलाई घुमघामको वातावरण बनाउन पनि आग्रह गरेका थिए।

प्रकाशित: १७ माघ २०८१ १६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App